सन्तोष घले ल्याकोस नामक संस्थामा काम गरेको करिब डेढ दशक भएको छ । घलेले संस्थाले गरेका कार्यहरू र उठाएका सवालहरूले संस्थागत पहिचान तथा व्यक्तित्व विकास गरिएको छ । वि.सं. २०६४ सालमा केही विचार मिल्ने युवा साथीहरू मिलेर संस्था स्थापना गरेका छन् । समय क्रममा केही वैदेशिक रोजगारमा समेत रहेका र अन्य साथीहरू पनि यस उद्देश्यमा सहभागी भई सहयात्रा गर्ने क्रम जारी छ । यसै संस्थाका अध्यक्ष सन्तोष घलेसँग सरस्वती न्यौपानेले गरेका कुराकानीका सम्पादित अंश :
तपाई संरक्षण क्षेत्रमा कसरी लाग्नुभयो । यसमा लाग्नुको उद्देश्य के हो ?
रसुवा जिल्लाको अधिकांश क्षेत्र संरक्षित क्षेत्रमा पर्दछ । संरक्षित क्षेत्रभित्र मानव बस्ती हुनुले वा परापूर्व कालदेखि रहनसहन गर्दै आइरहेको बस्ती तथा वन क्षेत्रमा संरक्षित क्षेत्र घोषित गरी कार्यान्वयनमा आउनु हो । यसले स्थानीय जीविकोपार्जनका आवश्यक दैनिक घाँस दाउराका लागि समेत एक प्रकारको द्वन्द्व हुने गरेको अवस्था बाल्यकालदेखि नै देख्दै आएको थिएँ । तसर्थ प्राकृतिक स्रोतको दिगो सदुपयोगको साथसाथै स्थानीयको संरक्षणमा समेत अग्रसर भूमिका स्थापित गर्नको लागि यस आफ्नो संस्थामार्फत संरक्षणमा क्रियाशील हुँदै आइरहेको छु ।
ल्याकोसको संस्थाको पुरा नाम र स्थापनाबारे बताइदिनुहोस् न ?
ल्याकोस शब्द लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजको अङ्ग्रेजी नामको छोटकरी अर्थमा हो । वि.सं. २०६४ सालमा हामी केही विचार मिल्ने युवा साथीहरू विशेष गरी आङछिरिङ तामाङ, सुनिल घले, अमृत घले, सगुन घले लगायतका सल्लाहमा यो संस्था स्थापना गरेका हौँ । र समय क्रममा केही वैदेशिक रोजगारमा समेत रहेका र अन्य साथीहरू पनि यस उद्देश्यमा सहभागी भई सहयात्रा गर्ने क्रम जारी छ ।
विकासका नाममा अहिलेका पुस्ताले साँच्चिकै विनाश गरेको छ भने त्यसको मूल्य भावी पुस्ताले तिर्नुपर्ने निश्चित छ । फेरि अहिले देखिँदै आइरहेको जल्दो बल्दो समस्या जलवायु परिवर्तन र यसले पारेको विविध क्षेत्रहरू कृषि,स्वास्थ्य एवं विभिन्न प्राकृतिक प्रकोपहरू बाढी पहिरो आदि छन् ।
यस संस्थाले संरक्षणका साथै अन्य कुन कुन क्षेत्रमा कामहरू गरेको छ ?
संस्थाको स्थापना कालदेखि नै यहाँको जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीयहरूको अग्रसर भूमिका सृजना गर्न विविध जनचेतना तथा पैरवीमूलक कार्यक्रमहरूको आयोजना गर्दै आइरहेका छौँ । यसमा हामीलाई लाङटाङ राष्ट्रिय निकुञ्ज र मध्यवर्ती उपभोक्ता समूह, समितिहरू एवं डब्ल्युडब्ल्युएफ नेपाल जस्ता निकायहरूको समन्वय तथा सहयोग छ । त्यसै गरी तत्कालीन जिविस÷गाविस र हालका स्थानीय सरकारहरूसँग समन्वय तथा सहयोगमा संस्थाका विभिन्न साझेदार निकायहरूको सहयोगमा संरक्षणलाई टेवा हुने गरी विभिन्न जीविकोपार्जनका कार्यक्रमहरू पनि गरिरहेका छौँ । यस अन्तर्गत स्थानीय सबलीकरण, शैक्षिक सुधार, जलवायु अनुकूलन, विपद् व्यवस्थापन, खानेपानी तथा सरसफाइ र पर्यटन प्रवर्द्धनका कामहरूमा सञ्चालनमा छन् । संस्थाले महाभूकम्प पश्चात् भएको विपद्मा समेत राहत, उद्धार तथा पुनर्निर्माणमा सक्रिय रहे भने जिल्लालाई खुल्ला दिसा मुक्त क्षेत्र स्थापना गर्न समेत जिल्लाका सरोकारवाला निकायहरूसँगै आफ्ना साझेदार संस्थाहरूका साथमा विशेष भूमिका निर्वाह गरेको थियो ।
संस्थाले गरेको कामहरूमा कतिको उपलब्धिहरू हासिल भएको छ ?
संस्थाले स्थापनाकालदेखि नै आफ्ना कार्यक्रम र पैरवीहरू सञ्चालन गरे पश्चात् स्थानीय स्तरमा संरक्षण कार्य पनि विकासकै प्रक्रिया रहेको कुरालाई स्थापित गरेको छ । संरक्षण कार्यलाई टेवा स्वरूप रेडपाण्डा ट्रफी, गोसाईंकुण्ड मेला जैविक विविधता व्यवस्थापन कार्यक्रम आदि जस्ता अभियान कार्यहरूलाई संस्थागत रूपमा विकास गर्न सफल भएको छ । करिब २ हजारभन्दा बढी घरधुरीलाई खानेपानी तथा सरसफाइ, १ हजारभन्दा बढी घरधुरीलाई टिएलसि तथा पक्की भवन र शैक्षिक क्षमता अभिवृद्धि तालिम, ७ सय घरधुरी बढीलाई मनोपरामर्श, ६ हजार घरधुरीभन्दा बढीलाई विविध जीविकोपार्जन, जलवायु अनुकूलन तथा विपद् व्यवस्थापनका कार्यक्रमहरू सम्पन्न गरी लाभान्वित गरिसकेको छ भने संस्थाले हाल सम्म २५० जना भन्दा बढी युवाहरूलाई प्रत्यक्ष रोजगारी समेत प्रदान गरी सकेको छ । संस्थाले विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूका सम्मान तथा प्रशंसा पत्र प्राप्त गर्नुको साथै सन २०१२ मा ब्राह्म संरक्षण पुरस्कार र सन् २०१८ मा राष्ट्रिय संरक्षण पुरस्कार समेत संस्थाले प्राप्त गरिसकेको छ ।
यस संस्थाप्रति आम मानिसहरूको धारणा कस्तो रहेको छ ?
संस्थाले अधिकांश कार्यक्रमहरू स्थानीय समुदाय स्तरमा नै उनीहरूको आवश्यकता सवाल आदिहरूलाई नै सम्बोधन गरी सञ्चालन गर्दै आएको छ । यसले आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । यसले गर्दा आम समुदायमा यो संस्था के हो र के कस्ता कार्यहरू गर्दै आएको छ भन्ने धारणा स्पष्ट छ ।
तपाई युवा हुनुहुन्छ । तपाइको उमेरका साथीहरू ठुला देश र ठुला पदहरूमा पुगे होलान् तर तपाई चाहिँ किन संरक्षणका यात्रामा लागि पर्नु भएको छ ? तपाई कोबाट प्रेरित हुनुभयो ?
जुनसुकै काम गर्नको लागि एक प्रकारका लगाव चाहिने रहेछ । संरक्षण क्षेत्र मेरो लगाव विशुद्ध समाजसेवा हो, पेसा होइन । आफ्नो जीविकोपार्जनको लागि मैले केही समय शिक्षक, जिविसमा जागिर र पछि विभिन्न पेसाहरू गर्दै अहिले केही वर्ष देखि होटेल व्यवसायमा लागि रहेको छु । को, कहाँ पुगे भन्दा पनि आ–आफ्नो विचार र उद्देश्य अनुसार व्यक्तिका सोचमा फरक पर्ने कुरा हो । मलाई समाजसेवा गर्न, पहिले आफ्ना पुर्खाहरूमा पनि एक प्रकारले समाजमा अगुवा भई विविध भूमिका निर्वाह गरेको सुनेको, देखेको हुँदा आफूलाई पनि सानैदेखि सकारात्मक कार्य गर्न रुचि थियो । अधिकांश मेरो मामा फुर्पा तामाङबाट प्रेरित भएको छु । यो संस्थाको स्थापना समयमा दाइ श्री छोवाङ तेन्जिङ तामाङ र मेरा शुभचिन्तक अशोक बानियाँ ज्यूले संस्था थालनी गर्न विशेष सहयोग गर्नुभएको थियो ।
भावी पुस्तालाई के भन्न चाहनु हुन्छ ?
अहिले हाम्रो जिल्लामा हुँदै आइरहेको विकासका कतिपय गतिविधिहरू साँच्चै पर्यावरणमैत्री छ की छैन, त्यो हामीले विचार गर्नुपर्ने अवस्था छ । विकासका नाममा अहिलेका पुस्ताले साँच्चिकै विनाश गरेको छ भने त्यसको मूल्य भावी पुस्ताले तिर्नुपर्ने निश्चित छ । फेरि अहिले देखिँदै आइरहेको जल्दो बल्दो समस्या जलवायु परिवर्तन र यसले पारेको विविध क्षेत्रहरू कृषि,स्वास्थ्य एवं विभिन्न प्राकृतिक प्रकोपहरू बाढी पहिरो आदि छन् । अहिले हामीले वर्तमान समयमा नै सचेत नहुने भने यसको प्रभाव पनि भावी पुस्तालाई नै पर्नेछ । त्यसैले विभिन्न विद्याहरू झैँ वन, वातावरण विषयमा अध्ययन गर्न सुझाव दिन चाहन्छु ।
तपाई यो क्षेत्रमा लागेर सन्तुष्ट हुनुहुन्छ ?
अहिले यो क्षेत्रमा लागेको डेढ दशक भएको छ । संस्थाले गरेका कार्यहरू र उठाएका सवालहरूले संस्थागत पहिचान तथा मेरो व्यक्तित्व विकास भएको छ । स्थानीय विद्यालयका पाठ्यक्रममा समेत संस्थाको परिचय पठनपाठन हुनु साँच्चिकै गर्वको कुरा छ । यसरी यस्ता उपलब्धिहरू देख्दा असाध्यै सन्तुष्ट छु । यसरी विविध काम गर्दा हुने गरेका कमी–कमजोरीहरूलाई सच्याई अघि बढ्नुपर्ने रहेछ । अब स्थानीय सरकारहरूले पनि यस्ता संस्थाहरूको वृत्ति विकासमा समेत थप सहयोग गरेमा अझ हौसला बढ्न सक्छ ।
आफ्नो काम र संस्थाबारे अन्त्यमा के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त मेरो कुराहरू यहाँको मिडियामार्फत प्रकाश पार्ने अवसर दिनुभयो । यसको लागि विशेष धन्यवाद दिन चाहन्छु । त्यसै गरी यस संस्थालाई यहाँसम्म पुर्याउन सहयोग गर्नुहुने व्यक्ति विशेष, शुभचिन्तक तथा साझेदार संस्थाहरूप्रति विशेष कृतज्ञ छु । मसँगै यस संस्थामा आबद्ध हुनुभएका सदस्य तथा कर्मचारी साथीहरूमा पनि धन्यवाद र माया भन्न चाहन्छु ।
अन्त्यमा यहाँका स्थानीय निकायहरूका साथै पुस्ताहरूलाई चिकित्सक, इन्जिनियर, वन तथा वातावरण संरक्षणका जस्ता विषयमा अध्ययन गर्न विशेष किसिमको छात्रवृत्तिको व्यवस्था गरी यसै क्षेत्रका विविध क्षेत्रमा सेवा प्रदान गर्न मिल्ने वातावरण सिर्जना गरोस् भन्ने अपिल गर्न चाहन्छु । धन्यवाद ।