आजदेखि सुरु हुँदै ‘हिमालयन आर्ट फेस्टिभल’ : ८० जना कलाकारका कलाकृति एउटै थलोमा हेर्न सकिने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
1372 Shares
काठमाडौं

नेपालकै सबैभन्दा स्तरीय र बृहत् कला प्रदर्शनी मानिने ‘हिमालयन आर्ट फेस्टिभल’ आजदेखि सुरु हुँदै छ । प्रदर्शनीमा ८० जना कलाकारहरुको कलाकृति एउटै थलोमा अवलोकन गर्न सकिने आयोजक पक्ष ई–आर्टस् नेपालले जनाएको छ ।

नीजि क्षेत्रबाट नै ललितकलाको विस्तार र विकासका लागि स्थापित ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दशैंको अवसरमा प्रदर्शनी गर्दै आइरहेको छ । सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरुबाट शुरु गरिएको फेस्टिभलमा जम्मा ५० जना कलाकारहरुले भाग लिएका थिए ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ई–आर्ट्स नेपालका सहसंस्थापक तथा कलाकार एरिना ताम्राकार अर्का,सहसंस्थापक आशा डङ्गोल लगायतका कलाकारहरुले सहभागितामा वरिष्ट मूर्तिकार प्राध्यापक गोविन्दनारायण ज्यापु प्रमुख आतिथ्यमा आज बेलुकी ५ बजे कला प्रदर्शनी शुभारम्भ गरिने आयोजक संस्थाले जनाएको छ । दशैंको छेकोमा धेरै प्रकारमा मेला तथा महोत्सवहरु भएपनि कला क्षेत्र यस्ता अभ्यासहरु देखिँदैनन् । कला र सिर्जनालाई एउटा उत्सव तथा पर्व,मेलाका रुपमा अगाडि बढाउन हिमालयन आर्ट फेस्टिभल गर्दै आएको सहसंस्थापक डंगोलले बताए । ‘दशैंमा धेरै मेलाहरु आयोजना भइरहेका हुन्छन्’, उनले भने, ‘यसमा नेपाली कलाको कमी थियो । त्यहि अवस्थालाई मनन् गर्दै नेपाली कलाकारहरुको समकालीन अवस्था र प्रोत्साहनका लागि फेस्टिभलको आयोजना गर्दै आइरहेका छौँ ।’ उनका अनुसार दशैंको अवसरमा आम नेपालीहरुले नेपाली कलाकृतिहरु किनेर आफ्नो घरमा सजाउने परम्परा बसोस् भन्ने फेस्टिभलको उद्देश्य हो ।

भदौं ७ गतेदेखि १३ गतेसम्म हुने प्रदर्शनीमा आकर्षक मूल्यमा मध्यम वर्गीय परिवारलाई लक्षित गरी कलाकृतिहरु प्रर्दशनीमा समावेश गरिनेछन् । नेपाली कलाकृति महंगो र किन्न गाह्रो हुन्छ भन्ने भ्रम फेस्टिभलले तोड्ने आयोजक संस्थाको विश्वास छ । आयोजकका अनुसार नेपाली कलाकारहरुको कलाको स्तर मापनको लागि समेत प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्नेछ ।

कलाका विभिन्न विधालाई समेटिएको प्रदर्शनीमा नेपाली वरिष्ठ कलाकार देखि नयाँ पुस्ताका कलाकारहरुको सिर्जनालाई विधागत हिसावले ‘टु डी’ र ‘थ्री डी’ डाइमेन्सनका कलाहरु प्रदर्शनीमा समावेश गरिएका छन् । प्रदर्शनीको एक जना वरिष्ठ कलाकारलाई एउटा छुट्टै स्थान बनाएर तिनका कलाकृतिलाई समेटिनेछ । प्रदर्शनीका दौरानमा क्युरेटर प्रतिमा थकालीले कला प्रदर्शनीको भ्रमण गराउनेछिन् भने कलाको विषयकै सेरोफेरोमा रहेर भेला, छलफल हुनेछन् । प्रदर्शनीकै दौरानमा कलाकार प्रशान्त श्रेष्ठको सम्झनामा राखिएको प्रशान्त छात्रवृत्ति समेत तीन जना युवाकलाकारहरुलाई वितरण गरिने छ ।

प्रदर्शनीमा कृष्ण मानन्धर, किरण मानन्धर, शशिकला तिवारी, राजन काफ्ले, डंगोल, ताम्राकार, भाइराज मर्हजन, प्रदीप बज्राचार्य, प्रमिला बज्राचार्य, बिनोद प्रधान, जुपिटर प्रधान, विधाता के.सी, सागर मानन्धर, उजय बज्राचार्य, सरिता डंगोल, इशान परियार, रवीन्द्र श्रेष्ठ, कृष्ण लामा, हरिओम मेहता, सविता डंगोल, सुजन डंगोल, मुना भडेल, विद्यमान तामाङ लगायतका कलाकारहरुका कलाकृतिहरु अवलोकन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया