राजनीतिक रूपान्तरण पश्चात् आर्थिक र सामाजिक रूपान्तरणको सङ्घारमा उभिएको दुई ठुला मुलुकहरूको बिचमा आफ्नो अस्थित्वलाई शताब्दीऔंदेखि जोगाई राख्न तल्लीन नेपालको निम्ति अब भने विश्व र नजिकैको छिमेकीहरूबाट विकासको ढाँचा बुझ्न जरुरी देखिन्छ । राष्ट्र र राष्ट्रियता तबमात्र बलियो हुनेछ, जब हामीले चीन र भारतबाट विकासमा मारेको छलाङलाई आत्मसाथ गर्दै यो मुलुकको समृद्धिको निम्ति हातेमालो गर्नेछौँ । हामीले फोहोरी राजनीतिक खेलको लागि धेरै भन्दा धेरै समय त खेरा फालेऔं तर आर्थिक उन्नतिको बारेमा एक मिनेट पनि छुट्याउन सकेनौँ ।
यही विषयलाई मध्यनजर गर्दै गत भदौ १६ गते शनिवारको दिन फाउन्डेसन फर ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिजले काठमाडौँमा ‘विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा नेपालको लागि चिनियाँ राजदूत छन् सोङ्ले नेपालमा चीन सरकारले निर्माण गरेका विकासका पूर्वाधारहरू जस्तै: ड्राईपोर्ट र बन्दरगाहको विषयमा प्रश्न उठाएका थिए । यो जायज पनि थियो किनकि एक असल छिमेकीको नाताले हामीलाई गरेको सहयोगबाट कुनै फाइदा हामीले उठाउन सकेनौँ । त्यसका निम्ति पर्याप्त अध्ययन र अनुसन्धान गर्न नसकेकै हो । विश्वलाई वस्तु तथा सेवा आपूर्ति गर्ने चीनको नजिकै हामी हुँदा पनि त्यहाँबाट हामीले आर्थिक प्रगतिको पाठ सिक्न सकेनौँ ।
भनिन्छ नि पुस्तकालय धाउने सबै विद्धान हुँदैन भन्ने । त्यो व्यक्ति मात्र विद्धान कहलिन्छ, जो पुस्तकालय पुगेर त्यहाँ भएको किताबको अध्ययन गर्दछ । हामी कृषिप्रधान मुलुक त भन्छौँ तर कृषि उत्पादन भने नगण्य रहेको हाम्रै तथ्याङ्कहरूले देखाइरहेको छ । यो विषयमा छिमेकीको नाताले कटाक्ष गर्नु हामीलाई होच्याउने भन्दा पनि विकास र समृद्धको लागि हातमा हात मिलाएर अघि बढौँ भन्ने सन्देश हो जस्तो लाग्छ । नेपालले कृषिजन्य वस्तु तथा सेवाहरू निर्यात गर्न सके त्यसको पहिलो बजार चीन नै हुनेछ भन्दै हाम्रो बजारको फाइदा उठाउन पनि चिनियाँ राजदूत सोङ्ले स्पष्टसँग बोलेका छन् । ‘ठिक बेला ठिक निर्णय’ गर्न सके उत्तरी छिमेकी राष्ट्र हाम्रै हितमा छ भन्ने स्पष्ट सन्देश दिएकै हो । आजको आधुनिक चीन बन्न विगतको तरल राजनीतिक अवस्थालाई दुई दशकसम्म गोप्यरुपले राजनीतिक, आर्थिक र सामाजिक व्यवस्थामा गतिलो जग बसाउने गृहकार्य गरेपछि मात्रै अपनाइएको खुलापनको नीतिबाट लाभ लिन सकिएको उल्लेख गरेका थिए ।
नेपालको तर्फबाट बोल्ने क्रममा वर्तमान प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रियतालाई मुख्य प्राथमिकतामा राख्दै विदेशी सहयोगहरूलाई जनताको हितार्थ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । अमेरिकी सहयोग एमसीसीमा देखिएको विवादास्पद कुराहरूले जनतामा दिग्भ्रमित तुल्याउँदै राष्ट्रियता नै खतराको दिशा उन्मुख हुनु भनेको अब हामीले पनि फिल्टर गरेर मात्र विदेशी सहयोगहरू लिनुपर्छ भन्ने उनको आशय थियो । ‘कतै एमसिसी जस्तै विवादमा बीआरआई फस्ने त होइन भन्दै सबैजना यो विषयमा सचेत हुनुपर्छ’ उनले भने । उनको भनाइको तात्पर्य यो मुलुक शक्ति राष्ट्रहरूको क्रीडास्थल नहोस् भन्ने मै थियो । यस अर्थमा चीन र भारतको आर्थिक प्रगतिबाट फाइदा लिने क्रममा नेपाललाई अवसर र चुनौती दुवै रहेको स्पष्ट हुन्छ ।
नेपालमा अहिले देखिएको चीन र भारतको प्रभावलाई सन्तुलित ढङ्गले कायम राख्दै हाम्रो आर्थिक आत्मनिर्भरताको मार्ग कस्तो हुनुपर्छ भन्नेबारे बहस हुनुपर्ने जिकिर गरे । त्यसबाहेक, मुलुकमा राजनीतिक परिवर्तन आए पनि कृषि वस्तुमा बाह्य निर्भर हुनुपर्ने, दक्ष जनशक्ति बाहिरिनुपर्ने अवस्था, उद्योगधन्दाहरू बन्द हुँदै गएको अवस्थालाई अन्त्य गर्न गम्भीर भएर सोच्नुपर्ने उनले बताए ।
‘सुखी नेपाली, समृद्ध नेपाल’को आकाङ्क्षामा केन्द्रित भएर गरिएको उक्त कार्यक्रमको अध्यक्षता पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले गरिएको थियो भने कार्यक्रममा सहभागी अन्य वक्ताहरू चीनका लागि नेपालका पूर्वराजदूत महेन्द्र बहादुर पाण्डे, डा.भरत पोखरेल, डा. कल्याण रोक्का, पूर्वपरराष्ट्रमन्त्री डा. बिमला राई पौडेल र सार्वजनिक लेखा समितिका सभापति माननीय ऋषि पोखरेल, बागमती प्रदेशको उपसभामुख अप्सरा चापागाईँ विशेष धन्यवादका पात्रहरू थिए ।
आगामी दिनहरूमा नेपालको आर्थिक-सामाजिक रूपान्तरणको निम्ति आर्थिकलाई केन्द्रबिन्दु बनाएर गरिएका कार्यक्रमहरू फाउन्डेसन फर ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिजले सञ्चालन गर्दै जाऔंस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छौँ ।