हिमाली लामाको ‘हिमाली सुस्केरा’ सार्वजनिक

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
252 Shares
काठमाडौं

गायिका हिमाली लामाको ‘हिमाली सुस्केरा’ गीति एल्बम सार्वजनिक भएको छ । सोमबार धापासीस्थित कुसुम स्कुलको सभा हलमा गायिका लामाको पहिलो गीति एल्वम् हिमाली सुस्केरा र सोही एल्बमका ‘हिमाली भेगको’ बोलको शीर्ष गीतलाई सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बागमती प्रदेशका सांसद श्यामबहादुर खड्काले कला‚ कृति र साहित्यहरू सदैव मरणोपरान्त पनि बाँचिरहने बताए । उनले गायिका लामा शारीरिक अशक्त रहे पनि उनका गीतहरू सशक्त रहेको बताए ।

यसै गरी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले पारिजातको बाटोमा गायिका हिमाली लामाले पछ्याइरहेको बताए । ‘हिमाली लामा पनि पारिजात जस्तै नेपाली समाजमा नेपाली गीतसङ्गीतको नक्षत्रको रूपमा स्थापित बन्न सक्नेछ‚’ उनले भने‚‘गोपाल योन्जनले जस्तै राष्ट्रप्रति अपनत्वको भावना सबैले सिक्नुपर्छ । यो सर्जकहरूले अशान्त नेपाललाई सुशान्त बनाउनुपर्छ।’

एल्बममा ६ वटा गीतहरू समावेश गरिएको छ । एल्बमको तीन वटा गीतमा गायक एवं सङ्गीतकार आरबी लामा सिङ्दानको सङ्गीत संयोजन र एउटा गीतमा सङ्गीत र दुई वटा गीतमा टिका बमजनको सङ्गीत र अरु गीतहरुमा साहस शाक्यले सङ्गीत संयोजन गरेका छन् । त्यस्तै गीतको शब्द रचना सूर्य दोङ तामाङको रहेको छ भने स्वर गायिका हिमाली लामा र एउटा गीतमा गायक कर्साङ लामाको स्वर रहेका छन् ।

गीतलाई युट्युबमार्फत सार्वजनिक गर्दै लैजाने गायिका लामाले जानकारी दिइन् ।

बुवा जगत लामा (जेबी) र आमा कुसुम लामाको कोखबाट विं.सं. २०३३ साल कार्तिक १ गते जन्मिएका हिमाली लामा सानैदेखि गीतसङ्गीतमा रुचि थियो । उनी चार दाजुभाइ र चार दिदीबहिनीमध्येको माइली हुन् । हिमाली लामा शारीरिक रूपमा केही अशक्त भए पनि मानसिक रूपमा तीक्ष्ण छन् । उनी करिब दुई दशक लामो साङ्गीतिक अध्ययनमा थिइन् । उनका अनुसार सङ्गीतका अग्रज सर्जक स्व. गोपाल योन्जन र अमर गुरुङसँग अनुभव बटुल्न पाएको सुनाउँछिन् ।

अक्सिजनको सहारामा बाँचिरहेकी आमा कुसुम लामा र पारिवारिक सदस्यहरूको प्रेरणाले यो एल्बम तयार पार्न हौसला मिलेको उनले बताइन् । गायिका लामाले भनिन्‚ ‘जीवित आमाको जीवन यो कालमै र आमाको हातबाट यो एल्बम सार्वजनिक गर्न र एल्बम आमालाई नै समर्पण गरिएको छ ।’

२०४५ सालदेखि रचनाकारको रूपमा कलम चलाउँदै आएको र ५० भन्दा बढी सुगम सङ्गीत नेपाली सङ्गीतलाई योगदान दिईसकेकी रचनाकार तथा आफ्नै सहोदर काका सूर्य दोङ तामाङको एकल रचनामा एल्वम् तयार भएको हो ।

यसै गरी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शुभकामना दिँदै सर्जक लामाको कृतिले राष्ट्रसामु प्रतिभालाई उजागर गरेर चिनाएको बताए ।

कार्यक्रममा टोखा नगरपालिका उपमेयर मुरारी तामाङ‚ टोखा–७ का वडाध्यक्ष नरोत्तम राना‚ वडा नं. ७ कै सदस्य गोपीकृष्ण पाठक‚ नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष कलचन्द्र वाग्ले‚ आदर्श समाजका सल्लाहकार गोविन्द नेपाल‚ आदर्श समाजका अध्यक्ष उमाकान्त पराजुली‚ दूरद्रष्टा प्रतिष्ठानका अध्यक्ष गायत्री अधिकारी लगायतको उपस्थिति रहेका थिए ।

कार्यक्रममा स्वागत गर्दै नेपाली काङ्ग्रेस टोखा नगरपालिकाकी सभापति एवं गायिकाकी दिदी तारा लामाले आफ्नो परिवारमा बहिनीको इच्छा पूरा गर्न सफल भएकोमा हर्ष विभोर भएको बताइन् ।

कार्यक्रमको सभाध्यक्ष आमा कुसुम लामाले गरेकी थिइन् भने सञ्चालन गायक एवं सङ्गीतकार आरवी लामाले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया