लोकतान्त्रिक तामाङ सङ्घले मनायो १७ औँ स्थापना दिवस 

तामाङले भोग्दै आएको उत्पीडनका आवाज सशक्त ढङ्गले उठाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
357 Shares
काठमाडौं

लोकतान्त्रिक तामाङ सङ्घले भव्यताका साथ आइतबार आफ्नो १७ औँ स्थापना दिवस मनाएको छ । सङ्घले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय तुलसीलाल प्रतिष्ठान, च्यासलमा स्थापना दिवस मनाएको हो ।

स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले १७ औँ वर्षको इतिहास बनाएको लोकतान्त्रिक तामाङ सङ्घलाई बधाई तथा शुभकामना व्यक्त दिएका थिए । उनले तामाङ समुदायले भोग्दै आएको उत्पीडनका आवाज सशक्त ढङ्गले उठाउने र पार्टी सङ्गठनलाई पनि बलियो बनाउँदै जानुपर्ने बताए ।

उनले भने–‘विभेद,शोषणका विरुद्ध जसरी आवाज उठाउँछौँ,त्यसरी नै आफ्ना विषय सम्बोधन गर्ने पार्टी बलियो बनाउन एमालेका नीति,कार्यक्रमसाथ सङ्गठन बलियो बनाउने दोहोरो जिम्मेवारीसाथ तपाईँहरू अघि बढ्नुपर्ने छ ।’

नेता पोखरेलले मुलुक अल्पसङ्ख्यकहरूको देश भएको स्पष्ट पार्दै सामाजिक सद्भाव र एकताबाट नै अघि बढ्नुको विकल्प नभएको धारणा राखे । उनले अहिले समाजलाई फुटतिर लैजाने खतराको खेलमा वर्तमान गठबन्धन सरकार नै उद्धत रहेको आरोप लगाए ।

०८४ को चुनावमा आफूलाई भोट हालेमा सबै जातजातिको नाममा राज्य बाँड्ने कुरा माओवादी केन्द्रले गरेको भन्दै उनले यसले बहुजातिय,बहु सांस्कृतिक,बहु धार्मिक समाजमा द्धन्द निम्तिने तर्क गरे । कोसी प्रदेशको नामकरणका सन्दर्भमा माओवादीले यस खालको कुरा गरेर जनतालाई गलत तरिकाले उचाल्न खोजेको पोखरेलको भनाई छ । कोसी प्रदेश नामकरण जनताकै मत लिएर आएको प्रदेशसभाले गरेको विषय हो भन्दै उनले नेकपा एमालेका नेताहरूको कुनै पनि दबाबमा त्यसो नभएको बताए ।

कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको संस्थापक एवं एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकतान्त्रिक तामाङ सङ्घ १७ औँ वर्षमा आइपुग्नु खुसीको कुरा रहेको बताए । संस्थापक अध्यक्ष स्वर्गीय वीरबहादुर तामाङको योगदानको स्मरण गराउँदै उनले नेकपा एमाले तामाङ लगायत आदिवासी जनजातिहरूको विरोधी पार्टी नभएको कुरा इतिहासले पुष्टि गरेको बताए ।

उनले भने–‘नेकपा एमालेलाई तामाङ लगायत आदिवासी जनजाति विरोधी पार्टीको रूपमा व्याख्या गर्न खोजिरहेका छन्,यसलाई हामीले चिर्न जरुरी छ,नेपालका आदिवासी जनजाति लगायत उत्पीडित समुदायको पक्षमा हिजोदेखि एमालेले खेलेको भूमिका जनतामाझ बुझाउन आवश्यक छ ।’

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले नेपालका उत्पीडित सबै जाति, धर्म, समुदायको पक्षमा नेपालको संविधान २०७२ मा सुनिश्चित गरिएको सङ्घीयता,धर्म निरपेक्षता, समानुपातिक समावेशिता,मिश्रित निर्वाचन प्रणाली जस्ता व्यवस्थाका लागि एमालेले मुख्य रूपमा भूमिका खेलेको दाबी गरे ।   पहिलो संविधानसभा निर्वाचनपछि आदिवासी जनजाति सभासद् सभा (ककस),आदिवासीहरूको अधिकार सम्बन्धी आइएलओ १६९ अभिसन्धि पारित जस्ता काममा एमालेका नेताहरूले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गरे ।  उनले मुलुकमा एमाले बलियो भए मात्रै सबै जातजाति,वर्ग,समुदायको उत्थान हुने कुरा यसबाट स्पष्ट रहेको बताए ।  यस कारण पनि सबै तामाङहरू एमालेमा सङ्गठित हुनुपर्ने र यसमा लोकतान्त्रिक तामाङ सङ्घले भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङ, केन्द्रीय सदस्य दावा तामाङ लगायतका नेताहरूले शुभकामना दिँदै तामाङ मुक्ति एवं मुलुकको समृद्धिका लागि लोकतान्त्रिक तामाङ सङ्घले सबै तामाङहरूलाई एक गराउन आवश्यक रहेको बताए ।

लोकतान्त्रिक तामाङ सङ्घका अध्यक्ष दावादोर्जे लामाले तामाङ लगायत आदिवासीहरूको मुद्दा एमालेले आफ्नो नीति,कार्यक्रमअनुसार सम्बोधन गर्न सक्षम रहेको बताए । विगत इतिहासदेखि वर्तमान अवस्थासम्म एमालेले खेलेको भूमिकाबाट पनि यो कुरा स्थापित गरेको धारणा राख्दै आफूहरू लोकतान्त्रिक तामाङ सङ्घलाई केन्द्र, प्रदेश हुँदै घरघरमा पुर्‍याउने अभियानमा रहेको जानकारी दिए ।

कार्यक्रममा सङ्घका सचिव मानबहादुर लामाले सङ्घको घोषणापत्र संक्षिप्त रूपमा प्रस्तुत गरिएको थियो । सङ्घले केही दिनअघि अधिवक्ता भगवती पाण्डेले एक सञ्चारमाध्यममा दाजुबहिनीबीच तामाङ, मगर, मुस्लिम समुदायमा विवाह चल्छ, यसले मानिसलाई आपराधिक मानसिकतातिर धकेल्ने काम गर्छ भन्ने अभिव्यक्ति दिएर आफूहरूको संस्कृति र अस्तित्वमाथि धावा बोलेको भन्दै भर्त्सना गरेको छ । यसबारे आफ्ना कुरा राखेर शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएका तामाङहरूलाई अमानवीय ढङ्गले बल प्रयोग गरेका प्रहरी अधिकृत दानबहादुर कार्की समेतलाई कारबाही गर्न सङ्घले माग गरेको छ । सङ्घले देशको पूर्वी क्षेत्रमा प्रदेशको नामकरण,गोरुको मासु खाएको जस्ता विषय विषयान्तर गर्दै साम्प्रदायिक द्धन्दको अवस्था सिर्जना गर्ने खेल हुन थालेकोमा चिन्ता व्यक्त गर्दै  सामाजिक सद्भाव कायम गर्न आग्रह गरेको छ । आफ्नो मौलिक भेसभुसा तथा झाँकीसाथ सहभागी कार्यक्रममा छेवाङ तेन्जिङ लामा,धावा वाङगेल मोक्तान,हरि योञ्जनका साथै रसुवाका स्थानीय कलाकारहरूले आ–आफ्ना मौलिक संस्कृति प्रधान प्रस्तुति दिएको थियो ।

सम्पूर्ण तामाङहरूको राष्ट्रिय एकता,संस्कार संस्कृति सहितको पहिचान आजको आवश्यकता भन्ने मूल नाराका साथ भएको कार्यक्रममा तामाङ जातिको पहिचान आफ्नो कलामार्फत पस्किएको थियो ।

स्थापना दिवस समारोहकैबीच लोकतान्त्रिक तामाङ सङ्घको स्थापना दिवस लगायतका कार्यहरूमा महत्त्वपूर्ण सहयोग गर्ने व्यक्तित्वहरूलाई प्रमुख अतिथिबाट सम्मान पत्र प्रदान गरिएको थियो ।

तामाङ जातिको मुक्ति तथा समग्र मुलुककै विकास,समृद्धिका लागि तामाङहरूलाई एमालेमा एकताबद्ध गराउन भूमिका खेल्ने उद्देश्यले २०६३ सालमा नेकपा एमालेको विचार निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको घटक सङ्गठनको रूपमा स्थापना भएको लोकतान्त्रिक तामाङ सङ्घले भव्य रूपमा आफ्नो स्थापना दिवस मनाएको महासचिव कृष्ण लामाले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका