दिनभरका समाचार : भोलि सदन खुल्छ‚  माओवादी विद्रोहबारे ओलीको अभिव्यक्ति घृणाष्पद

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
56 Shares
काठमाडौं

भोलि सदन खुल्छ: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसद्को अवरोध हट्ने बताएको छ ।

शनिवार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका प्रधानमन्त्री दाहालले यस्तो बताएको हो । उनले संसद् गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आज पनि संसद् अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् सुसञ्चालन हुनेमा आशावादी रहेको उल्लेख गरे ।

उनले भने, ‘हामीले निरन्तर पहल गर्दै आएको तपाईँहरूलाई थाहा छँदै छ । हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उहाँ आउनु भयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदै छौँ । आशा छ भोलि सदन खुल्छ ।’

प्रधानमन्त्री दाहालले संसद् अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताए ।

नेतृत्व वर्गमा अझै केन्द्रीकृत मानसिकता हाबी छ: नेता निधी

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएको छ ।

शनिवार काठमाडौँमा काँग्रेस स्व. नेता प्रदीप गिरीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो । उनले संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भए पनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट नेतृत्व वर्ग निर्देशित रहेको बताए । नेता निधिले अवशिष्ट अधिकार नेतृत्वले लिनका लागि संविधानमा राख्न पहल गर्दा पनि काँग्रेसका नेताहरूले नमानेको भन्दै आपत्ति जनाए । उनले अवशिष्ट अधिकार सार्वभौम जनतामा निहित हुनुपर्ने बताए ।

उनले भने, ‘नेपालको संविधानमा कसलाई के व्यवस्था गरिएको छ, न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकादेखि लिएर सङ्घीय तहमा प्रादेशिक तहमा, नगरपालिका र पाकिला तहमा छ । दुनियाँको हरेक देशको संविधानमा तोकिएको हुन्छ, त्यसलाई अवशिष्ट भन्ने हुन्छ । त्यो अवशिष्ट अधिकार कहाँ राखिने त त्यसमा बहस भयो । प्रदीप जीको पनि बहस भयो संविधान बनाउँदा । म पनि यसलाई तल्लो तहमा राख्नुपर्छ भन्ने पक्षमा थिएँ । प्रदीप जी त सबैभन्दा बढी तल्लो तहमा राख्ने पक्षमा नै हुनुहुन्थ्यो । अवशिष्ट अधिकार भनेको त, सार्वभौम सत्ता जसमा निहित हुन्छ, त्यो निहित अधिकारको तह जनतामा हुन्छ ।

नेता निधिले स्व. गिरी बहुप्रतिभाशाली व्यक्ति रहेको उल्लेख गर्दै उनको जीवन राजनीतिक कर्मीका लागि प्रेरणादायी रहेको उल्लेख गरे ।

जुलेबीका कलाकार भन्छन्: सेन्सर बोर्डले यत्तिको स्वतन्त्रता दिनुपर्छ

नेपाली चलचित्र जुलेबीको प्रिमियर शो भएको छ । शुक्रवार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियर शोपछि बोल्दै अभिनेत्री सुरक्षा पन्तले एउटा कलाकार भइसकेपछि ओपन भएकै राम्रो हुने बताए । उनले गम्भीर र कन्ट्रोभर्सी एवं सेन्सेटिभ विषयवस्तु नउठाउने हो भने कलाकार र अन्य नागरिकमा फरक नहुने बताए । उनले चलचित्रमा न्युड सिन दिँदा केही डर लागे पनि सेन्सर बोर्डले यत्ति स्वतन्त्रता दिएकोमा खुसी व्यक्त गरे । त्यस्तै फिल्म हेरिसकेपछि चलचित्रका अभिनेता सुशील सिटौलाले आफूले फिल्मका लागि वेस्ट दिएको र अझै आगामी दिनमा वेस्ट दिँदै जाने बताए । उनले अभिनेत्री उषा रजकले कलाकारिता गरेर मात्रै घरमा चुलो नबल्ने बताए । उनले धेरै बजेट पाउने आशामा आफूले काम नगरेको बताए ।

चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापाको मुख्य भूमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ । एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रमा फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । विवेक खड्काको छायाङ्कन र अन्जय खड्काको सम्पादन रहेको चलचित्रका निर्माता आभा शर्मा नेपाल हुन्।

काँग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ: नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै सङ्कटमा पर्ने बताएको छ ।

शनिवार काठमाडौँ प्रतिनिधि सभा क्षेत्र नम्बर १, क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो बताएको हो । उनले २०४६ को परिवर्तन आएकोमा खुसी नभएका तत्त्वहरू अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै काँग्रेस मजबुत भए मात्रै लोकतन्त्र बलियो हुने बताए । उनले पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्ने बताए । नेता सिंहले काँग्रेसको सङ्गठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसाबले दिन सक्ने सकारात्मक म्यासेज नागरिकहरूमा बाँड्नुपर्ने बताए ।

उनले भने, ‘केही गरेर काँग्रेस अलिकति यो निर्वाचन, राष्ट्रिय राजनीतिमा कमजोरी जस्तो भयो भने २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्त्वहरू त छन् । तिनीहरूले त यो सिस्टमलाई नै कमजोर पार्ने काम गरिरहेको छन् । काँग्रेस जबसम्म मजबुत हुन्छ, तबसम्म लोकतन्त्र यो देशमा मजबुत हुन्छ, काँग्रेस कमजोर भयो भने यो सिस्टम नै के हुन्छ रु भन्ने कुरामा प्रश्न सुरु हुन्छ । त्यसैले हामीले गर्ने के हो भने पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्छ । अब त जमाना कस्तो भइसक्यो भने काँग्रेसको सङ्गठनमा काँग्रेस भएर मात्रै पनि पुग्दैन । काँग्रेसको सङ्गठन पनि राम्रो हुनुपर्छ । राजनीतिक हिसाबले दिन सक्ने सकारात्मक म्यासेज दिनुपर्छ ।’

नेता सिंहले काँग्रेस अहिले पनि कमजोर नरहेको जिकिर गर्नुभयो । उनले काँग्रेसमा केही सुधार गर्नुपर्ने अवस्था आएको भन्दै समयको माग अनुसार सुधार गरेर पार्टी अघि बढ्ने बताए ।

मेरो भ्वाइस युनिर्भस’ र ‘मेरो डान्स युनिर्भस’ अन्तिम प्रतिस्पर्धा सुरु

नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ अन्तिम प्रतिस्पर्धा सुरु भएको छ ।

आज शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा यी दुई प्रतियोगिताका अन्तिम पाँच–पाँच प्रतियोगीले विजेता बन्नका लागि प्रतिस्पर्धा गरिरहेका हुन् । इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरिरहेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले ३० लाख र दोस्रोले २० लाखसँगै अरू विभिन्न पुरस्कार प्राप्त गर्नेछन् । नृत्यअन्तर्गत सामूहिक नृत्य पनि छ र त्यसमा प्रथम हुनेले ३० लाख पुरस्कार प्राप्त गर्नेछ ।

गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्किमका शिशिर ठटाल र प्रितम राई, दार्जिलिङका साइराज खाती तथा नेपालको सङ्खुवासभाका परेश राई र काभ्रेका शरद हुमागाईँ अन्तिम पाँचमा छनोट भएका छन् । यस्तै नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ  मिङा डि लेप्चा ९सिक्किम०, खुसी कार्की ९थाइल्यान्ड०, देवी गर्वुजा मगर ९बेल्जियम० तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा छनोट भएका छन् । अहिले प्रतिष्पर्धीहरुले आफ्नो प्रस्तुति दिइरहेका छन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे लगायत मन्त्री र राजनीतिक दलका नेताहरू कार्यक्रम स्थलमा पुगेका छन् । संसारमा छरिएर रहेका नेपाली जातिबिचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको हो ।

 माओवादी विद्रोहबारे ओलीको अभिव्यक्ति घृणाष्पदः घनश्याम भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको अभिव्यक्ति घृणास्पद रहेको टिप्पणी गरिएको छ ।

शनिवार काठमाडौँमा आयोजित ‘२०२८: झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफूलाई नेपालको कम्युनिस्ट पार्टीहरूको इतिहासबारे ओलीले दिने अभिव्यक्ति बीभत्स, डरलाग्दो र घृणास्पद लाग्ने गरेको बताएको हो । महासचिव भुसालले ओलीले मिल्दा तत्कालीन माओवादी सशस्त्र विद्रोहलाई महान् भन्ने गरेको र नमिल्दा हत्यारा र आतङ्ककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको जिकिर गरे । उनले ओलीको कम्युनिस्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

महासचिव भुसालले भने, ‘अहिले इतिहासको कुरा गर्दा खेरी, हुन त यो राजनीतिक कुरा हुन्छ । यो विरोधको कुरा पनि सुन्न सकिएला । आज फर्केर हेर्दा खेरी चाहिँ खास गरी हाम्रो राजनीतिक नेतृत्वमा कमरेड ओलीलगायत अरू कतिपय साथीहरूले पनि इतिहासको बारेमा जसरी बोल्छन् । स्वयं माओवादी आन्दोलन, जनयुद्धको बारेमा जे बोल्छन् । हिजो सहमति, असहमति जे थियो होला, तर राज्यले त्यसलाई के भनेर मान्यो भन्दा खेरी इतिहासलाई अझै धेरै अगाडि लैजान्छौँ भनेर सबै सहमति भएर हामी अगाडि बढेका जस्ता घटनालाई आज फर्केर हेर्दा खेरी जतिखेर मिलिन्छ, त्यतिखेर चाहिँ यो महान् कुरा थियो भन्ने । जतिखेर मिलिँदैन, त्यतिखेर चाहिँ यो हत्यारा, आतङ्ककारी आदि, इत्यादि भन्ने त्यो राजनीतिमा इतिहास चेतको यो बीभत्स, डरलाग्दो यो असाध्य घृणास्पद भन्छु म चाहिँ । यो चेतना डरलाग्दो कुरा छ । यही चेतना हो, जसले जलहरी हाल्छ, दुनियाँलाई उपदेश दिन्छ । यो सबै कुरा गर्छ । वास्तवमा यो यसो सोचेर ल्याउँदा खेरी मलाई एकदम उखुम हुन्छ मलाई पनि । अनि, त्यस्तो थियो, त्यसरी आएको हो । शिला टिपेको हो । आदि, इत्यादि ।’

महासचिव भुसालले नेपालको कम्युनिस्ट आन्दोलनमा झापा विद्रोहले जनतासँग असाधारण खालको सम्बन्ध बिस्तार गरेको उल्लेख त्यसलाई टुट्न नदिन फेरि नयाँ सङ्कल्पसहितको क्रान्ति आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका