साढे आठ वर्षपछि तातोपानी नाका खुल्दा: स्थानीय खुसी, व्यवसायी भन्छन्–सरकारले एलसी लागू नगर्दा मनपरी शुल्क लिने गरेको छ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
56 Shares
काठमाडौं

नेपाल–चीन उत्तरी सीमा तातोपानी नाका आजबाट मानिसहरूका लागि आवतजावत खुला भएको छ । साढे आठ वर्षपछि मानिस आवतजावतका लागि सुरु भएको हो । यससँगै तातोपानी लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएकाहरू आज चीन प्रवेश गरेका छन् । आज बिहान ८ बजे सिन्धुपाल्चोक सीमा क्षेत्रका बासिन्दाहरूका १ सय २८ पास जारी भएको छ भने कतिपय नेपाली नागरिक  चिनियाँ भगको पुल बजारसम्म पुगेका छन् । चीन प्रवेश गरेका केही नेपालीहरूले भने फर्कँदा आवश्यक पर्ने घरायसी सामन लिएर आएका छन् ।

शुक्रवार चीनतर्फ जान १ सय २८ जनाको  पास जारी भएको अध्यगमन कार्यालयले जनाएको छ । सीमा क्षेत्रमा बस्ने नेपाली र चिनियाँ १ सय ८ जना नेपाल आएका छन् । त्यस्तै पासपोर्ट प्रयोग गरेर नेपालतर्फ दुई जना आएका छन् भने नेपालबाट तीन जना चीन गएका छन् । विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबिचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठुलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्पबाट सृजित कठिनाइ पन्छाएर सिमितरुपमा मात्रै सञ्चालन भएको नाका वि.सं. २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि पुनः बन्द भएको थियो । नाका खुलेसँगै सीमा क्षेत्रका स्थानीय र व्यवसायीमा खुसी छाएको छ । चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ ९१ मे० बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुले लगत्तै नेपाल सरकारले नाका खोल्न कूटनैतिक पहल गर्दै आएको थियो । केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबिच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । नाका खुलेसँगै सीमा क्षेत्रका स्थानीय र नाकाबाट व्यावसायि गर्नेहरू खुसी भएका छन् । चिनियाँपक्षले आफ्नो भगको पुल बजारमा पसलहरू समेत सञ्चालन गरिसकेका छन् । नाका खुलेपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै तातोपानी नाकाका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले चिनियाँ पक्षले नेपाल जोड्नका लागि यो नाकालाई उच्च प्राथमिकता दिएकाले क्रमिक रूपमा पूर्ण रूपमा सञ्चालन हुने सन्देश दिएको बताए । उनले पर्यटक भिसामा आउनेलाई ल्हासासम्मै जान दिने र स्थानीयलाई बिस्तारै खासा बजारसम्म जान दिने बताए। उनले खासामा व्यवसायीहरूलाई गोदाम राख्न नदिने, कारणले व्यापारीलाई सामान लोड गर्न जान नदिएका कारण व्यापारमा खासै ठुलो असर नपर्ने बताए । उनले खासासम्म सामान लोड गर्न व्यवसायी र ट्रक कन्टेनरहरूलाई जान दिँदा धेरै नै सहज हुने बताए । तिब्बतमा नेपाली सामानको माग बढ्दै जाँदा निर्यात बढ्दै जाने बताए । चिनियाँ पक्षको सकारात्मक पहल भइरहेकाले हल्लामा मात्रै नभई वास्तविक रूपमा नै नाका सुसञ्चालन हुने आशा गरेको बताए ।

त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विष्णुबहादुर खत्रीले व्यवसायीहरूले धेरै पहल गर्दा पनि दुई देशबिचको छलफल राम्रो नहुँदा नाका खुल्न नसके पनि अहिले पुनः सञ्चालन हुँदा खुसी लागेको बताए । उनले नाका सुसञ्चालन हुनेमा ढुक्क रहेको र यसले पर्यटकका लागि सहज भएको बताए । उनले सबै कुरा व्यवस्थित भएपछि स्थानीयले सामान ल्याएर व्यापार गर्ने स्थिति सिर्जना भएको बताए । व्यापारीहरू चीनबाट सामान ल्याउँदा व्यवसाय उक्सिने र व्यवसाय गरेरै जीवनयापन गर्न सक्ने स्थिति बन्ने बताए । उनले सरकारले मूल्याङ्कनको हिसाबमा आउनुपर्ने सामान (एलसी) बाटै सामान आउनुपर्ने बताउनु भयो । नेपाल सरकारले मनपर्दी रूपमा मूल्याङ्कन राखेको बताए ।

त्यस्तै नेपाल ट्रक कन्टेनर ढुवानीका अध्यक्ष अर्जुनबहादुर सापकोटाले आठ वर्षपछि आफै चीनमा गएर सामान किनेर आएको र अब दैनिक रूपमा जान पाउने कुराले खुसी बनाएको बताए । उनले नेपाल र चीन सरकारले बिस्तारै नाका खुलाउँदै जाँदा व्यापार, व्यवसाय सहज बन्ने बताए । उनले कन्टेनर चीनको खासा बजारसम्मै पुग्न नपाउँदा केही कठिनाइ भएको बताए । उनले पहिलाकै अवस्थामा नाका सञ्चालन हुन नेपाल सरकारले आफ्नो भूमिका निभाउनुपर्ने र सरकारले यो बिचमा आवश्यक पहल नगरेको बताए ।

त्यस्तै व्यवसायी दोर्जे लामाले स्थानीयलाई नाका खुलेपछि धेरै सहज हुने बताए । उनले अबबाट स्थानीयहरू जो कोही पनि नाकापारी गएर सामान किन्न पाउनुपर्ने बताए । उनले स्थानीयहरूलाई विशेष सुविधा दिनुपर्ने बताए ।

उनले तत्कालका लागि सामान किनेर ल्याउन पाउने र आफ्नो गुजारा चलाउन पाउनुपर्ने बताए । उनले नाका खुलेसँगै स्थानीयलाई धेरै सुविधा हुने विश्वास व्यक्त गरे ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका