स्थानीय स्तरमै स्वास्थ्य सेवा पाएपछि नागरिक दङ्ग

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
133 Shares
रसुवा

जिल्ला अस्पताल धुन्चेले बिरामीका लागि पहिलो चरणको रोग पत्ता लगाउन आकस्मिक कक्ष निर्माण गरी बिरामीको अवस्था र रोग पहिचान गरी औषधि र डाक्टरको व्यवस्था गरेसँगै बिरामी अन्यत्र अस्पताल जान नपर्ने भएपछि ग्रामीण भेगका आम नागरिक दङ्ग परेका छन् ।

विगतका समयमा उचित श्रोत साधन र दक्ष चिकित्सक नभएको भन्दै नुवाकोटको त्रिशूली अस्पताल र काठमाडौँको विभिन्न अस्पतालमा लान सिफारिस गरिन्थ्यो भने त्यो परिपाटीलाई अन्त्य गर्दै अहिले यसै अस्पतालमा ओपिडी संरचना बनेपछि उपचार समेत हुन थालिसकेको छ । ठुलै रोगको समस्या भएका बिरामी बाहेक अधिकांश बिरामीलाई स्थानीय स्तरमै उपचार गरी पटाइने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमित कुमार शाहले बताए ।

जिल्ला अस्पताल भनेर नाम मात्रै को थियो दक्ष जनशक्तिको अभाव नै थियो । विशेष उपचार कक्षको व्यवस्थापन हुन नसकिरहेको अवस्थामा हाल सुधार हुँदै गई पछिल्लो समय शल्यक्रिया मार्फत प्रसूति सेवा प्रदान हुँदै आएको छ । यस अस्पतालमा उपचारका लागि दम, मधुमेह, उच्च रक्तचाप, बाथ, हाड जोर्नी मानसिक समस्या पेट दुख्ने जस्ता समस्या लिएर आउने गरेको डाक्टर शाहले जानकारी दिए । यस अस्पतालबाट स्वास्थ्य बिमा गराउनेको सङ्ख्या ६१ जना रहेका छन् ।

गत आर्थिक वर्षको वैशाखदेखि चालु आवको भदौ २४ गतेसम्म बहिरङ्ग कक्षबाट दुई हजार आठ सय र अन्तरङ्ग कक्षबाट एक सय ४४ जनाले उपचार पाएका छन् । यसै गरी आकस्मिक सेवाअन्तर्गत पाँच महिनाको अवधिमा चार सय २० जनाको उपचार गरिएको डा शाहले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका