सैलुङ मेला सकियो‚ अर्ग्यानिक वस्तुको व्यापार बढी

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
1.4k Shares
दोलखा,चरिकोट
तस्विर : धावासाङ्बो शेर्पा

सदियौँदेखि प्रत्येक वर्ष गोने ङ्ह्या (जनै पूर्णिमा) मा लाग्ने सैलुङ मेला यस वर्ष सकिएको छ । समुन्द्र सतहदेखि ३१४५ मिटरको उचाइमा रहेको सैलुङमा पूर्णिमाको अघिल्लो दिन लाग्ने मेला यो वर्ष आज सकिएका हुन् ।

मेलामा भक्तजनहरू आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा श्रद्वार्पण (ङोवा) का लागि आइपुग्ने गर्दछन् । मेला भर्नका लागि सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायतका स्थानबाट झाँक्री, लामाहरूसहित भक्तजनहरू आउने गर्दछन् । बोन्बो (झाँक्री) हरू पूर्णिमाको दिन सैलुङमा पुग्ने गर्छन् । उनीहरू पूर्णिमाको अवसरमा भने ज्ञान आर्जनका लागि गुफावास पनि बस्ने गर्दछन् । यो समयमा देवीदेवता लगायत सबै राम्रा शक्तिहरू गुफामा बस्ने गरेको हुन्छ ।

गोने ङ्ह्या गुरु चेलाको सम्बन्ध गाँस्ने अवसर हो । विशेषतः जान्ने कहाँ आफ्नो गुरुको रूपमा सगुनसहित दीक्षाको लागि पुग्छन् । गुरुले पनि चेला बनाउन उचित योग्यता देखेमा स्वीकार गर्दछन् । यस दिन सिकेको मन्त्र तन्त्र बढी नै सशक्त वा लाग्ने हुन्छ भन्ने आम मान्यता रहेको पाइन्छ ।

श्रद्वार्पणका लागि आइपुगेका सैलुङ दुधपोखरीका निमा तामाङले आफ्ना स्वर्गीय फुपू सासूको नाममा लामा गुरुबाट ङोवा मोलम र बत्ती बालेको बताए । मेलालाई तामाङ फापरे ह्वाइ (तामाङ दोहोरी), मगर गीत तथा बोन्बोहरूको प्रस्तुतिले विशेष रमाइलो समेत गर्दछ । मेलामा स्थानीय केरा, आलु, मकै, चौँरी छुर्पी, खुर्सानी, पदमचल काँक्रो लगायत कृषि उपजहरू किनबेच समेत हुने गर्दछ ।

सैलुङ मेलामा आन्तरिक तथा बाह्य गरी हजारौँ तीर्थयात्री भित्रिएको हुन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका