काभ्रे सेवा समाज युएईले सेप्टेम्बर २४ तारिखमा तिज विशेष कार्यक्रम मनाउने भएको छ । युएइको दुबई सहरस्थित ब्लु प्यालेस रेस्टुरेन्टमा मनाउने तयारी गरेको आयोजक संस्थाले जानकारी दिए ।
‘एकता, सहयोग र सहकार्यको मुख्य उद्देश्यका साथ समाजले कला र गलाको सम्मान, सेवाको लागि पर्नेछौ हर्दम’ भन्ने मूल नाराका साथ बृहत् सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको समाजका अध्यक्ष गोविन्द पन्तले जानकारी दिए ।
नेपालबाट अतिथि कलाकार चर्चित लोक तथा आधुनिक गायिका सरु गौतमको विशेष उपस्थितिमा कार्यक्रम हुनेछ । साथै कार्यक्रम युएइमा रहेका नेपाली स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने समाजका महासचिव ग्याम्सो लामाले जानकारी दिए ।
वैदेशिक रोजगारीको सिलसिलामा युएइमा कार्यरत नेपाली कलाकारहरू गायक मिलन लामा, गायक मनिष लोप्चन, सुनिल लामा, युनिक सयाङ्बो, मिलन बोम्जन, मोनिका बोम्जन,सुनिता वाइबा,सञ्जीव लामाको प्रस्तुति रहने बताइएको छ ।
युएइमा क्रियाशील नेपाली सङ्घ संस्थाका प्रतिनिधि, कलाकार, पत्रकार,बुद्धिजीवी लगायत युएईमा रहेका नेपालीहरूको उल्लेख्य सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमलाई भव्य र सभ्य बनाउन समाजले प्रचार प्रसारलाई तीव्रता दिएको छ । कार्यक्रम सफल बनाउन युएइमा रहेका सबै नेपालीलाई अतिथि कलाकार सरू गौतमले समेत उपस्थितिका लागि अनुरोध गरेकी छन् ।