नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले शनिवारदेखि ‘गोतोजि छोर्तोजि’ (बुझौँ र जागौँ) अन्तरक्रिया शृङ्खला गर्ने भएको छ ।
अनलाइन जुम ‘भर्चुअल’ माध्यमबाट सेप्टेम्बर २३ बेलुका अनुसन्धानकर्ता तथा लेखक खोजराज गोलेसँग पहिलो शृङ्खलाबाट कार्यक्रम सुरुवात गर्ने भएको हो । तामाङ समुदायको संस्कार, संस्कृति, राजनीतिक, ज्ञान, रीतिरिवाज, पहिचान र विविध विषयमा प्रत्येक अङ्ग्रेजी महिनाको अन्तिम शनिवार बेलुका अन्तरक्रिया कार्यक्रम गर्न लागेको घेदुुङका सचिव एल बी रुम्बाले जानकारी दिए ।
लगभग १ देखि साढे १ घण्टासम्मको समयावधिको हुने बताएको छ । तामाङ समुदायभित्रका युवा पुस्ता र आम समुदायलाई तामाङ समुदायको भाषा, संस्कार, संस्कृति, कला, साहित्य, सङ्गीत, ताम्बा, धर्मको बारेमा जानकारी दिने लक्ष्य लिएर कार्यक्रम आयोजना गर्न लागेको सचिव रुम्बाले बताए । उनले भने, ‘राजनीतिक, सामाजिक, आर्थिक, महिला तथा अन्य लैङ्गिक समूह लगायतका विषयहरूमा छलफल हुने छ । इतिहास, मौलिक खाना परिकार, भेषभूषा लगायत विविध विषयवस्तुमा पनि अन्तरक्रिया हुने छ ।’
यी यस्तै विषयहरूमा आम मानिसमा अन्योल, युवापुस्ताको चासो भएकोले ज्ञानवर्धक कार्यक्रमको आवश्यक ठानेर आयोजना गर्न लागेको सचिव रुम्बाले बताए ।
घेदुङका कार्यसमिति सदस्य रहेका केशवमान तामाङ कार्यक्रमको संयोजक रहेको छ । एल बी रुम्बाले कार्यक्रमलाई प्रस्तोता गर्ने आयोजकले बताएको छ । कार्यक्रमले विश्वभर रहेका आम मानिसले घेदुङ कोरियाको पेजबाट प्रत्यक्ष प्रसारणमार्फत सुन्न र हेर्न सकिने छ ।