काठमाडौँको बौद्धमा गाईजात्रा‚ रोपाई जात्रा र घोनाइ पर्व मनाएका छन् । हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाउने पर्व यस वर्ष शुक्रवार मनाएका हुन् । यस वर्षको यस पर्वमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किराँतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
जात्रा व्यवस्थापनका लागि स्थानीय अगुवा समाजसेवी जयमंगल लामाको संयोजकत्वमा विभिन्न सङ्घसंस्थाहरू आबद्ध रहेका छन् ।
२१ सदस्यीय गाईजात्रा तथा रोपाई (घोनाई) जात्रा मूल समारोह समिति गठन गरिएको थियो । जात्राको मुख्य आयोजक काठमाडौँ महानगरपालिका वडा नंम्वर ६ का र बौद्धनाथ क्षेत्र विकास समितिका रहेका छन् । कार्यक्रमको मुख्य संयोजक बौद्ध कल्याण तामाङ कल्याण गुठीले गरेका हुन् ।
झाँकी सहितको जात्रामा बौद्ध परिसरबाट रोपाई सुरु गरेर बौद्ध परिक्रमासँगै बौद्ध पिपलबोटदेखी टुसालसम्म पुगेको थियो । बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गर्दछन् ।
गाईजात्रा तथा रोपाई जात्रा मूल समारोह समितिमा ओम तामाङ सुख दुःख सेवा गुठी, छोरडान महिला समाज, सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र र तीनचुली भज्यु गुठी रहेका छन् । यस्तै अन्यमा खास्ती नेवा पुचः, बौद्ध फुटबल क्लब, टुसाल युवा क्लब, स्तुपा युवा क्लब, सितोरियो कराँते डोजो शाखा, आनन्दपुर महिला समाज, चुच्चेपाटी दिदीबहिनी समूह, बौद्ध एकल महिला समूह, ह्युल्सा महिला र बिहानी महिला समूह रहेका छन् ।
त्यस्तै, प्राचीन अनुवाद एकमात्री समाज, लर्डबुद्ध सेकेण्डरी स्कुल, बौद्ध पिपलबोट युवा क्लब, बौद्ध सरसफाइ केन्द्र, बौद्ध सेकेण्डरी स्कुल, अरुणिमा उच्च मावि, कुमारी उच्च मावि, महेन्द्र बौद्ध माविलगायतका २३ वटा सङ्घसंस्थाहरू मूल समारोहका सदस्य रहेका छन् ।
जात्रा मनाउन ६ नं वडा कार्यालय १५ लाख र बौद्धनाथ क्षेत्र विकास समितिले ५ लाख नगद आर्थिक सहयोग उपलब्ध गराएको छ ।
गोनाई जात्राको अवसरमा रोपार, बाउसे, हलगोरु, झाँकी, हास्यव्यङ्ग्य, ख्याली, लाखे, घोडा, बाल रोपालु र बाल बाउसे गरी १० विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रथम हुनेलाई १०, द्वितीयलाई ७, तृतीयलाई ५ र सान्त्वना पुरस्कार २ हजार ५ सय नगद पुरस्कार सहित पदक, प्रमाणपत्र र ट्रफि प्रदान गरिएका छन् ।
विविध १० विधामा हुने प्रतिस्पर्धाको निर्णायक संयोजकमा वरिष्ठ पत्रकार तथा समाजसेवी वीरबहादुर लामासहित १० जना रहेको समिति गठन गरिएको छ । मूल समारोहको प्रवक्ता सम्पूर्ण कुमार लामा र टसी कुमार लामा रहेका थिए ।
समितिको प्रचारप्रसार संयोजक चन्द्रजीत लामा रहेका छन् ।
किसानलाई फुर्सद भएकाले रोपाइँ जात्रामा कामको थकान मेटिने मनोरञ्जन हुने व्यङ्ग्य गर्ने, राजा, रानीको रूपजस्तो श्रीपेच लगाएर घोडा चढेर आउने झाँकीले त्यस बेला राजादेखि प्रजासम्मले रोपाइँ जात्रा मनाइने गरिन्छ । विशेषतः तामाङ, तामाङ, शेर्पा, गुरुङ, नेवार र अन्य जातिहरू समेत यसमा सहभागी हुन्छन् । धा बाजा, लाखे नाच, मकुन्डोको प्रयोग आदिले रोपाई जात्रा तान्त्रिक, धार्मिक, सांस्कृतिक महत्वको जात्रा बनेको संस्कृतिविद्हरूको भनाइ छ ।
प्रताप मल्लको पालाबाट बनाइँदै आएको रोपाई जात्रालाई आफूहरूले निरन्तरता दिँदै आएको स्थानीयहरूको भनाइ छ ।