एसिया कप क्रिकेटमा नेपालले बलियो टेष्ट मुलुक भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । इच्छा शक्ति भएको खण्डमा आर्थिक हिसाबले गरिबै भए पनि विश्वको जुनसुकै मुलुकलाई चुनौती दिन सकिदोँरहेछ भन्ने एक गतिलो नजिर क्रिकेट खेलाडीहरूले स्थापित गरिदिएको छ । यस्तै पाठ नेपालका राजनीतिक दलहरूले लिन सके भारतको अगाडी लम्पसार पर्नु पर्दैनथ्यो होला । तर, हली र दासत्व मानसिकता बोकेकाहरू देश र समाज बनाउन हिँड्दाको परिणाम आज इतिहासमा नहारेको मुलुक एकपछि अर्को गर्दै लज्जास्पद स्थितिमा पुगेको छ ।
अब युवा खेलाडीहरूबाट केही भए पनि सिकौँ । बाह्य परिवेशले केही असर त गर्ला तर चुनौतीमाथि जीत हात पार्न हामीभित्रै भएको दृढ शक्तिले काम गर्ने हो । भारतको अघि हारको मानसिकता लिएर हिँड्ने हाम्रै पुस्तौंदेखीको राजनीतिक सोचले गर्दा आज हामी राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले पछि परेका हौँ । जसरी हाम्रा क्रिकेट खेलाडीहरूले भारतको सामु दमदार प्रस्तुति दिए, त्यही शैली अहिलेको राजनीतिक क्षेत्रमा पनि चाहिएको छ । त्यस्ता साहसिक मुटुको खोजीमा नेपाली समाज वर्षौँदेखि कुरिरहेको छ । न हामी इतिहासमा भारतको सामु शिर झुकाएका थियौँ न त झुकाउने निकम्मा सोच नै राख्न सक्छौँ । खेल हो तलमाथि हुन्छ तर उनीहरू र हाम्रा खेलाडीको स्तर आकाश जमिनको फरक छ । तैपनि आँट र साहस बटुलेर हिँडेका हाम्रा खेलाडीहरूले पनि त्यो स्तरको प्रदर्शन गर्नु चानचुने विषय होइन ।
मूल कुरो र नीतिहरूको राज राजनीति हो, जहाँ सबै विषयहरू ठोकिन आउँछन् । त्यो सञ्चालन गर्ने अहिलेका दलहरूमा नेपाली राष्ट्रियता र समाज बुझ्ने नेतृत्वको कमी भएकै हो । भारतले हिँडाएको कुमार्गमा होइन, आफ्नै मौलिकताको सुमार्गमा नारिन जरुरी देखिन्छ । अरूको निम्ति होइन, आफ्नै मुलुक र जनताको भलाई निम्ति राज्य सञ्चालन हुनु परेको छ । विगतको एकात्मक र सामन्ती शासन व्यवस्था त जनताले परिवर्तन गरे तर, ती परिवर्तित समाजमा आज भारत लगायतका विदेशी शक्तिहरूले खुलमखुला राज गर्दै आएको वास्तवमा विद्यमान राजनीतिक दलहरूको अदूरदर्शीको कारणले नै हो । ‘विदेशी मोटाउने, जनता दुब्लाउने’ यो महामारी रोग फैलाउने अन्य कारणले नभई हाम्रै नेतृत्वको सत्ता मोहले भूमिका खेलेको छ । अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडनको विरुद्ध राजनीतिलाई अस्त्रको रूपमा लिनु पर्नेमा आगोमा घ्यु थप्दै जनतालाई जनताकै शासन व्यवस्था भनिने लोकतन्त्रमै सुकुम्वासी बनाउने खेलको अन्य हुनुपर्छ ।
हो, केहिहदसम्म जनचेतनाको कमीले गर्दा पनि हामीले भन्न खोजेका र गर्न खोजेका नेतृत्ववर्गलाई निर्णायक तहमा पुर्याउन नसकिएका होलान् तर, राष्ट्रघाती र जनघातका श्नृंखलालाई पूर्णविराम लगाउनु पर्नेमा ढोक खुल्ला गरिदिनु पक्कै पनि जनता र दलहरूबिचको तिक्तता बढ्दै जानु हो । यस्तै प्रवृत्ति हाबी हुँदै गएको खण्डमा प्राप्त राजनीतिक उपलब्धिहरू माथि कै खतरा हो, जहाँ हिजोका शोषक र सामन्तीवर्गहरु आफ्नो शिर उठाउन तल्लीन रहेका छन् । व्यवस्था परिवर्तन भएसँगै सामाजिक रूपान्तरण हुँदैन । त्यसका निम्ति जनचेतना पनि परिवर्तन हुनुपर्छ । त्यो जनचेतना नयाँ युगको आरम्भसँगै परिवर्तन हुन, हाम्रा हिजोका सङ्कीर्ण सांस्कृतिक सोचमा त्यागको विकास हुनुपर्यो ।
नयाँलाई ग्रहण, पुरानालाई अधिग्रहण गर्न सक्ने हिम्मत हामीले जुटाउनु पर्यो । त्यो तब मात्र सम्भव हुन्छ जब हाम्रा राजनीतिक कोर्स समाज र मानव कल्याणको निम्ति दिशानिर्देश हुन्छ । हिजोका ती भ्रष्ट र अन्यायपूर्ण कुकार्यहरूमाथि प्रहार गर्दै भावनात्मक सम्बन्धले होइन कि प्रगतिशीलताको नाताले दलहरूप्रति कार्यकर्ताहरूले पनि विश्वास गर्नुपर्यो । समयको परिवर्तनसँगै जनमुद्दाहरू पनि परिवर्तन हुँदै जानु यो प्रकृतिको नियमै हो । तसर्थ, हाम्रा सम्बन्धहरू पनि त्यही हिसाबले स्थापित हुँदै जानुपर्यो । राष्ट्रियताको सवालमा बहुमत होइन, एकमत भएर अघि बढौँ । विदेशीको इसारामा होइन, जनबिचारको मार्ग निर्देशमा राज्य सञ्चालन होउन् ।