रंगमञ्चमा ‘बाह्रा’ संस्कारको सेरोफेरो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
805 Shares
काठमाडौं
टेकुस्थित कौसी थिएटरमा नाटक ‘बाह्रा’ मा अभिनय गर्दै बाल कलाकारहरु

नेवार समुदायको परम्परा र संस्कार अनुसार कन्यालाई रजस्वला हुनुपुर्व १२ दिनसम्म गुफा राख्ने गरिन्छ । जसलाई बाह्रा संस्कार पनि भनिन्छ । यस अविधिमा कन्यालाई घाम नपस्ने अँध्यारो कोठामा राख्ने गरिन्छ । गुफा बस्दा घरको पुरुष सदस्यहरु बुबा, दाजुभाई र घामसमेत हेर्न हुन्न भन्ने प्रचलन छ । यसै सेरोफेरोमा रहेर टेकुस्थित कौसी थिएटरमा शुक्रबारदेखि नाटक ‘बाह्रा’ मञ्चन भइरहेको छ ।

मृगशिरा वर्ल्ड स्कुलको प्रस्तुतिमा स्कुलकै विद्यार्थी पलिस्ता महर्जनको कथामा आधारित रहेर बनेको नाटकले बाह्रा संस्कारको सेरोफेरोसँगै यसबाट पर्ने शारीरिक तथा मानसिक स्वास्थ्य हानी र सुधारको पक्षमा बोलेको छ । नाटकको परिकल्पना तथा निर्देशन भने रंगकर्मी पुष्पराज अवस्थीले गरेका छन् । नाटकले बाह्रा संस्कारको पाटोलाई समेट्दै वियोगान्त कथा प्रस्तुत गर्छ । बाह्रा संस्कारकै अवधिमा नाटकी पात्र सिर्जनाको मृत्यु भएको पक्षलाई जोडेर अहिलेको समकालीन समयसम्म जारी रहेको यस प्रचलनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने केही सचेनता र सुझावको सन्देश समेत छोडेको छ । भर्खरै गुफा राखेर बाह्रा संस्कार अनुसार सूर्यदर्शन र पूजाको लागि बाहिर निकालेकी कन्याको दृश्यसँगै सुरुवात गरिएको नाटक अन्त्यमा पनि यही संस्कारसँगै समापन गरिएको छ । जसले नेवार समुदायको बाह्रा संस्कारको प्रचलन हिजोदेखि आजसम्म यथावत नै रहेको कुरा इंगित गरेको छ ।


महेशमानकी छोरीको गुफा बस्ने रहरपछि उनकी श्रीमतीले गुफा बसेकै क्रममा दिदीकी छोरी सिर्जनाको मृत्यु घटनालाई स्मरण गरेपछि नै नाटकको कथा अगाडि बढेको छ । फ्ल्यासब्याकको दृश्यमा सिर्जना गुफा बसिरहेको अवस्थामा देखिन्छ । उनी एक्लै खेलौनासँग खेलिरहेकी हुन्छिन् । परम्परा अनुसार उनलाई चार दिन सम्म नुन र तेलमा बनाएको खाना खान दिइँदैन । गुफामा एक्लै रहँदा छट्पटिएकी सिर्जनाको शारीरिक र मानसिक अवस्थालाई नाटकको यस चरणमा देख्न सकिन्छ । अर्काेतिर छोरीको ममता भएपनि संस्कारलाई मान्दै उनको बुबा छोरी भेट्न जान सक्दैनन् । प्रत्येक दिन गनेर उनले संकलन गरिहेको चक्लेटमा छोरीप्रतिको उनको प्रेम र मान्दै आएको संस्कारप्रतिको उत्तिकै लगाव तथा आस्था देखिन्छ । गुफा सकिने एक दिन अगाडि नै सिर्जनाको मृत्यु भएपछि महिलाहरुले त्यही नै खाल्डो खनेर उनलाई गाडिदिन्छन् ।

यही घटनाले गर्दा महेशमानकी श्रीमती आफ्नो छोरीलाई गुफा राख्नलाई डराएकी छन् । यही भयलाई नाटकले वर्तमानसमयसँग जोडेको छ । उपत्यकाभित्र लोकजीवनमा प्रचलित ख्याकको मिथकलाई समेत नाटकले थोरै जोड्ने प्रयत्न गरेको छ ।

नाटकले बाह्रा संस्कारलाई स्विकार्ने र नस्विकार्ने भन्दा पनि यस अवधिमा हुनुपर्ने सचेतनालाई जोड दिएको छ । गुफा बस्ने अवस्थामा कन्याको रहस्यमय मृत्युको कारण मिथक भन्दा पनि सतही रुपमा देखिएका कारणहरु हुन सक्छन् भन्ने नाटकले देखाउने जमर्को त गरेको छ, यद्यपि त्यसमा पनि केही द्विविधा देखिन्छ । नाटकमा सिर्जनाको मृत्यु अघि उनलाई तर्साउन ख्याक आउन सक्छ भन्ने उनकी आमाले सतर्क गराउँछिन् । उनको मृत्यु हुनु अघि पनि भूतका रुपमा उनलाई तर्सान आएको आकृतिहरु देखिन्छन् । अर्काेतिर मृत्युको कारण सरसफाई, खाना र अक्सिजनको कमी पनि हुन सक्छ भन्ने संकेत पाइन्छ । यसले दर्शकमा केही अन्यौलता आउन सक्छ । तथापि संस्कृतिमा सम्पन्न नेवार समुदायको बाह्रा संस्कारलाई विगत र वर्तमानलाई जोडेर रंगमञ्चमा प्रस्तुत गर्न आफैंमा चुनौतीपूर्ण कार्य हो ।

नाटकले संस्कारको सकरात्मक र नकरात्मक पाटोबाट केलाउने भन्दा पनि अबको दिनमा कसरी निरन्तरता दिन सकिन्छ भनेर चिन्ता व्यक्त गरेको छ । यसैमा यस संस्कारप्रतिको नेवार समुदायको आस्था, विश्वास र भोलिका दिनमा निरन्तरता दिने मानसिक चिन्तन प्रकट भएको पाइन्छ । संस्कारकै नाममा हिजोको दिनमा गरिएका गतिविधिहरुले आज र भोलि कुनै क्षति बेहोर्न नपरोस् भनेर समेत नाटकले सतर्क गरेको छ । निर्देशक अवस्थीको अनुसार नाटकको मूल ध्येय बाह्रा संस्कृति गलत भन्ने होइन । नयाँ पुस्तालाई संस्कृति सिकाउने, त्यसलाई कसरी निरन्तरता दिने र स्विकार्य बनाउने भन्ने रंगमञ्चमार्फत सिकाइको प्रक्रिया हो । नाटकमा बालबालिकाले आफुलाई पोख्त अभिनयमा ढाल्ने भरपुर जमर्काे गरेका छन् । नाटकमा प्रयुक्त पृष्ठभूमिको संगीतले समेत नेवार समुदायभित्र पुर्‍याउँछ ।

भरत महरको सहायक निर्देशन रहेको नाटकमा प्रभा बुढा, रोज देउला, निलम महर्जन, स्नेहा यादव, रोमन सुन्दास, कृष्ण यादव, रितिका खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका