दोलखामा खोज पत्रकारिता तथा मल्टिमिडिया तालिम

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
98 Shares
दोलखा

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) दोलखा शाखाले ४ दिने ‘खोज पत्रकारिता तथा मल्टिमिडिया तालिम’ सुरु गरेको छ । मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरले उक्त तालिमको उद्घाटन गरेका हुन् ।

तालिमको उद्घाटन गर्दै अध्यक्ष थोकरले अबको पत्रकारिता खोजमूलक हुनु पर्नेमा जोड दिए । सूचना मात्रै लिने प्रसारण तथा प्रकाशन गर्ने विषयले खास पत्रकारिता हुन नसक्ने भन्दै अध्यक्ष थोकरले खोज मूलक पत्रकारिता अहिलेको आवश्यकता भएको औँल्याए ।

‘स्थानीय तहमा हुने विकास निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन, संस्कृतिको विषयमा खोजमूलक समाचार आउन जरुरी छ,’ अध्यक्ष थोकरले भने,‘पत्रकार सदरमुकाम र कम्प्युटर डेस्कमा होइन फिल्डमा पुगेर विषय वस्तुको उजागर गर्नुपर्छ । अबको पत्रकारिता खास हुनुपर्छ।’

पछिल्लो समय पत्रकारको कार्ड भिरेर गलत प्रयोजन गर्ने प्रवृत्ति विकास भएकाले यो विषयमा सरोकारवाला निकायले नियमन गर्नु पर्ने अध्यक्ष थोकरको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले पछिल्लो समय पत्रकारिताको नाममा कपि पेस्ट शैलीको विकास भएकाले अबको पत्रकारिता हरेक विषयमा खोलमूलक हुनु पर्ने धारणा राखेका थिए ।

दोलखाको हाइड्रो, सहरकारी, बैङ्क, पर्यटन, प्राकृतिक स्रोत साधनको दोहन जस्ता विषयलाई तथ्यगत रूपमा पत्रकारले उठाउनु पर्ने धमलाको भनाई थियो ।

‘सार्वजनिक विषय र अनियमितको सवालमा समाचार आएको थाहा पाउने बित्तिकै तत्काल एक्सन लिन्छु । मलाई दोलखाको विषयमा धेरै जानकारी छैन,‘सिडियो धमलाले भने,‘अब खोज पत्रकारिता आवश्यक छ, सूचना होइन । समाचार लेख्नुस् ।’

तालिम उद्घाटन समारोहमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा, पत्रकार महासङ्घ दोलखाका उपाध्यक्ष श्रीजन घिमिरे, सचिव दिल बहादुर केसी, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल, तामाङ पत्रकार सङ्घ दोलखाका अध्यक्ष फुर्वा तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दोलखाको पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ उक्त तालिम आयोजना गरिएको फोनिज दोलखाले जनाएको छ ।

चार दिने तालिममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका सङ्घीय उपाध्यक्ष अमरध्वज लामा, कान्तिपुर ग्रुपका उप सम्पादक केदार शिवाकोटी र आर्थिक पत्रकार समाजका अध्यक्ष सुजन ओलीले प्रशिक्षण दिने तालिम संयोजक लाक्पा शेर्पाले जानकारी दिए ।

तालिममा २२ जना प्रशिक्षार्थीहरू सहभागी रहेका छन् ।

मेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा सो तालिम सञ्चालन भएको हो । साथै सहयोगी संस्थाहरूमा आदिवासी जनजाति पत्रकार महासङ्घ बागमती प्रदेश, दोलखा मिडिया प्रालि र तामाङ पत्रकार सङ्घ दोलखा शाखा रहेको छ ।

कार्यक्रम फोनिज दोलखाका अध्यक्ष अर्जुन पाख्रिनको सभाध्यक्षतामा भएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका