सेतो गुराँस


जुन दिन मेरो सिउँदोबाट
लालिगुराँसको रङ्ग उजाडियो
त्यसै दिनदेखि छिमेकिको घरमा चोरी हुँदा,
सबैभन्दा पहिले मेरो घरको तलासी हुन थाल्यो ।
छिमेकीका बालि मासिँदा मेरा गोठमा बाँधिएका
वस्तुभाउका जिउभरी सुम्ला बसे ।
हार्ट अट्याकले प्राण त्यागेका जेठाजुका
परिवारले पनि मेरै पाता कसे ।
अगेँनुको वरिपरि बसेका हाम्रा मुनाहरु भन्छन,
हाम्रो कसौंडी ठुलो हो की चामल नै नबढ्ने पर्यो,
कहिलै भाडो भरिन्न त ।
बिहान बेलुकै भोक लाग्छ हामीहरुलाई
तिमी केही नखाँदा पनि टन्न छु भन्छेऊ,
तिम्रो र हाम्रो पेटमा के छ आमा भिन्नता ?

आँखा भरेर फुटेका बाँधहरुले निभे धिपिक्क अँगेनुहरु
म ठोसिरहेँ त्यही चिर्पट
रङ्गबङ्गिए कुहिरीमण्डल धुँँवाहरु ।
बिहान बेलुका फुपाजुको घरमा भाँडा माज्छु
दिउँसो मेलापातमा बुन्छु सपनि
प्यारा ! टाइ, बेल्ट जुत्ता लगाएर
र्बाेडिङ जान्छन् नि
हाम्रा लालाबाला पनि ।
टाल्ने भाग नै सकिएछ फेरेँ एकजोर चोली अनि,
जासुसी पो बढेछन मेरो घरमा
खोजि हुँदै थिए मेरा निर्दाेष रातहरुको
खै किन सेतो फरियामै देखिन्छन दागहरु पनि ।
प्यारा ! हाम्रो बार्दलिबाट सधैं देखिने
चम्किलो तारा पक्कै हजुर होला है ?
थाहा छ हजुरलाई
हाम्रो ग्वामे डाक्टर भयो नि !
काठमाण्डौमा ठुलो घर किने अरे
बुहारी पनि सरकारी जागिरे ।
गए माघ दम बढेर सिकिस्तै भएँ,
छोराले समाचार पठायो लिन आउन सकिँन
आमा बिस्तारै आउन भनेर ।
म आतुरिँदै भोलिपल्टै पुगेँ ,
त्यसलाई औधी मनपर्ने घीउ र सिन्कि बोकेर ।
खाँदैन कि के हो आजकाल हड्डी मात्रै बाँकि
कपाल पनि हिँउ झै भएछ ।
पावरवाला चस्मा लाउन थालेछ ।
प्यारा ! हाम्रो ग्वामे त अर्कै भएछ ।
असाध्यै ख्याल राख्छ मेरो यहाँ,
ठुलो खाट,बाक्लो डस्ना, न्यानो ओढ्नी
तर बेइमानी मेरो दम हाम्रो ग्वामेलाई
आरामले निदाउन दिएन ।
रातभरी कानमा कुन्नि के जाति डल्लो घुसाएर सुत्यो ।
अरु बिरामीको जस्तै मेरो समस्या सुनाउन
मसँग पनि त उसको नामको टिकट थिएन ।
ठुलो धोको थियो पशुपति दर्शन गरी
हजुरको नाममा बत्ती बाल्ने ।
बिहानै सुनाए छोरालाई,
कुनै जवाफ आउनुअघि बुहारीसँग उसको आँखा जुध्यो,
अनि मेरो सामु शिर झुक्यो ।
आमा हुँ नि त्यसको तोते भाषा त बुझ्थेँ,
अहिलेको मौनता पनि बुजे प्यारा मैले ।
छल गर्याे आँखाको समुन्द्रले फेरी
सीमा बाहिर बग्दिन भन्थ्यो,
बग्यो फेरी अहिले,
प्यारा बग्यो फेरी अहिले ।
फिटिक्कै मन पर्दैन मलाइ आजकाल यो सेतो गुराँस
न गमलामा सुहाउँछ न त मन्दिरमा,
खै कसरी सुहायो प्यारा ! मेरो तक्दिरमा ।

 

तपाईको प्रतिक्रिया