संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सङ्गीत उद्योगको विकासका लागि सरकारले आवश्यक कदम चाल्ने बताएको छ ।
काठमाडौँमा आइतबार आयोजित निर्देशक समाजको साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रममा पर्यटन मन्त्री किराँतीले सङ्गीत उद्योगले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिन सक्ने भन्दै सरकारले सङ्गीत उद्योगको विकासका लागि आवश्यक कदम चाल्नुपर्ने बताएको हो । उनले नेपालको पर्यटनलाई प्रकृति र संस्कृतिसँग छुटाएर राख्न नसकिने बताए । मन्त्री किराँतीले विश्व बजारमा नेपाली मौलिक सङ्गीतलाई चिनाउन आवश्यक रहेको बताए ।
उनले भने,‘ गीत सङ्गीतमा सिमाना हुँदो रहेनछ । तर, सिमाना पृथ्वीमा छ । सिमाना मान्छेमा छ, यो कसले लगायो रु यी सबै ठुलाठालुहरूले लगाए । पृथ्वीमा पहिले माटो पनि साझा नै थियो । यहाँको हावापानी साझा नै थियो । यहाँको घामा साझा थियो । तर, मान्छेमा सीमामा लाग्दै गयो । स्रष्टाहरू समाजको अगुवा हो । स्रष्टाहरूलाई समाजको अग्रदस्ता हुन् । अग्रदस्ताले सृजनाबाट समाजको अवस्था झुल्क्याउँछन् । कार्लमाक्र्सले भनेका थिए, सृजना र अभिव्यक्तिले व्याख्या मात्रै होइन, बदल्छन् पनि । स्रष्टाहरूले समाज परिवर्तनदेखि ठूलाठूला योगदान गर्छन् । सङ्गीत र सांस्कृतिक क्षेत्रबाट कतिपय देशमा आर्थिक योगदान गरेको उदाहरण पनि छन् । नेपालमा पनि सङ्गीत उद्योगबाट महत्त्वपूर्ण टेवा दिन्छ, सरकारले यो बाटोमा पाइला चाल्नुपर्नेछ । अगाडी बढ्नुपर्नेछ तर, अहिलेसम्म अगाडी बढेन । मौलिक गीतसङ्गीतको क्षेत्रमा घोत्लिएर योगदान गर्नुपर्छ । नेपाली मौलिक सङ्गीतलाई चिनाउन सकेका छैनौँ । नेपाली मौलिक गीत सङ्गीतलाई समाजमा नै चिनाउन सकिरहेका छैनौँ । हामीले समाजलाई मात्र होइन, विश्व जारसँग जोड्नुपर्छ । नेपाली मौलिक गीत सङ्गीतलाई संसारको बजारमा प्रतिस्पर्धा गराउनुपर्छ । हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रङले सजिएको छ ।’
कार्यक्रममा कलाकारहरूले कलाकर्मीहरूलाई हौसलाको आवश्यक पर्ने भन्दै सरकारसँग हौसला प्रदान गर्ने काम गर्न आग्रह गरेका थिए ।