गोसाईंकुण्डमा १० हजार दर्शनार्थी पुगे

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
672 Shares
रसुवा

समुन्द्री सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित पवित्र गोसाईंकुण्डमा जनैपूणिर्मा मेला भर्न १० हजार तीर्थयात्रीको आगमन भएको छ ।

गोसाईंकुण्ड क्षेत्र विकास समिति रसुवाको अनुसार नुवाकोटको घ्याङफेदि दुप्चेश्वर हुँदै र सिन्धुपाल्चोकको हेलम्बु हुँदै सुन्दरीजलबाट देशभरका तिर्थालुहरू गोसाईंकुण्ड पुगेका हुन् ।

समितिले करिब १० हजार भन्दा बढी तिर्थालुहरू आएको अनुमान गरेको बताएइको छ । गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा भई घरपरिवारमा सुख शान्ति बढ्ने र पारिवारिक मिलनमा थप प्रगाढ हुने विश्वास रहिआएको छ ।

गोसाइँकुण्डको दर्शन गर्ने सबैभन्दा ठुलो पर्व जनैपूणिर्माको दिन कुण्डको जलाशयमा फूल प्रसाद चढाउँदा सम्पूर्ण देवीदेवताको दर्शन मिल्न गई आफूले सोचेका सबै कुरा पूरा हुने धार्मिक मान्यताअनुरूप गोसाईंकुण्ड पुग्ने चलन रहिआएको छ ।

गोसाईंकुण्ड पुगेका भक्तजनलाई नेपाली सेना, गोसाईंकुण्ड गाउँपालिका, रसुवा जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, हिमालय उद्धार सङ्घसमेतले चिकित्सक एवं स्वास्थ्यकर्मी परिचालन गरी धुन्चेदेखि गोसाइँकुण्डसम्म प्राथमिक उपचार सेवा प्रदान गर्दै आएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

तिर्थयात्रुहरूको सुरक्षा एवं लेक लागि गम्भीर बिरामी परेका यात्रुको उद्धारका लागि नेपाल प्रहरीले ४०, नेपाली सेना विष्णु दल गणले ६० र सशस्त्र प्रहरी बलका २० सुरक्षाकर्मी परिचालन गरिएको छ । यात्रुले ल्याएका सवारी साधनको पार्किङ व्यवस्था गोसाईंकुण्ड गाउँपालिकाले गरेको छ ।

सत्ययुगमा देवता र दानवको सागर मन्थनबाट निस्केको कालकुट विष खाएर दहन गर्न नसकी यहाँ आएका भगवान् शिवले रिसाएर त्रिशूलले भूमिमा खोप्दा धाराको उत्पत्ति भई त्यहीँबाट बगेको पानी जम्मा भएर गोसाइँकुण्डको उत्पत्ति भएको पौराणिक कथन छ । सोही कथन अनुसार धार्मिक दृष्टिकोणले गोसाईंकुण्ड अग्रस्थानमा रहेको छ ।

गोसाइँकुण्डजस्ता प्राकृतिक सम्पदाको संरक्षण भए मात्र रसुवाको विकास सुनिश्चित हुने र विश्व सम्पदा सूची वा रामसार क्षेत्रमा सूचीकृत भएको पनि सार्थक हुन्छ । महत्वमा विविधता रहेको गोसाइँकुण्डको संरक्षण, प्रचारप्रसार र विकासका लागि सबैले हातेमालो गर्नुपर्छ । धार्मिक हिसाबले वर्षको दुई पटक मेला लाग्दै आए पनि आजकल १२ महिना नै मानिसको आवतजावत भइरहने हुँदा यहाँको उचित व्यवस्थापन गर्नु अत्यन्त जरुरी छ । धार्मिक गन्तव्यको लागि तिब्बतको मानसरोवरजत्तिकै एक पवित्र तीर्थस्थल हो नेपालको गोसाईंकुण्ड । त्यसैले यहाँ जानेहरूको सङ्ख्या दिन–प्रतिदिन बढिरहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका