वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ । वीर अस्पतालका निर्देशक डा।सन्तोष पौडेलले अप्रेसनमा महिनौँदेखि पालो कुर्नुपर्ने बाध्यतालाई हटाउन अस्पताल लागि परेको बताए । उनले त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन थ्रेटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास गरिरहेको र करारमा जनशक्ति थप्ने योजना रहेको बताए । अप्रेसनको पालो कुर्नुपर्ने लगायतका समस्या सम्बोधन हुने गरी विस्तारित अस्पताल सेवा सञ्चालनका लागि समिति गठन भएको थियो । समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका कार्यविधि निर्देशिका र अस्पतालले गर्र्नसक्ने विषयलाई लिएर तयार पारेको प्रतिवेदन अस्पतालले प्राप्त गरिसकेको छ ।
डा।पौडेलले ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा सुरु गर्न नसकिएको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अप्रेसन गर्नुपर्ने जटिल बिरामीलाई पालो कुर्नु नपर्ने गरी वीर अस्पतालले कार्य योजना बनाइरहेको बताए । उनले आकस्मिक सेवाका लागि अहिले पनि एउटै बेडमा दुई/तीन जना बिरामीलाई सेवा दिनुपर्ने बाध्यता रहेको बताए । आकस्मिक सेवामा गम्भीर बिरामी र सामान्य प्रकृतिका बिरामीको प्राथमिकिकरण गर्न थालिएको भन्दै जति नै बिरामी थपिए पनि आकस्मिक सेवामा जटिल प्रकृतिका बिरामीलाई आकस्मिक कक्षको छुट्टै क्षेत्रमा सेवा दिएको बताउनु भयो । उहाँले अप्रेसन कक्षलाई सदैव चलायमान बनाउने गरी लागेको बताए ।
डा।पौडेलले भन्नुभयो, ‘हाम्रो प्राथमिकता भनेको अप्रेसन सेवामा लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यता छ, त्यसलाई बिस्तारै हटाउँदैछौं । हाम्रो क्षमतामा रहेका अप्रेसन थ्रेटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयासरत छौँ । अप्रेसन कोठाहरूलाई त सबै घण्टा चलायमान राख्नुपर्यो नि त । हरेक दिन हरेक सेवाको अप्रेसन सेवा सञ्चालन गर्ने गरी हामी अगाडी बढेका छौँ । त्यो चाहिँ फुल फङ्सनमा गइसकेको छैन । त्यसको पार्सियल्ली काम भइसक्यो । केही डिपार्टमेन्टहरू जस्तै: नाक, कान, घाँटीको हरेक दिन अप्रेसन सुरु गरी सक्यौँ । ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा सुरु गर्न सकेका छैनौँ । बर्न सेन्टरको सुरुवात गर्न खोज्दै छौँ । त्यसको बारेमा पनि यथेष्ट काम अघि बढेका छन् । अघिल्लो आर्थिक वर्षमा बजेट पाउन सकेनौँ । र,अहिले यो वर्ष वर्न सेन्टर सञ्चालनको लागि बजेट पाएका छौँ । त्यहाँ चाहिने अत्यावश्यक औजार मेसिनहरू र भौतिक पुनः संरचना गर्नुपर्नेछ । त्यसको लागि अहिले योजनामा छौँ । अप्रेसनको लागि पालो कुर्नुपर्ने समस्या लगायत सम्बोधन हुने गरी विस्तारित अस्पताल सेवा समिति बताएर मन्त्रालयले तय गरेका कार्यविधि निर्देशिका र अस्पतालले गर्न सक्ने कुरालाई लिएर डकुमेन्ट समितिबाट प्राप्त भएको छ । हामीले सबै ठाउँमा विस्तारित अस्पताल सेवा लागू गर्दैनौँ । जुन जुन ठाउँमा वा विषयमा बिरामीको चाप छ । त्यो विषयको विस्तारित अस्पताल सेवा सञ्चालन गर्ने र धेरैभन्दा धेरै नागरिकलाई सेवा दिने भन्ने उद्देश्यले सेवा सुरु गर्ने भन्ने सोचाइमा छौँ । अप्रेसन सेवालाई व्यवस्थित गर्न एउटा सेवा अवधि समय बढाउने, हरेक दिन हरेक विषयका अप्रेसन सञ्चालन गर्ने, जटिल र यथाशीघ्र अप्रेसन गर्नुपर्ने बिरामीलाई थप प्राथमिकिकरण गरेर चाँडो पालोमा लैजाने भन्ने सोचमा छौँ ।’
उनले बिरामीलाई मध्यनजर गर्दै सेवा अवधि थप गरिएको भन्दै ओपिडी भएको स्थानमा काउन्टर स्थापना गरिएको बताए । डा. पौडेलले ल्याब सेवा पनि बिहानदेखि नै सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताए । यसअघि बिहान ९ बजेदेखि सेवा दिने गरेको वीरले हाल बिरामीको चापलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि ४ बजेसम्म सेवा प्रवाह गर्दै आएको जानकारी दिए । वीरमा नर्सिङ जनशक्ति थप भएपछि बन्द अवस्थामा रहेको ७० शैय्या सञ्चालनमा आएको छ । वीर अस्पतालले आकस्मिक सेवा निःशुल्क सञ्चालनका लागि बजेट पर्याप्त नहुँदा अप्ठ्यारो भएको बताएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्देशक डा।पौडेलले नीति तथा कार्यक्रममा केन्द्रीय अस्पतालमा आकस्मिक सेवालाई निःशुल्क सेवा दिने भनेर भनिए पनि कार्यान्वयनमा चुनौती सृजना भएको बताए । उनले गरिब तथा विपन्न बिरामीलाई निःशुल्क औषधि सेवा दिन नसकेको बताए ।
आकस्मिक सेवाबापत अघिल्लो वर्ष करिब ८ करोड २० लाख रुपैयाँको छुट उपलब्ध गराइएको तर सरकारले विभिन्न शीर्षकमा १ करोड १५ लाख रुपैयाँ मात्रै दिएको बताए । आकस्मिक सेवातर्फ ५२ शैय्या सञ्चालनमा छ ।
आकस्मिक सेवा निःशुल्क गराउन सरकारले तीन करोड बजेट विनियोजन गरे पनि त्यो पर्याप्त नहुने बताए । उनले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतबाट आकस्मिक सेवा निःशुल्क गराउन निर्देशन प्राप्त गरेको र बजेट अपुग भए शोध भर्ना हुने आश्वासन पाएको बताए ।
उनले भने, ‘अहिले हामीलाई आकस्मिक सेवा सञ्चालन गर्न वीर अस्पतालमा साँच्चिकै समस्या छ । हुन त हामीले धेरै सेवा निःशुल्क दिइरहेका छौँ । औषधि खरिदमा निःशुल्क सेवा दिन सकिरहेका छैनौँ । आकस्मिक सेवामा प्रयोग हुने औषधिलाई पनि छुट दिन सकियो भने राहत पक्कै हुन्थ्यो । अघिल्लो वर्ष करिब ८ करोड २० लाख रुपैयाँको छुट गर्यौँ । तर, सरकारले हामीलाई विभिन्न शीर्षकमा १ करोड १५ लाख रुपैयाँ थियो । भनेपछि त हामीले निःशुल्क उपचारमा आठ गुणा बढी खर्च गरेछौँ । आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउन बजेट पुगेन भनेर बजेटमा तीन करोड पुर्याएको छ । त्यो पनि पर्याप्त होइन । हामी अझै लबिङ गर्दै छौँ । मन्त्रीज्यूले के भन्नुभएको छ भने, निःशुल्क शैय्यासँगसँगै निःशुल्क उपचार त गरिबलाई गर्नुपर्यो, त्यसमा शोध भर्ना हुन्छ, काम गर्दै जानुस् भनिएको छ । त्यो हिसाबले थप बजेट आउला भन्ने आशा गरेका छौँ । अप्रेसनका लागि करार सेवामा जनशक्ति थप्ने योजना छ । भिआइपी, भिभिआइपी सेवा अस्पतालले लामो समयदेखि दिँदै आएको छ । मन्त्रीज्यूको धारणा के छ भने राज्यको खर्च हुन्छ भने निजीमा होइन वीर अस्पतालमा नै उपचारका लागि जानुपर्छ भन्ने रहेको छ । अहिले हामीले तीन वटा कक्ष बढायौँ । जम्मा पाँच वटा क्याबिन पुग्यो । दुई वटा भिभिआइपीको लागि र तीन वटा भिआइपीको लागि । एक जना आम पब्लिकले जस्तो सेवा पाउनुहुन्छ, भिआइपी, भिभिआइपीले । स्वास्थ्य सेवामा सानो, ठुलो, धनी, गरिब भनेर विभेद हुँदैन । केही सुविधा मात्रै थपेको छ । मिटिङ गर्नलाई एउटा कोठा, परिवारको लागि सँगै बसेर खाजा खाने छुट्टै कोठा, आकस्मिक उपचारका लागि चाहिने उपकरण व्याकअपमा हुन्छन् ।’
अस्पतालले आधारभूत स्वास्थ्य सेवादेखि विशिष्टीकृत स्वास्थ्य सेवा एउटै छानामुनि प्रदान गर्दै आएको छ ।