रसुवाको आमाछोदिङ्मो अर्थात् पार्वतीकुण्डमा जनैपूर्णिमाको अवसरमा एक हप्ते मेला लाग्ने भएको छ । आमाछोदिङमो गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने पार्वतीकुण्डमा विगतका वर्षझैँ यस वर्ष पनि जनपूर्णिमाको अवसरमा एक हप्ता जनपूर्णिमामा मेला लाग्ने भएको हो । जनपूर्णिमाका दिन लाग्ने पार्वतीकुण्डको मेलामा यस वर्ष दशदेखि पन्ध्र हजार तीर्थालु भक्तजनहरू आउने अनुमान गरिएको छ ।
कुण्ड सडकसँग जोडिएको सुविधाका कारण वार्षिक रूपमा पार्वतीकुण्ड जानेको सङ्ख्यामा वृद्धि भइरहेको वडा अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिए । उनका अनुसार यस वर्ष मेला अगाडि नै छिमेकी जिल्ला सिन्धुपाल्चोक ह्योल्मोका धामी झाँक्री आउने भएपछि स्वास्थ्य शिविर, शान्ति सुरक्षा र स्वयंसेवकको व्यवस्था गरेको बताए ।
छिमेकी जिल्लाका बौद्धधर्मलम्बीहरु तथा रसुवाका स्थानीयहरू जनपूर्णिमामा गोसाईंकुण्ड जान नसक्नेहरू जनपूर्णिमाका दिन पार्वतीकुण्ड जाने गर्दछ । यो कुण्ड तामाङ सम्पदा मार्ग अन्तरगत पर्ने भएको हुँदा सो मेलामा यस कुण्डमा बौद्ध धर्मावलम्बी तथा तामाङ समुदायको तीर्थालु भक्तजनहरूको सङ्ख्या बढी देखिने हुँदा धार्मिक पाठपुजाको साथमा तामाङ समुदायको कला, संस्कृति र परम्पराको पनि अवलोकन गर्न सकिन्छ ।
कुण्ड आउने तीर्थालु भक्तजनहरूको सुविधाको लागि स्थायी ५ वटा होमस्टे तथा होटेल लज छन् । अस्थायी थर्पु १० देखि १५ वटा निर्माण हुने आमाछोदिङ्मो गाउँपालिका वडा नं.३ का वडाध्यक्ष सुरेन्द्र लामाले बताए ।

कुण्डको धार्मिक आस्था
पार्वतीकुण्डमा सन्तान नहुने वा अन्य कुनै व्यक्तिले आफ्नो समस्या समाधान गर्नको लागि जनपूर्णिमाको मेलामा लामा झाँक्रीको मन्त्रबाट पूजा गरी वर माग्यो भने पाइन्छ र पार्वतीकुण्डले दिन्छन् भनिन्छ, तर त्यो व्यक्तिले जनैपूर्णिमा या फागुन पूर्णिमाको दिन छोज्या गर्नुपर्दछ । छोज्या भनेको तीर्थमा आउने तीर्थालुहरूलाई खाना खाजा खुवाउने कार्य भन्ने बुझिन्छ ।
पार्वती कुण्डको सम्बन्ध भारतको हिमाञ्चलको बुद्वागयको छोपेमाकुण्डसँग र गोसाइँकुण्डसँग धार्मिक सम्बन्धसँग जोडिएको विश्वास रहेको छ । यदि भारतको बुद्वगयाको छोपेमाकुण्डको दर्शन गर्न नसकेमा पार्वतीकुण्डको दर्शन गरे आफ्नो मनोकाङ्क्षा पूरा हुने किंवदन्ती छ भने गोसाइँकुण्डको दर्शन गरे पश्चात् अनिवार्य पार्बतीकुण्डको दर्शन गरेमा मनका इच्छा पूरा हुने जनविश्वास रहेको स्थानीय समाजसेवी प्रभात लामाले बताए ।

कुण्डमा यसरी पुग्ने सकिन्छ
पार्वतीकुण्ड जान काठमाण्डौबाट बिहानको ६ बजे र ३० मिनेटमा गत्लाङसम्मको सार्वजनिक बस छुट्छन् । यस्तै पार्वतीकुण्ड सदरमुकाम धुन्चेबाट ३२ किमी टाढा पर्दछ । पार्वतीकुण्ड पुग्न धुन्चे देखि ११ किमी स्याफ्रुबेशी पुगे पछि कोमिन वा रोङ्गाखोला दुवै बाटो हुँदै पुग्न सकिन्छ ।
पहिलो बाटो स्याफ्रुबेशी पुगेपछि कोमिन, बाहुन डाँडा हुँदै गत्लाङ जाने बाटोबाट पुग्न सकिन्छ । त्यस्तै अर्को बाटो स्याफ्रुबेशी, रोङ्गाखोला, चिलिमे, गोल्जुङ हुँदै कुण्ड पुग्न सकिन्छ ।

पार्वतीकुण्डबाट नजिकका घुम्न सकिने स्थानहरू
पार्वतीकुण्ड बाहेक अरू ठाउँहरू पनि छन् । धार्मिक पाठ पूजा पश्चात् कुण्डको वरिपरि एक सय ८ धारा, बुद्ध पार्क र भ्यु पाइन्ट अवलोकन गर्न सकिन्छ । पार्वतीकुण्ड तामाङ सम्पदा मार्गमा पर्ने भएको हुँदा यस क्षेत्रको तामाङ समुदायको कालो गाउँले परिचित गत्लाङ गाउँ अवलोकनको साथै तामाङको कला, संस्कृति, परम्परा र रहनसहनको अध्ययन गर्न पाउनुको साथै यहीबाट नै रुबिभ्याली पर्यटन पदमार्ग पनि जोडिएको हुँदा रुबिभ्यालीको पनि अवलोकन समेत गर्न सकिन्छ ।
साथै यस क्षेत्रको नजिकमा गत्लाङ याक चिज उत्पादन केन्द्र, जागेश्वरकुण्ड, नोज्येकुण्ड, नाककुण्ड, र ज्यार्सातेन्जो भ्युप्वाईन्ट समेतको अवलोकन र भ्रमण गर्न सकिन्छ ।