‘अबको पत्रकारितामा साहित्यिक चेत चाहिन्छ’

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
91 Shares
काठमाडौं

नेपाल मात्र नभई संसारभरि पुस्तक लेखनलाई गन्तव्य बनाउने पत्रकारको सङ्ख्या धेरै छ। के राम्रो पत्रकार बन्न लेखक तथा किताब निकाल्ने उद्देश्य नै राख्नुपर्छ त? ‘सूर्य नेपाल कलिङ साहित्य महोत्सव’को तेस्रो दिन ‘साहित्य प्रवर्द्धनमा पत्रकारिताको भूमिका’ विषयमा भएको अन्तर्क्रिया एक जना सहभागीले सोधेको प्रश्न हो यो।

शुक्रवारदेखि सुरु भएको ‘सूर्य नेपाल कलिङ साहित्य महोत्सव’को अन्तिम दिन ‘साहित्य प्रवर्द्धनमा पत्रकारिताको भूमिका’ विषयको छलफल सत्रमा सहभागी तीन वर्तमान निवर्तमान वक्ताले पनि साहित्यलाई नै उच्च महत्त्व दिए।

सञ्चारकर्मी अच्युत घिमिरेले सहजीकरण गरेको छलफलमा पत्रकारिता र पुस्तक लेखनमा सक्रिय बबिता बस्नेत, शेखर खरेल र अखण्ड भण्डारी वक्ता थिए।

भाइरल कन्टेन्टले बजार लिएको अहिलेको अवस्था नै सङ्क्रमणकालीन रहेको जनाउँदै भण्डारीले अबको पत्रकारितामा साहित्यको चेत हुनुपर्ने बताए। ‘हामी संक्रमकालीन अवस्थामा छौँ। गहनभन्दा भाइरल र चटपटे कन्टेन्ट बढी जान थाले’, उनले भने,‘सामाजिक सञ्जालमा आएका कुरा नै अहिले पढिन थाल्यो। अहिलेको हार्ड न्युजको ठाउँ यसैले लिएको छ।’ अबको पत्रकारितामा फरक ढङ्गबाट पाठकको मन छुने हुनुपर्ने सुनाउँदै उनले अब साहित्यको दर्जा माथि हुने बताए। ‘समाचार लेखेर एउटा पत्रकार सेलीब्रेटी नबन्न सक्छ तर एक जना साहित्यकार सेलिब्रेटी हुन सक्छ’, उनले साहित्यको महत्वलाई उठान गरे।

साहित्यले पार्ने प्रभाव पत्रकारिताले पार्ने प्रभावभन्दा कम नरहेको लेखक तथा पत्रकार बस्नेतको धारणा छ। पत्रकारिता र साहित्य दुवैको आफ्नै महत्त्व रहे पनि साहित्य सिर्जनामा आफ्नै मन र मस्तिष्क समेटिने उनले खुलाइन्। उनले भनिन्,‘पत्रकारितामा बाहिरी परिवेश हुन्छ। तर साहित्य आफ्नै परिवेश र मेरो सिर्जना हो। यसमा आफ्नै मन र मस्तिष्क हुन्छ। पत्रकारिताभन्दा साहित्य सिर्जना प्यारो हुन्छ।’

नेपालको छापा माध्यमको इतिहास र पत्रकारितालाई हेर्दा साहित्यिक पत्रकारिता नै अगाडि आएको देखिन्छ। अहिले पत्रकारितामा साहित्य, कला र सिर्जनाको पाटोलाई न्यून स्थान दिएको पाइन्छ। पत्रकारिता पेसागत र कर्पोरेटसँग जोडिएर जाँदा साहित्यभन्दा राजनीति, आर्थिक, खेलकुदजस्ता विधागत समाचारहरूले बढी ठाउँ पाउँदै आएको छ। विधागत रूपमा भाग लगाउँदै जाँदा साहित्यका समाचारहरूले कम नै स्पेस पाएको भण्डारीले स्वीकार गरे। दैनिक ब्रोडसिटहरुमा कस्तो कन्टेन्टलाई ठाउँ दिने र कसरी ल्याउने भन्ने कुरा सम्पादकमा निर्भर रहने लेखक खरेलले बताए। यद्यपि नारायण वाग्ले, किशोर नेपाल जस्ता धेरैजसो सम्पादकको पृष्ठभूमि साहित्य नै रहेको उनले जोडे।

पत्रकारिता र साहित्यबिच अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै भण्डारीले साहित्यभन्दा राजनीतिक गतिविधिहरू बढी हुँदा साहित्यिक समाचारहरू ओझेल परेको बताए। उनले पत्रकारिताले साहित्यलाई स्थान दिएको जिकिर गरे। उनले भने, ‘कुन कुरा छाप्ने र नछाप्ने भन्ने कुरा निर्धारण गुणस्तरबाट हुन्छ। कहिलेकाहीँ चाहेजस्तो रचना पाइरहेको हुँदैन। कसको कुरा छाप्ने र कहिलेसम्म नछाप्ने भन्ने सिन्डिकेटका कुरामा हामी सचेत गराइरहेका हुन्छौँ।’

पत्रकारिता गर्न फिल्डमै जानुपर्छ। यो रियालिटी बेस नै हुनुपर्छ। पत्रकारितामा देखेको कुरा साहित्यमा ढाल्न भने मन दुखाउनुपर्ने बताउँदै बस्नेतले साहित्यलाई भावनासँग जोडिन्। ‘पत्रकारिता गर्न तालिम लिएर गर्न सकिन्छ। तर तालिम लिएर साहित्यकार भएको कतै सुनिएको छैन। एक जना साहित्यकारले ब्रह्माण्ड भ्याइदिन सक्छ।’ पत्रकारितालाई सङ्ग्रह गरी राख्न पनि साहित्यले सघाउने उनको मत छ।

कुमार नगरकोटी, नयनराज पाण्डेजस्ता साहित्यिक स्रष्टाहरू साहित्य क्षेत्रमा मात्र छन्। ठुला ब्रोडसिटहरुले साहित्यलाई ठाउँ दिइरहेको छ। यसलाई खुसीको रूपमा लिनुपर्ने बताउँदै खरेलले साहित्यको स्तरमाथि उठ्ने आशा व्यक्त गरे। पत्रिका छापियो तर पुर्‍याउन गाह्रो भएको अवस्था अहिले छ। छाप्न र पुर्‍याउन गाह्रो अवस्थाले साहित्यिक पत्रपत्रिकाहरू टिक्नै नसकिरहेको अवस्थालाई उनले इङ्गित गरे। आर्थिक र कर्पोरेटसँग जोडिएपछि कठिन भएको साहित्य पत्रकारितालाई नेपाल बाहिर पनि गाह्रै छ।

‘साहित्यमा जीवन्त वर्णन हुन्छ। फिचर लेखहरूमा साहित्यका धेरै तत्त्वहरू आएका छन्। सहानुभूति र दारुण कथाहरू पनि आएका छन्। यसमा सूचना र समवेदना दुवै आउन सक्छन्। यो पत्रकारको खुबी र क्षमतामा भर पर्छ’, उनले भने। यसैमा भण्डारीले साहित्यलाई कथिक कलाका रूपमा लिए। बस्नेतले भने पत्रकारितामा अहिले समालोचनाको काम अलि कम भएको सुनाइन्। उनका अनुसार साहित्यलाई दिने स्पेस एकदमै कम रहे पनि अहिले आफ्नो कुरा आफैं राख्ने सामाजिक सञ्जालहरू छन्। मनका कुरा आफैं डायरीमा थन्काउनुपर्ने अवस्था छैन। ‘पत्रिकाले महत्त्व नदिए पनि अहिले स्पेसको खाँचो छैन । महिनौँ कुर्नुपर्ने अवस्था पहिले जस्तो छैन’, उनले भनिन्।

पत्रकारितामा लेखेका कुरा बालुवामा लेखेजस्तो भए पनि साहित्यमा संग्रहणीय हुने वक्ताहरूले सुनाए।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका