आठौँ तामाङ ज्ञान महोत्सव सकियो‚ दुई दिनसम्म चल्यो ज्ञानकै कुरा

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
588 Shares
काठमाडौं

आठौँ तामाङ ज्ञान महोत्सव सम्पन्न भएको छ । तामाङ डाजाङ, तामाङ न्हाङखोर र तामाङ राष्ट्रिय पुस्तकालयद्वारा आयोजित दुई दिने महोत्सवमा तामाङ भाषा, कला, संस्कृति, ज्ञान र इतिहासका विविध पक्षमा विचार विमर्श गर्दै सम्पन्न भएको हो ।

अन्तर्राष्ट्रिय तामाङ परिषद्का कार्यकारी महासचिव टासी लामाले बुधवार उद्घाटन गरेको महोत्सवमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुति र अन्तरक्रिया सञ्चालन गरिएको थियो ।

पहिलो दिन इतिहासकार दिनेशराज पन्तले विशेष प्रवचन राखेका थिए । उक्त दिन ‘तामाङ ज्ञान र महिला’ विषयमा त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक कुमारी लामा, मानवशास्त्री टेकबहादुर दोङ, सञ्चारकर्मी सञ्चु ब्लोन र खेन्पो नवराज लामाले आ–आफ्नो प्रस्तुति राखेका थिए ।

सोही दिन भाषा प्रविधि र लोक साहित्य विषयमा डा. लोकबहादुर लोप्चन, बुद्ध योञ्जन, निष्णु थिङ, डा. बालकृष्ण बललगायतले प्रस्तुति राखेका थिए ।

त्यस्तै प्राध्यापक डा. महेन्द्र लावतीको विशेष मन्तव्य राखिएको थियो ।

तामाङ बोन साहित्यसम्बन्धी अन्तरक्रियामा डा। मुक्तसिंह लामा, खोजराज गोले र टेकबहादुर मोक्तान वक्ताको रूपमा सहभागी थिए ।

महोत्सवको दोस्रो दिन बिहीबार राजनीतिक विश्लेषक सिकेलालको विशेष प्रवचन राखिएको थियो ।

उक्त दिन रवीन्द्र थिङ, रमेश घिसिङ, अञ्जु मोक्तान, निमा मोक्तान, खोजराज गोले, धनबहादुर तामाङलगायतले कार्यपत्र प्रस्तुत गरे ।

यसै गरी सोही दिन पञ्चकन्या गाउँपालिका नुवाकोटका अध्यक्ष तेजबहादुर तामाङ र मण्डनदेउपुर नगरपालिका काभ्रेका प्रमुख प्रशासकीय अधिकृत डा. लोकबहादुर लोप्चनसँग स्थानीय सरकार सम्बन्धमा अन्तरसंवाद गरिएको थियो ।

तामाङ समुदायले प्रत्येक वर्ष भदौ ६ गतेका दिनलाई तामाङ पहिचान दिवसका रूपमा मनाउँदै आएका छन् । तत्कालीन राणा प्रधानमन्त्री भीम शमशेरको पालामा सरदार बहादुर सुबेदार मेजर जंगवीर तामाङको नेतृत्व टोलीले प्रधानमन्त्रीसमक्ष आफूहरूलाई ‘तामाङ’ भनियोस् भनी माग पत्र राखेका थिए । सोही मागलाई सम्बोधन गर्दै भीम शमशेरले वि.सं. १९८९ भदौ ६ गते नेपाल सरहदभित्र विभिन्न नामले बोलाइने जातिलाई ‘तामाङ’ लेख्न–लेखाउन सनदपत्र जारी गरेकाले सोही दिनलाई तामाङ पहिचान दिवसका रूपमा मानिएको महोत्सवका संयोजक निष्णु थिङले बताए । त्यसअघि तामाङहरूलाई भोटे, लामा, मुर्मी आदि भन्ने गरिएको पाइन्छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका