बदलिँदै छ थारु संस्कृति

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
224 Shares
काठमाडौं

समय र पुस्ता अनुसार अहिले थारु संस्कृति बदलिँदै गएको थारु समुदायका व्यक्तित्वहरूले बताएका छन् ।

ललितपुरस्थित होटेल हिमालयमा शुक्रवारदेखि जारी काठमाडौँ कलिङ साहित्य महोत्सवको दोस्रो संस्करणमा बदलिँदो थारु संस्कृतिका विविध पक्षबारे छलफल गर्ने क्रममा लेखक तथा अधिवक्ता शान्ति चौधरी, थारु संस्कृति अध्येता कृष्णराज सर्वहारी र रङ्गकर्मी सरस्वती चौधरीले ‘थारु संस्कृति : हिजो र आज’ अन्तरक्रियामा थारु संस्कृतिबारे आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार बुनु थारुले गरेकी थिइन्।

अधिवक्ता शान्ति चौधरीले थारु समुदाय विगतभन्दा उदार बन्दै आएको धारणा राखिन्। पहिला अशिक्षा, अन्धविश्वास र रूढिवादी परम्परा रहेको अनुभव सुनाउँदै उनले भनिन्, ‘काठमाडौँमा छँदा मैले सबै सेवा सुविधा पाएँ। तर, मेरो परिवारले थारु चलन परिवर्तन गर्न सकेन। उहाँहरूले बाराकै केटासँग मेरो बिहे गरिदिनुभयो। त्यहाँ गएर निकै दुःख भोग्नुपर्‍यो। शौचालय पनि राति जानुपर्ने। सबैले नखाएसम्म खाना खान नपाइने। तर, अहिले त्यस्तो छैन।’ पछिल्लो समय थारु समुदाय र अन्य समुदायबिच संस्कृति आदानप्रदान हुँदै गइरहेको उनले बताइन्।

‘पहिले थारुहरू अरू समुदायसँग घुलमिल हुँदैन थिए। आफ्नो समुदायभित्र रमाउने हुँदा संस्कृति पनि उनीहरूबिच सीमित थियो। खेतीपातीमा निर्भर हुने उनीहरू अशिक्षित थिए’, उनले भनिन्, ‘तर, आधुनिक र वैज्ञानिक युगले गर्दा थारु संस्कृति र अन्य संस्कृतिबिच आदानप्रदान भएको छ। उनीहरू छोरीलाई पढाउने भएका छन्। रूढिवादी परम्परा पनि हराउँदै गएको छ।’

अर्का वक्ता सर्वहारीले थारु समुदायभित्र पनि विविधता रहेको बताउँदै पूर्वी नेपाल र पश्चिम नेपालका थारुहरूको फरक संस्कृतिबारे प्रकाश पारे। उनले पूर्व र पश्चिमका थारुको संस्कृति फरक भएकैले पाठ्यक्रम निर्माणमा समस्या भएको बताए। ‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई थारु भाषा लागू गर्नुपर्छ भनेर सरकारले सिफारिस गरेको छ। विडम्बना, कैलाली जिल्लाको एउटा गाउँपालिकाबाहेक कसैले पनि लागू गरेको छैन। कैलालीले एक कक्षामा राखे पनि निरन्तरता दिएको छैन। एकदेखि पाँच कक्षासम्मको जनक शिक्षामा म पनि लेखक हुँ। त्यसमा पूर्वको एउटा र पश्चिमका थारुको भाषा फरक हुँदा पनि पाठ्यक्रम निर्माणमा समस्या आएको छ,’ उनले भने।

थारु लेखक सङ्घ बनाएर थारु संस्कृति र साहित्यको संरक्षणमा योगदान गरिरहेको सर्वहारीले बताए। पूर्व र पश्चिमका थारु समुदायको भाषा र संस्कृतिमा विविधता छ। तर, मधेसी समुदायमा बस्ने हुँदा पूर्वको थारुहरूले भोजपुरी संस्कृति अपनाएको आरोप लाग्ने गर्छ। शान्ति भने पूर्वीय थारुहरूले कसैको संस्कृति ग्रहण नगरेको बताउँछिन्। थारु संस्कृतिको विकासमा राज्य अग्रसर हुनुपर्ने बताउँदै थारु भाषालाई पाठ्यक्रममा समेट्नुपर्ने उनको भनाइ छ।

सरस्वती चौधरीले कला र रंगमञ्चले थारु संस्कृतिको विस्तारमा सहयोग गरे पनि नाटकमा भने काम गर्न नसकेको बताइन्। थारु समुदायमा एकता नहुँदा पहुँचमा पुगेका थारुहरूको पनि साथ नपाएको उनको दुखेसो छ।

महोत्सवमा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र भुटानका तीन सय जना लेखक तथा स्रष्टाहरू सहभागी भएका छन् । महोत्सव आइतबारसम्म जारी रहनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया