‘सूर्य नेपाल काठमाडौं–कलिङ साहित्य महोत्सव’को दोस्रो संस्करण हुँदै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
231 Shares
काठमाडौं

भदौ १५ देखि तीन दिने ‘सूर्य नेपाल काठमाडौं–कलिङ साहित्य महोत्सव’को दोस्रो संस्करण हुने भएको छ । गत वर्षदेखि आरम्भ भएको यो महोत्सव भदौ १५ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुने आयोजक समुहले जानकारी दिएको छ । यो महोत्सव दक्षिण एसियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको हो ।

नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकालगायत देशका साहित्यकारहरु जमघट हुने यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ्ग लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ । आयोजकद्वारा जारी प्रेस विज्ञप्तिमा महोत्सवमा विभिन्न देशका तीन सयभन्दा बढी लेखकहरूको सहभागिता रहने जनाइएको छ । महोत्सवमा दक्षिण एसियाका कला, साहित्य, संगीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन, राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति र चर्चा परिचर्चा चल्नेछ ।

महोत्सवमा भारतबाट पद्मश्री हलधर नाग, पद्मश्री सुदर्शन पटनायक, पद्मश्री अरुणा मोहन्ती, पद्मश्री अरुणा मोहन्तीजस्ता दिग्गजहरु सहभागी हुनेछन् । यस्तै प्रख्यात अभिनेत्री तथा लेखिका दिव्या दत्त, हरहर शम्भो फेम गायिका अभिलिप्सा पाण्डा कार्यक्रमका मुख्य आकर्षणका रुपमा रहेका छन् । बलिउड सिनेमामा अभिनय गरेर ख्याती कमाएकी अभिनेत्री मनिषा कोइराला पनि महोत्सवको अर्को आकर्षण बन्ने छिन् ।

महोत्सवका लागि भुटानका रिन्झिन रिन्झिन, श्रीलंकाका चमल सञ्जीवा, बंगलादेशका अशरफ ज्वेलसमेत वक्ताको भूमिकामा उपस्थित हुनेछन् । सुरक्षा पन्त, नयनराज पाण्डे, अमर न्यौपाने, सुवेदी, चिरिबाबु महर्जन, चरीमाया तामाङ, भोला रिजाल, हर्क साउदलगायतले विभिन्न सत्रमा वक्ताका रुपमा सभागिता जनाउने छन् । ‘लघु कथावाचन’ र ‘कलिङ महलफिल’जस्ता सत्रहरु पनि महोत्सवमा हुनेछन् । ‘शक्ति र भक्ति–सभ्यतागत सम्बध, विश्वव्यापी विचारको केन्द्र नेपाल’लाई केन्द्रीय  स्वर बनाइएको महोत्सवको यसै संस्करणबाट १२ विधामा १२ लेखकहरूलाई यशस्वी पुस्तक पुरस्कार प्रदान गर्ने पनि जनाइएको छ । दक्षिण एसियाली संवादको केन्द्रीय थलोको रूपमा स्थापित गर्दै महोत्सवले नेपाललाई विश्वव्यापी स्तरमै पहिचान दिने केएलएफ संस्थापक तथा निर्देशक रश्मी रञ्जन परीडाले विश्वास व्यक्त गरे । ‘पहिलो संस्करणजस्तै दोस्रो संस्करणमा पनि हामीले नेपालको बृहत् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराहरूबारे विश्लेषण गर्ने  र विश्वकै सोचको केन्द्रको रूपमा नेपालको यात्रालाई प्रतिविम्बित गर्ने विषयवस्तु समेटेका छौं, काठमाडौं केएलएफकी निर्देशक तथा यशस्वी प्रज्ञा प्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले भनिन् । ‘यशस्वी प्रज्ञा प्रतिष्ठान’ नेपालमा विभिन्न साहित्यिक र सांस्कृतिक गतिविधिलाई प्रवर्धन गर्ने संस्था हो भने ‘कलिङ साहित्य महोत्सव’ भारतको एक अग्रगामी संस्था हो जसले भारतका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान र प्रवर्द्धन गर्दै आएको छ । सूर्य नेपाल मुख्य प्रायोजक रहेको महोत्सवलाई एलआईसी नेपाल, हिमालय डायरी र यशस्वी प्रज्ञा प्रतिष्ठानले प्रायोजन गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका