जिल्ला समन्वय समिति रसुवाको वार्षिक तथा आठौं जिल्ला सभा सम्पन्न

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
112 Shares
रसुवा

जिल्ला समन्वय समिति रसुवाको वार्षिक समीक्षा तथा सातौँ जिल्ला सभा आइतबार सम्पन्न भएको छ ।

जिल्ला सभाले १९ वटा निर्णयहरू पारित गर्दै माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको शेयर बाडफाड सम्बन्धमा देखिएका समस्या समाधानको साथै सङ्घीय सरकार, प्रदेश सरकार र विकासका साझेदारहरूसँग समन्वय गरी स्थानीय तहहरूको मागको आधारमा जनप्रतिनिधिहरू तथा विकास निर्माण कार्य कार्यक्रममा समन्वय गर्ने नीति लिएको छ ।

प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य सांसद इन्द्र गौतमे जगतजंगले जनप्रतिनिधि साझा व्यक्तिको रूपमा उभिएर रसुवाको विकासमा निरन्तर आफू लाग्ने र आफ्नो कार्यकालमा विकास आएको महसुस हुने बताउनुभएको छ ।

साथै सङ्घ, प्रदेश, स्थानीय तहहरू र विकासका साझेदारहरूबिचमा जिससको समन्वयकारी भूमिकालाई थप प्रभावकारी र सक्रिय बनाउँदै सबै स्थानीय तहहरूबाट सञ्चालित योजना तथा कार्यक्रमहरूको गुणस्तरीयता सुनिश्चित गर्न अनुगमन तथा निरीक्षणलाई व्यवस्थित र नतिजामुखी बनाइने लक्ष्य लिइएको जिसस प्रमुख अशोक घिमिरेले बताए ।

जिल्ला सभामा माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको शेयर बाडफाड सम्बन्धी जिल्ला सभाको २०७६ माघ २९ गते र २०७९ भाद्र १७ गतेको निर्णय कार्यान्वयनका विषयहरू थप गरी कार्यान्वयन गर्न र गराउन अनुरोध गर्ने र जिल्लावासीको तर्फबाट शेयर भर्ने सबैले कम्तीमा १० कित्ता शेयर प्राप्त गर्ने व्यवस्था मिल्ने गरी तत्कालका लागि शेयर निष्कासन समयावधि २०८० श्रावण १९ गतेदेखि ३० दिन थप गरी शेयर भर्ने अन्तिम २०८० भदौ १६ गते सम्म कायम गर्न आयोजनासँग अनुरोध तथा निर्देशन गर्ने निर्णय पारित भएका छन् ।

साथै जिल्लाको प्रोफाइल तयार गर्ने तथा रसुवा अस्पतालको भवन निर्माण, धुन्चेमा रहेको तामाङ संग्राहलय पुनः सञ्चालनमा ल्याउन, उत्तरगया धामको बृहत्तर विकास गर्नको लागि सङ्घ, प्रदेश र स्थानीय सरकारलाई अनुरोध गर्ने लगायत १९ बटा विभिन्न विकास योजनामा समन्वय गर्ने जिल्ला सभाबाट निर्णय पारित गरेको हो ।

जिल्ला सभामा विभिन्न राजनीतिक दलका प्रमुखहरू, उत्तरगया गाउँपालिका प्रमुख मधाब अर्याल, नौकुण्ड गाउँपालिका प्रमुख नुर्पूसाङबो तामाङको साथमा स्थानीय तहका पाँचवटै उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी, जिल्ला समन्वय समिति, रसुवाका उप प्रमुख विजय लामा, जिल्ला समन्वय समितिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकतहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जलविद्युत आयोजना प्रतिनिधिहरू साथ सङ्घसंस्था प्रतिनिधि र पत्रकारहरू सभामा उपस्थित थिए ।

तपाईको प्रतिक्रिया