नेपाल तामाङ कलाकार सङ्घको १६ औँ साधारण सभा र ८ औँ अधिवेशन आउँदो शनिवार (भदौ २३) हुँदै छ । कलाकारहरूको साझा सङ्गठन सङ्घका अध्यक्षमा अहिले सङ्गीतकार एवं गायक विश्व दोङले नेतृत्व गरिरहेका छन् । दोङको अध्यक्षतामा यसअघि सातौँ अधिवेशनबाट २१ सदस्यीय कार्यसमिति गठन भएका थिए । अध्यक्ष दोङको अबको केही दिनबाट कार्यकाल सकिँदै छ । उहाँसँग सैलुङअनलाइनले गरेका कुराकानीको अंश:
तामाङ कलाकार सङ्घलाई नेतृत्व गरिरहँदा तपाईँको कार्यकाल कस्तो रह्यो ?
सर्वप्रथम धन्यवाद । कार्यकाल उपलब्धिमूलक रह्यो । जसमा केही सिक्ने र बुझ्ने अवसर र चुनौतीपूर्ण रह्यो । समग्रमा सम्मिश्रण रह्यो । सामाजिक हिसाबले एउटा समुदायको कलाकारिता क्षेत्र संस्था भएकोले जिम्मेवारी अलि बढी नै रह्यो । केही नयाँ र नौलो तर समग्रमा अनुभव मिठो रह्यो भन्न सकिन्छ ।
तपाईँको कार्यकालमा सङ्घलाई अगाडि बढाउने तपाईँको कार्ययोजनाहरु कति सफल भए र तपाई कति सन्तुष्ट हुनुभयो ?
मेरो कार्यकालमा अचम्मै लाग्दो कामहरू चाहिँ भएन । मौलिक तामाङ सेलो सङ्गीतलाई अगाडि बढाउनका निम्ति ‘मौलिक सेलो फेस्टिभल’ म अध्यक्ष हुनु अगावै मेरो नेतृत्वमा सुरु भएका हो । त्यो निरन्तर छ र हुनेछ । तामाङ इतिहास रच्ने गीतसङ्गीतका धरोहरहरूलाई सम्झनाका निम्ति योगदान दिनुहुने अग्रजहरूको नामबाट ‘स्वर्गीय योगिता मोक्तान प्रतिभा पुरस्कार’ स्थापना गर्यौं । नयाँ पुस्तालाई प्रोत्साहन दिन पुरस्कारले महत्त्व राख्दछ । यो वार्षिकरुपमा प्रदान गर्दै हुन्छ । सामाजिक‚ राजनीतिक हिसाबले संस्थामा नेतृत्व लिएर तामाङ समुदायमा काम गर्न पाउँदा एकदम सन्तुष्टि छु ।
तामाङ कलाकार सङ्घ गठनको मुख्य उद्देश्य तामाङ कलकारलाई व्यवसायीका बनाउने, प्रकाशनमा आएका तामाङ गीतसङ्गीतको सङ्कलन तथा अभिलेखीकरण गर्ने र तामाङ सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने भन्ने रहेछ‚ त्यसमा के के काम भयो ?
तामाङ सांस्कृतिक सङ्ग्रहालय बनाउने चाहिँ संस्था स्थापनाकालदेखि नै दीर्घकालीन योजना हो । यसको लागि प्राविधिक रूपमा लागि रहेका छौँ । अहिले हामी जग्गाको खोजीमा छौँ । अब चाडै बनाउनेछौँ । यो तामाङहरूको लागि ऐतिहासिक पनि हुन्छ । तामाङ सांस्कृतिक सङ्ग्रहालय भन्ने बित्तिकै हाम्रो सभ्यतासँग जोडिएका ताम्बा‚ बोन्बो र लामाका सम्पूर्ण दस्ताबेजहरू सङ्ग्रहित हुन्छ । त्यस्तो कृतिहरू अध्ययन अवलोकन गर्न सकिन्छ । त्यो तामाङ सांस्कृतिक सङ्ग्रहालयमा आउँदा हाम्रो तामाङपन भेटिनेछ । र भावी पुस्ता र कुनै पनि व्यक्तिले तामाङको बारेमा खोज्नुपरेमा त्यहाँ आउन सकियोस् । तामाङ ऐतिहासिक दस्ताबेजहरू सङ्ग्रहित गर्न सकियो भने त्यो ऐतिहासिक हुन्छ । त्यसका लागि सङ्ग्रहालय निर्माण गर्न लागेका हुन् ।
तामाङ गीतसङ्गीतको मौलिकता बचाइराख्न कस्ता कामहरू भइराखेका छन् ? त्यसका लागि सङ्घले कस्तो भूमिका खेल्यो ?
तामाङ अग्रजहरूको नामबाट योगिता मोक्तान प्रतिभा पुरस्कार स्थापना गर्यो । नयाँ पुस्तालाई प्रोत्साहन दिन पुरस्कारले महत्त्व राख्दछ ।
तपाई अध्यक्षमा दोहोरिने कि हस्तान्तरण गर्ने ?
धेरै साथीहरूको इच्छा चाहिँ दोहोरियोस् भन्ने छ । तर मेरो चाहिँ पद ओगटी रहने भन्दा पनि नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छु । नेतृत्व भने अभ्यासले जन्मिने त्यसो त नयाँ साथीहरूलाई अवसर दिने पक्षमा छु अहिलेसम्म । म चाहिँ नयाँ साथीहरूका लागि अभ्यासका निम्ति होस भनेर पनि नदोहोरिने पक्षमा छु ।
तामाङ कलाकारहरूको अवस्था कस्तो छ ? तामाङ गीत, सङ्गीत र कला क्षेत्रमा लागेर कलाकारहरू बाँचेका छन् कि छैनन् ?
तामाङ सङ्गीतको बजार ठुलो भइसकेको छ । धेरै भाषाभाषीको गीतमध्ये तामाङ सेलो पहिलो नम्बरमा आउँछ । यो विश्व बजारमा प्रविधिको हिसाबले अगाडि भएको छ । यसलाई व्यावसायिक रूपमा गर्नुपर्छ । व्यावसायिक रूपमा तामाङ कलाकारहरू अगाडि देखिन्छ ।
गीतसङ्गीत क्षेत्रमा नयाँ कलाकारहरूको आकर्षण कस्तो छ ?
रहरले प्रवेश भएको धेरै छ। आकर्षणसँग चुनौती पनि छ । सङ्गीत भनेको एउटा फर्मूलको विषयवस्तु हो । यो सिक्ने चीज हो। रहरले लाग्छ‚ टिक्न गाह्रो पनि हुन सक्छ । गीतसङ्गीतमा बिक्नभन्दा टिक्नु ठुलो कुरा हो । सिर्जना राम्रो गर्न सक्यो भने त्यसले व्यावसायिक रूपमा अगाडी बढ्छ । दर्शकको मन जित्छ । लोकप्रिय हुँदै जान्छ । गीतसङ्गीत परिवर्तनको मुख्य सूत्र नै गीतसङ्गीत हो जस्तो लाग्छ । गीतसङ्गीतले धेरै परिवर्तन ल्याउन सकिन्छ । तामाङ गीतसङ्गीत तामाङ समुदायमा धेरै योगदान दिएको छ । परिवर्तनको मुख्य सूत्र नै गीतसङ्गीत हो । जसको उदाहरण चार घण्टा भाषण गर्दा चार मिनेटको गीत प्रभावकारी हुन्छ।
अन्तमा‚
आउँदो अधिवेशनमा सहभागिताका लागि अनुरोध छ। तामाङ संस्कृतिलाई संस्थाले बोकेको हुँदा संस्थामा आबद्ध भएर काम गर्दा त्यो प्रभावकारी हुन्छ । त्यसो त संस्थागत सदस्य भएर अगाडि बढ्न तामाङ कलाकारहरूलाई अनुरोध छ । धन्यवाद ।