अभिनेत्री कविताले कवितामै उतारिन् जीवनका भोगाई

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
42 Shares
काठमाडौं

हिट फिल्म ‘बोबी’की अभिनेत्री कविता गुरुङको कविता सङ्ग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्माता सङ्घका कोषाध्यक्ष ज्योति राई लगायतले कविता सङ्ग्रहको ‘सट लिष्ट’ सार्वजनिक गरे ।

कार्यक्रममा अभिनेत्री गुरुङले आफ्नो जीवनका भोगाइका अनुभवहरू कविता मार्फत उतारेको बताइन् । ‘म राम्रो कवि, साहित्यकार होइन । आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मन लागेको सार्वजनिक गरेकी हुँ’ अभिनेत्री गुरुङले भनिन् ।

गुरुङले सार्वजनिक गरेको ‘सट लिष्ट’मा १० वटा कविता छन् । आगामी दिनमा अन्य कविता समेत थपेर पुस्तकमा ल्याउने सोच छ । नर्वेमा बस्दै आएकी अभिनेत्री गुरुङ कविता सार्वजनिकका लागि मात्रै केही दिन अगाडि नेपाल आएकी हुन् ।

‘भोलीका दिन म नरहुँला, समयले नदेला, ममा जोस नहोला, मेरो कविता त्यतिकै थन्किएर बस्ला’, उनले अगाडि थपिन् ‘जे जति कविता तयार भयो । त्यो सुनाउनुपर्छ, देखाउनुपर्छ भनेर नेपाल आएकी हुँ ।’ अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिने सोच आफ्नो रहेको उनले सुनाइन् ।

‘जब मलाई मनले, भोगाइले कविता लेख भन्छ लेख्छु’, गुरुङले थपिन् ‘मैले पहिलो चोटि ‘बोबी’ फिल्म अभिनय गरे । मिडियाका साथीभाइले राम्रोसँग साथ दिनुभयो । गत वर्ष पुस्तक ल्याए । त्यसमा पनि साथ पाए ।’ पटक पटक साथ र सपोट गर्नेसँग भेट्नका कविताको बहनामा नेपाल आएको उनको भनाई थियो । पहिलो पटक कोरेको कविता श्रीमान्लाई सुनाउँदा राम्रो भनेकोले अन्य कविता पनि आफूले कोरेको कार्यक्रममा उनले बताइन् ।

कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले अभिनेत्री गुरुङको आट र क्षमताको आफू सधैँ प्रशंसक रहेको बताए । ‘कतिपयले कविता पुस्तक बनाएपछि सार्वजनिक गर्छन् । उनले लेख्न थालेपछि जानकारी दिइन्’, पराजुलीले भने ‘यस्तो कार्यक्रम पहिलो पटक हो, पहिलो भए पनि राम्रो सुरुवात भयो ।’ कविताले पुस्तक पुरा गरेर सार्वजनिक गर्नेमा आफू आसावादी रहेको पराजुलीले बताए ।
‘अलिअलि गीत र कविता त म पनि लेख्दै आएको छु’ पराजुलीले भने ‘गुरुङको कवितामा मैले धेरै यर्थात पाए, मन छोयो ।’ गुरुङमा राम्रो साहित्यकारमा हुने छनक आफूले देखेको बताएका पराजुलीले कवितालाई पुस्तक सबै पाठक माझ पुर्‍याउन समेत सुझाए ।

त्यस्तै चलचित्र निर्माता सङ्घका कोषाध्यक्ष ज्योति राईले अभिनेत्री गुरुङको कवितामा यर्थात र जीवन भोगाइका अनुभव भएकोले सबैको जीवनसँग कहिन कहीँ मेल खाने रहेको बताए ।

कार्यक्रममा कविताले ‘नबुझ्दा’, ‘मनमा लागेका सबैकुराहरु’, ‘भेट्नुछ एकचोटी अव फेरि’ शीर्षकका तीन कविता समेत वाचन गरेर सुनाएकी थिइन् ।

अभिनेत्री गुरुङले गतबर्ष ‘म अनि मेरो’ नामक आत्मकथा पुस्तक ल्याएकी थिइन् । जसमा उनले कलेज लाइफ, उमेश थापासँग प्रेम र अन्तर्जातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई उतारेकी थिइन् । अहिले सार्वजनिक कविता सङ्ग्रहमा पनि जीवनका त्यही कालखण्डका भोगाइ छ ।

कविता र उमेशसँग परिवारको सहमतिबिना भागेर अन्तर्जातीय विवाह गरेका थिए । विवाहपछि भागेर नर्वे पुगेका उनीहरूको प्रेमकथामा केही वर्ष अगाडि ‘बोबी’ फिल्म निर्माण भएको थियो । जुन फिल्ममा कविता र उमेश नै मुख्य भूमिकामा थिए । उनीहरूको जोडी र फिल्म दर्शकले रुचाएका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका