अपर तामाकोशीको हकप्रद शेयर खुल्ला‚ पायक पर्ने बैंकहरुबाट आवेदन र अनलाइनबाट पनि भर्न सकिने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
1.2k Shares
काठमाडौं

अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आज (भदौ १८ गते) देखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्दै छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको शत प्रतिशत अर्थात् १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

यसअघि माथिल्लो तामाकोसी शेयर खरिद गरेका कम्पनी तथा दोलखाली सहित सबै सर्वसाधारणका लागि  हकप्रद शेयर खुल्ला गरिएको हो । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माणमा लगानी गरेका जिल्लाका नागरिकहरूले पुनः सोही कम्पनीको हकप्रद शेयर भर्ने अवसर पाएका छन् ।

लगानीकर्ताहरूले आजदेखि असोज ७ गते सम्म हकप्रद शेयर भर्न पाउनेछन् । कम्पनीले दोस्रो चरणमा निर्माण लक्ष्य लिएको रोल्वालिङ खोला जलविद्युत आयोजनाका लागि माथिल्लो तामाकोसी शेयर लगानी गरेका साबिककै लगानीकर्ताहरूबाट १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयरको माध्यमबाट रकम सङ्कलन गरी वित्तीय व्यवस्थापन गर्न लागेको हो ।

अपर तामाकोसी हाइड्रोपावर कम्पनीले दोलखामा रहेको २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण गर्न कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद विक्री गर्न खोजेको हो । कम्पनीको हाल कायम चुक्तापूँजी १० अर्ब ५९ करोड रहेको छ । सोही बराबरको प्रति शेयर रकम १०० अङ्कित दरले १० करोड ५९ लाख कित्ता साधारण शेयरको हकप्रद बिक्री खुला गरिएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह–बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले माथिल्लो तामाकोसी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैङ्क, प्रभु बैङ्क, सिटिजन्स बैङ्क, सिन्धु विकास बैङ्क, कृषि विकास बैङ्क, नेपाल बैङ्क, महालक्ष्मी विकास बैङ्क, कुमारी बैङ्क, सिद्धार्थ बैङ्क, हिमालयन बैङ्क, प्राइम कमर्सियल बैङ्क तथा सानिमा बैङ्कका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सकिनेछ ।

साथै, लगानीकर्ताहरूको सहजताका लागि जिल्लास्थित पालिकाहरूमा स्थानीयस्तरबाटै हकप्रद शेयर भर्ने, डिम्याट खाता खोल्ने र शेयर अभौतिकीकरण गर्ने व्यवस्था गरिएको छ । त्यसैले जिल्लाका नागरिकहरूले तोकिएको अवधिमा सम्बन्धित वडामा गएर आवेदन गर्न सक्नेछन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका