आज नागपञ्चमीः नागपोखरीमा भक्तजनको घुइँचो

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
56 Shares
काठमाडौं

आज नाग पञ्चमी । देशभर घरका ढोकामाथि नागको तस्बिर र नाग पूजा गरेर नाग पञ्चमी मनाइँदै छ । साथै नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नाग पञ्चमी मनाउने चलन छ । नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाउने गरिन्छ ।

सो अवसरमा आज (सोमवार) काठमाडौँको नक्सालमा अवस्थित नाग पोखरीमा नागको पूजा गर्ने भक्तजनहरूको भीड लागेको छ । साथै देशभर अन्य नाग स्थानहरूमा पनि नागको पूजा गर्न भक्तजनहरू जम्मा भएका छन् । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने, साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिनै धार्मिक विश्वास छ । घरमा नाग, सर्प आदिले दुःख नदिओस् भनेर नाग पूजा गरिने गरिएको एक पुरोहितले बताउनु भयो ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा रहेको बराह पुराणमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया