सुन्तलीमाइको सिन्धुलीगढी दरबार भित्रको प्रेम कहानी

काठमाडाैँ
सिन्धुलीगढी दरबारको पेन्टिङ । स्रोत : गुगल

सिन्धुलीको प्रसिद्ध लोकगीत र गीतको पात्र

सिन्धुलीगढी घुमेर हेर्दा-२
सुन्तलीमाइ कतिमा राम्रो दरबार
मर्यो नि मायाले मर्यो ।
आजकालको जोवनमा हेर सुन्तलीमाइ
कस्तो पो होला घरबार
मर्यो नि मायाले मर्यो ।
परेली झिम्क्याई मस्केर हिँड्ने सुन्तलीमाइ
वैँशमा छँदाछदै
मर्यो नि मायाले मर्यो ।
मुटुमा मेरो जलाई पो दियौ सुन्तलीमाइ
म त पो हुँदा हुँदै
मर्यो नि मायाले मर्यो ।
सोह्र वर्षे जवानीमा सुन्तलीमाइ
केलाई पो हिँड्छौ तर्केर
मर्यो नि मायाले मर्यो ।

वि.सं. २०३६ ताका लोकगायक कृष्णविक्रम थापाले रेडियो नेपालमा रेकर्डिङ गरेर गाउनु भएको माथि उल्लेख गरिएको लोकप्रिय, चर्चित र प्रसिद्ध लोकगीतको प्रमुख पात्र हुन्, सन्तलीमाइ । उनै सुन्तलीमाइको कारुणिक कथाको बारेमा शायद कमैलाई थाह होला, जसलाई टिपेर यस आलेखमा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

सुन्तलीमाइको कथा

तामाङ महिलाको स्केच । स्रोत : गुगल

सिन्धुलीको दर्लामी गाउँमा एकजना वाइबा थरका तामाङ परिवार बसोबास गर्दथे । बनारसतिर काम गरेर फर्केकाले बनारसी वाइबा नामले चिनिन्थ्यो । बनारसी वाइबालाई फौजदारी अभियोग लाग्यो र अनुसन्धानको सिलसिलामा सिन्धुलीगढीस्थित जेलमा थुनियो । उनी जेलमा थुनिए पछि घरमा बिचल्ली भयो । थुनामा परेका श्रीमान्लाई दिनदिनै खाना ल्याउन दर्लामीगाउँबाट सहज भएन । त्यसपछि बनारसी वाइबाकी श्रीमती आफ्नी १६ वर्षकी किशोरी छोरी सुन्तलीलाई लिएर सिन्धुलीगढी दरबारनजिकै जलकन्यामा आफन्तका घरमा बस्न लागे । श्रीमान्लाई दैनिक खाना ल्याउने क्रममा आमासँगै आएकी छोरी सुन्तलीमाथि गढी दरबारको बुर्जामा बसेका बडाहाकिम छपेन्द्रविक्रम राणाको नजर पर्यो ।

सुन्तलीको यौवन र सौन्दर्य नजिकबाट हेर्ने इच्छा बडाहाकिमलाई जाग्यो । यसपछि बडाहाकिम छपेन्द्रशमशेरले बनारसी वाइबाका श्रीमती र सुन्तलीलाई दरबारमा बोलाए । आफ्नो कार्यकक्षमा राखेर बडाहाकिमले बनारसी वाइबालाई लागेको आरोपको बारेमा सोधपूछ गर्न थाले । पटकपटकको भेटघाट र निकटताले बनारसी वाइबाको परिवारजनसँग उनको सामिम्यता बढ्न थाल्यो ।

लामो कपाल, बाटुलो अनुहार, गोरो, टम्म मिलेका दात र सलक्क परेको जीउडालकी सुन्तलीको रुपरङ्गमा हुरुक्क भए । जति सक्दो छिटो सुन्तलीमाइलाई पाउने अभिष्टता उनमा बढ्न थाल्यो । सोही कारण एक दिन बडाहाकिम राणाले बनारसी वाइबाकी श्रीमतीसँग मुख खोल्दै भने- ‘सुन्तलीलाई दरबारमा राख्न दिने हो भने म तिम्रो बूढालाई लागेको खत अर्थात् अभियोग माफ गराइदिनेछु’ । बनारसी वाइबाकी श्रीमतीले यस कुराको निर्णय आफू एक्लैले गर्र्न नसक्ने र आफ्ना श्रीमान बनारसी वाइबासँग कुराकानी गरेर बताउने कुरा जाहेर गरिन् । सिन्धुलीगढीको जेलमा थुनिएका बनारसी वाइबासँग भेटेर कुराकानी गर्ने वातावरण बडाहाकिमले मिलाई दिए । बडाहाकिमसँग भएको कुरा जेलमा भएका आफ्ना श्रीमान्सँग राखिन् । चरम यातनामा परेका बनारसी वाइबाले बडाहाकिमको प्रस्तावलाई सहर्ष स्वीकार गर्नु अघि छोरीसँग कुराकानी गर भनेर श्रीमतीलाई भने । छोरीले पनि आफ्नो पिताको रिहाईका लागि आफू दरबारमा बस्न राजी भई । जुन कुरा बनारसी वाइबाकी श्रीमतीले बडाहाकिम समक्ष जाहेर गरिन् ।

सिन्धुलीगढी दरबारको भग्नावशेष । स्रोत : गुगल ।

बडाहाकिम खुसीले गदगद भए र बनारसी वाइबालाई कानुनी रुपमा सफाई दिएर थुना मुक्त गरिदिए । बनारसी वाइबाका परिवारले आफ्नी १६ वर्षकी प्राण प्यारी छोरी सुन्तलीलाई गढी दरबारमा रहेका बडाहाकिमलाई सुम्पिदिए । बनारसी वाइबा र उनको श्रीमतीले शान्तिको थोरै सास फेरे । बडाहाकिम छपेन्द्रविक्रम राणा पनि दिव्य सुन्दरी सुन्तलीसँग अघात प्रेम गरेर रमाउन थाले । यसरी रमाएका ३ तीन महिना नपुग्दै राणा शासकका सुलसुलेको कर्के नजर पर्यो र घटनाको नालीबेली श्री ३ पद्मशमशेर समक्ष विष्णुप्रसाद डिठ्ठाले पुर्याइ दिए ।

श्री ३ महाराज पद्मशमशेर सो घटनाको बेलिबिस्तार थाह पाए पछि क्रुद्ध बने । तुरुन्तै छानबिन गरेर बडाहाकिमलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाए । छानबिन काम सुरु भयो । बडाहाकिम छपेन्द्रविक्रम राणा निलम्बन भए । बडाहाकिम छपेन्द्रविक्रम राणाले आफ्नो ठाउँमा अर्का बडाहाकिम दधिन्द्रविक्रम राणालाई खटाइएको भन्ने खबर गढी दरबारमै प्राप्त गरे । यसपछि बडाहाकिम छपेन्द्रविक्रम राणालाई तनाव बढ्यो । आफ्नो बचाउ गर्ने कुनै तर्क र प्रमाण नभेटे पछि मानसिक रुपमा अस्थिर भए र दरबारभित्र आफ्नो कोठामा आफैँले कन्चटमा गोली हानी आत्महत्या गरे भन्ने भनाइ छ ।

बडाहाकिम छपेन्द्रविक्रम राणाले सम्वत् २००५ साल आषाढमा आत्महत्या गरेपछि बनारसी वाइबाको किशोरी छोरी सुन्तलीको दुःख र वेदनाका दिनहरु सुरु भए । गर्भिणी सुन्तलीले छपेन्द्रविक्रम राणाको छोरीलाई जन्म दिइन् । भनिन्छ, सुन्तलीले जन्म दिएकी छोरीलाई छपेन्द्रविक्रम राणाकी बहिनीले काठमाडौँ दरबारमा लगिन् । विस्तारै विस्तारै विछिप्त भएर उनी दरबारबाहिर भौँतारिदै थिइन् । त्यसपछि उनी काकासँग चपौलीमा बस्न गइन् । जहाँ रहँदाबस्दा उनको पेटमा दोस्रो गर्भ रह्यो । जसका कारण उनले गढीदरबारमा उजुरी गरिन तर उनको उजुरी उपर सुनुवाई भएन । न्याय नपाए पनि उनले आफ्नो गर्भकी सन्तान छोरीलाई जन्म दिइन् । जसलाई आफैँले हुर्काइ बढाइ पछि विवाह गरी दिइन् । त्यसपछि उनी बुढेसकालसम्म छोरी ज्वाँईसँग नै बसेर आफ्नो जीवनको इहलिला समाप्त गरिन्, भनिन्छ ।

सुन्तलीमाइ पात्र, स्थान, समय-परिवेश र चरित्रको विश्लेषण

यसरी हेर्दा सुन्तलीको जीवनका महत्वपूर्ण कालखण्ड बनारस, सिन्धुलीगढी, गढी दरबार र यसका वरिपरिका दर्लामी, जलकन्या, मगर, चुट्टी, चपौली, विजयछाप, बसेरी, माडीलगायतका स्थानहरुमा बितेको पाइन्छ । उनको जीवनमाथि घटेको महत्वपूर्ण घटना वि.सं. २००५ अर्थात् राणाकालको उत्तरार्धतिरको देखिन्छ । यस घटनापछि सुन्तलीलाई तामाङ जात भएकी कारण सिन्धुलीका नागरिकहरुले उनको नामको पछाडी ‘माइ’ थपिदिए । यसबाट ‘सुन्तलीमाइ’ राणा शासककालको शासक र शासित नागरिकको वियोगान्त प्रेम कथाको एउटा पात्रको रुपमा परिचित भइन् । जसका कारण उनी हालसम्म पनि जनश्रुतिमा बाँचिरहेकी छिन् । जसलाई टिपेर निकट भविष्यमा उनको नाममा साहित्यिक कृत्तिहरु कथा, कविता, उपन्यासजस्ता सिर्जना नहोलान् भन्न सकिन्न । ‘सुन्तलीमाइ’को कथा सङ्कलनको क्रममा उनी सिन्धुलीगढी दरबारमा पसेकी समय वि.सं. २००४ को अन्त र २००५ को आरम्भतिर देखिन्छ । यसबाट उनको जन्म वि.संं. १९८९ तिर हुन आउँछ भने मृत्यु वि.सं २०६५ तिर भएको भनेर यस पंक्तिकारले सिन्धुलीबासीबाट सुनेको आधारमा गणना गर्दा उनी ७६ वर्ष बाँचेकी देखिन्छ । यद्यपि यो अझै अनुसन्धान कै क्रममा रहेको छ । यद्यपि शाररीक रुपमा स्वस्थ्य भए पनि मानसिक रुपमा बिक्षिप्त रहेकी ‘सुन्तलीमाइ’को चरित्र सहनशील, आँटी र सहासी थिइन् भनिन्छ । उनको जीवन, प्रेम प्रसङ्ग र सङ्धर्षका करुण कथा शब्दमा लेख्न शायदै साहित्यकारहरुले पनि सकिदैनन् होला ।

आखिर को हुन ? त बडाहाकिम छपेन्द्रविक्रम राणा ?

वि.सं. २०५६ मा पाञ्चायन प्रकाशन प्रा.लि. काठमाडौँले प्रकाशनमा ल्याएको ‘कुँवार राणाजीहरुको बृहत्त वंशावली ’ पल्टाएर हेर्दा छपेन्द्रविक्रम राणा जङ्गबहादुर राणाका भाइ बमबहादुर राणाका खनाती, वमवीरविक्रम राणाका नाती र बमबहादुर राणाका छोरा हुन् । उनी सिन्धुलीगढीका ११ औँ बडाहाकिम हुन् । वि.सं. २००२ देखि २००५ सम्म उनी सिन्धुलीगढी दरबारमा बसेर सिन्धुली, रामेछाप, दोलखा र ओखलढुङ्गासम्म मिलिसिया गोश्वारा प्रशासन चलाए । उनले आफ्नो कार्यकालमा सिन्धुलीगढी र रामेछाप डाँडाको टुँडिखेल मैदान बृहत् बनाए । सिन्धलीगढी दरबारमा बस्दा उनी बूढी आमा र छोरीसँग बस्दथे । एउटा आँखा नभएका कारण एउटा आँखामा कालो पट्टी लगाएर हिँड्दथे । सिन्धुलीबासीहरुले उनलाई ‘कानो बडाहाकिम’ भन्दथे । सिन्धुलीका एक तामाङ जातिका मान्छेलाई मान्छे मारेको अभियोग लागेका अभियुक्तलाई कानुन बमोजिम कारबाही नगरी सफाई दिएर उनकी छोरीलाई रखैल बनाएको आरोप उनलाई लागेको थियो । जसको उजुरी श्री ३ महाराज पद्मशमशेर राणासमक्ष परेपछि उनी कारबाहीको सिलसिलामा निलम्बनमा परे । यसपछि बेइजज्त सहन नसकी मानसिक रुपमा विच्छिप्त भएर उनले आफ्नो बन्दुकले आफ्नै कञ्चटमा गोली हानी सिन्धुलीगढी दरबारभित्र कार्यकक्षमा दिउँसै आत्महत्या गरेका थिए । दरबार वरिपरि बसेर लेखापढीमा संलग्न भएका लेखनदाशहरुले गोलीको आवाज सुनेर ढोका खोल्न पुग्दा खोल्न नसकेको कारण बसेरी गाउँबाट मगर सिकर्मीहरु ल्याएर ढोका फोडी उनको लास झिकेर सद्गद गरिएको थियो ।

(लेखक तामाङ अनसन्धानकर्ता हुन् । उनका तामाङ संस्कृति र इतिहास सम्बन्धी एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।)

rabindratamang@gmail.com

तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
18
+1
8
+1
1

तपाईको प्रतिक्रिया

पत्रपत्रिका