काठमाडौँसहित चार प्रदेशमा झरी

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
35 Shares
काठमाडौं

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार यति बेला गण्डकी, बागमती, मधेस र कोसी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको हो।

‘रातिदेखि नै वर्षा भइरहेको छ’, उनले भने, ‘काठमाडौँ उपत्यकामा चाहिँ आज बिहान ३ बजेदेखि झरी टाइपको सिमसिम पानी परिरहेको छ।’ उनका अनुसार काठमाडौँमा उपत्यकामा जारी झरी तत्काल रोकिने सम्भावना देखिएको छैन।

‘दिउँसो केही बेर रोकिए पनि साँझतिर फेरि पानी पर्ने सम्भावना देखिएको छ’, मौसमविद् पौडेलले भने, ‘काठमाडौँ उपत्यकामा आज त्यस्तो ठुलो वर्षाको सम्भावना त छैन तर झरी परिराख्ने सम्भावना छ, आज दिनभर मौसम खुल्ने सम्भावना देखिन्न।’

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

यसै गरी राति पनि सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका