जीवन सरलरेखा जसरी अघि बढ्दैन । यदि त्यसरी अघि बढ्दो हो त जीवनको कुनै रङ्ग हुने थिएन । रङ्ग विनाको जीवनको व्याख्या गर्नु जरुरी पनि नहुँदो हो तर त्यसो होइन । जीवनका रेखाहरू तलमाथि-माथितल हुँदै त्यससँग जोडिएका अनुभूतिलाई उन्दै अघि बढ्दछ । कालान्तरमा तिनै अनुभूतिहरूले जीवन हुनुको पूर्णतालाई व्याख्या गर्दछ । जीवनका त्यस्तै अनुभूतिलाई नेपालको पत्रकारिताका साथसाथै साहित्यिक जगतका प्रबुद्ध हस्ताक्षर विजय चालिसले आत्मसंस्मरण जीवनका बक्ररेखा पुस्तकमा अघि सारेका छन् । पुस्तकलाई सुरभि साहित्य प्रतिष्ठान काठमाडौँले प्रकाशन गरिएको हो ।
जीवन बग्ने स्वाभाविक लयहरू हुन्छन् । तिनै लयलाई पछ्याउँदै आफूले बाँचेका समयहरूलाई सर्जकहरूले यादहरूको सन्दुकमा कैद गर्दछन् । आत्मसंस्मरण जीवनका बक्ररेखामा लेखक चालिसेले पनि जीवनका स्वाभाविक लय र त्यससँग टाँसिएर आएका अस्वाभाविक लयलाई परिशिष्ट सहित नौ भागमा बाँडेर बेलिबिस्तार गरेका छन् । काठमाडौँको उत्तर पूर्वी मध्य भागमा पर्ने नेपाली साहित्यको उर्वर थलो आरुबारी गाउँमा २००८ साल असार २२ गते जन्मेका चालिसेले आफू जन्मेको गाउँ–ठाउँको परिवेश, थातथलो, कुल वंश, मीठो बाल्यकालभित्र स्कुल, साथी, वनभोज, त्यसै गरी गुल्चादाइ मोहनलाल दाइहरूले सुनाउने दन्त्यकथा, आख्यानसँग जोडिएको स्थान विशेष आदिलाई मेरो बाल्यकाल: मेरो थातथलो मुख्य शीर्षकभित्र रहेर भिन्न उपशीर्षकमा सविस्तार चर्चा गरेका छन् । ‘मेरो यो सामाजिक डर लज्जाबोधको काँतरपनमाथि गर्व छ । यसले अनेकौँ पटक खराब बाटो हिँड्नबाट बचाएको छ ।’ (पेज ४५) यो वाक्यांशले चालिसेभित्र कलिलो उमेरमै आएको चेतनाको स्तरको परिपक्वतालाई सजिलै मापन गर्न सकिन्छ । बौद्धको सेरोफेरो, भालुकान्छा, समाज, दाम्पत्य र प्रवेशिका, चारपाते क्लब आदिसँग जोडिएका प्रसङ्गलाई फैलँदो परिवेश मुख्य शीर्षकभित्र रहेर वर्णन गरेका छन् । पर्यटनसँग जोडिएको काठमाडौँको हिप्पी युगको बेग्लै अन्तर्य छ । सुन्दा कुनै कथा जस्तो लाग्ने समयको फेरोलाई हिप्पी, गुप्तचर र राविसे मुख्य शीर्षकमा चर्चा गरेका छन् । नेपालको पत्रकारिता जगतको जेठो प्रकाशन गोरखापत्र संस्थामा प्रवेशलाई उनले आफ्नो जीवनवृत्ति परिवर्तनको विन्दुको रूपमा स्वीकारेका छन् । त्यति बेलाको पत्रकारिता, चुनौती, तालिम, अनुभव, कला साहित्यको संसारलाई नजिकबाट बुझ्दै परिवार विघटन र गोठको बासको फेहरिस्तलाई जनमतपछिको व्यवसाय परिवर्तनमा मुख्य शीर्षकभित्र बयान गरेका छन् । पुस्तकमा वि.स. २०४६–२०५१ अवधिको राजनीतिक घटनाक्रम त्यसपछि सुरु भएको राजनीतिक अस्थिरता र माओवादी जनयुद्ध, दरबार हत्याकाण्ड र प्रत्यक्ष शासन, द्वन्द्व र प्रत्यक्ष शासनमा, गोरखापत्र र सञ्चारसँग जोडिएको विविध पक्षलाई क्रमसःपाँच र छ को शीर्षकमा सविस्तार चर्चा गरेका छन् । राजतन्त्रको अन्त्यसँगै सम्पादकीय नेतृत्व, राजनीतिक नियुक्ति, चुनौतीका पहाड र ऋणको भारीलाई गणतान्त्रिक नेपाल मूल शीर्षकभित्र वर्णन गरेका छन् । त्यसै गरी वि.स. २०७२–२०७७ सर्वाधिक कहरको वर्षभित्र अवकाशपछिको यायावरी, छपन्न सेकेन्डको प्रलयानुभूति, जीवनसङ्गिनीसँग बिछोड र विश्वलाई आक्रान्त बनाएको कोभिड–१९को कहरलाई पुस्तकमा समेटिएको छ । अन्तमा बचेखुचेका विशेष सम्झनाहरूलाई नौ परिशिष्टभित्र मेरो कथा यात्रा, भैरव अर्यालको रौद्रारुप, अवस्था अनुसारको व्यवहार, कोसी ब्यारेजको पुल, भूतलेखन र बौद्धिक शोषण, मदनदेव भट्टराईको उदारता आदि उपशीर्षकमा चर्चा गरेका छन् ।
जीवनवृत्तिको लागि गोरखापत्रको जागिरे भएपछि त्यससँग बिताएको लामो समयमा त्यसभित्रको बेथिति, नाम र दामको लागि हुने टसल, चरमचाकडी, आफन्तवाद, सत्तासमीकरणसँगै टिक्ने टिके प्रणालीका पदहरूको बयान गरेका छन् । तर नेपालको जेठो प्रकाशन, सरकारीमुखपत्रभित्र प्रधानसम्पादक जस्तो प्रतिष्ठित पदमा सन्तुलित लामो सेवाकाल बिताएको गर्विलो पक्षलाई पनि अघि सारेका छन् ।
जन्मसँगै जीवनका कर्महरू पनि सुरु हुने गर्छन् । ती कर्महरूसँग जोडिएर बाँचेका समयहरूलाई सबैले बचाउन सक्दैनन् । तर लेखक र स्रष्टाहरू आफू बाँचेको समयलाई त्यसैको फेरोमा बेरेर राख्छन् र आफू बाँचेको साक्षीको रूपमा पुस्ताबाट पुस्तकमा भन्छन् । यसै अर्थमा स्रष्टा तथा लेखकहरू प्रशंसनीय छन् । प्रस्तुत आत्मसंस्मरणमा आफू बाँचेका समय, परिवेश, गाउँवस्तीमा हुने सामाजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक अझ भन्दा मूर्त–अमूर्त पक्षहरूसँग आफू गाँसिनुको अर्थलाई खोज्दै आफ्नो उपस्थितिलाई जीवनका बक्ररेखा मा कोरिएका छन् । उमेरमा गरिएका बदमासीहरूलाई इमानदारिताका साथ राखेका छन् । ठुलाहरूको संतसंगत, पहिलो प्रेम, अपराधबोधले जीवनभर सताउने घटनाको खुलासा गरेका छन् । बौद्ध महाचैत्यसँग जोडिएका मिथकसँगै त्यसभित्रका विशाल रहस्यलाई कोट्टाउँदै सांस्कृतिक सम्पदाहरू तेमालजात्रा, रोपाँइजात्रा, गठेँमुँग आदिको बेलिबिस्तार गरेका छन् । त्यति बेलाको बौद्ध क्षेत्रको फाँट चाबहिल जाने साँघुरो बाटो र वरिपरिको उन्यूको घारी, हिउँदमा तिब्बती तीर्थयात्रीहरूको खच्चर–गधाका विष्ठाको नमिठो गन्धलाई तिनै तीर्थयात्रीहरूले ल्याएको जिम्बु, जरीबूटी, मुँगा–पत्थरका गरगहनाले प्रतिस्थापन गर्दथ्यो । बटुवा र तीर्थयात्रीहरूको सेवाको लागि चुच्चेपाटीदेखि गधापाटीसम्म निःशुल्क बास–पानीको व्यवस्था गर्न पाटी बनेका थिए । केटाकेटीको लागि बौद्ध बौद्ध भयमिश्रित र रोमाञ्चले भरिपूर्ण भएको विगतलाई पुस्तकमा स्मरण गरेका छन् । त्यति बेलाको भौतिक वातावरण गरिब भएपनि आत्मीयताले भरिपूर्ण भएको अनुभवलाई पुस्तकमा सारेका छन् । । जीवनवृत्तिको लागि गोरखापत्रको जागिरे भएपछि त्यससँग बिताएको लामो समयमा त्यसभित्रको बेथिति, नाम र दामको लागि हुने टसल, चरमचाकडी, आफन्तवाद, सत्तासमीकरणसँगै टिक्ने टिके प्रणालीका पदहरूको बयान गरेका छन् । तर नेपालको जेठो प्रकाशन, सरकारी मुखपत्रभित्र प्रधानसम्पादक जस्तो प्रतिष्ठित पदमा सन्तुलित लामो सेवाकाल बिताएको गर्विलो पक्षलाई पनि अघि सारेका छन् । आफ्नो सेवा अवधिमा भएको उपलब्धिहरूलाई पुस्तकमा सारेका छन् । आफू सेवा अवधिमा हुँदा गरेको कामलाई चासो मात्र राख्नुलाई नै पुरस्कार ठान्नु पर्ने अवस्थाबाट अघि बढ्दै अख्तियार र अधिकार हुँदाहुँदै पनि निरीह हुने समयलाई बयान गरेका छन् । पुस्तकमा देशको राजनीतिक घटनाक्रमको इति वृत्तान्त गरेका छन् । सङ्कटकालको सकस र जोखिमपूर्ण अप्ठयाराहरुलाई पन्छाएका चित्रहरूलाई कोरेका छन् । निजी र सार्वजनिक जीवनका कथाहरूलाई उप्काएका छन् । २०७२ सालको विनाशकारी भूकम्प, कोभिड–१९ को कहर र क्रुरतलाई सहेका दिनहरूको हिसाबकिताब प्रस्तुत गरेका छन् । देश विदेशमा गरेका भ्रमणका अनुभूतिहरूलाई पस्केका छन् । सेवा अवकाशपछिको जीवनलाई साहित्यिक गतिविधिमा लगाएर सक्रिय जीवनको दैनिकीलाई समेत पुस्तकमा सारिएको छ ।
आफ्नो लागि आफै सार्वभौम हो । आफूले भोगेका दुःखहरू पहाड र सुखहरू सबैभन्दा प्रिय लाग्दछ । समय र परिस्थितिले जीवनलाई कमजोर–बलियो, र धैर्य–आवेग बनाउँछ । तर धैर्यता, निरन्तरता र दृढ सङ्कल्पले जीवनलाई उज्यालोतर्फ अघि बढाउन प्रेरित गर्दछ । पुस्तकभित्र चालिसेलाई सरल, सहज, शालीन, सृजनशील र चिन्तनशील व्यक्तित्वको रूपमा रूपमा भेट्टाउन सकिन्छ । सरल जीवनको वृत्तान्तबाट नयाँ पुस्ताले सिक्न सक्ने धेरै कुराहरू पुस्तकमा छन् । आत्मसंस्मरण लेखनको क्रममा साँचो र सत्य बोल्ने आँट गरेका छन् । यो अर्थमा आत्मसंस्मरण जीवनको एउटा आत्म समीक्षा पनि हो । त्यसमा इमानदारिताको प्रश्न र उत्तर लेखक स्वयम हुने भएकोले समीक्षाको आधार हुँदैन । पुस्तकको महत्त्वपूर्ण पक्ष जीवनसँग बाँचेको समय अवधिलाई विषयसूचीमा स्पष्ट लेखिएको छ । जसले पाठकलाई समयमा अल्मलाउदैन । एउटा जीवनको खण्डलाई समयको फ्रेमभित्र राखेर मज्जाले पढ्न सकिन्छ । भाषा निकै सरल छ । यद्यपि राजनीतिसँग जोडिएका लामो प्रसङ्गले झर्को लगाउँछ । अन्तमा लेखककै शब्दमा – ‘मानिस, मजस्तै सायद आफ्नै लागि बाँच्दछ र जिन्दगीभर अरूका लागि बाँचेका नाटक गर्छ । जीवनमूल्य र परम्परागत दृष्टिकोणमा परिस्थितिजन्य समयानुकूल परिवर्तनहरू भई नै रहन्छन् । कुनै पनि विचारक र दार्शनिकले अन्तिम सत्य खोजेको दाबी गर्न सक्दैन । जीवनको लगभग सबै समस्या अहम्बाटै पैदा हुन्छ । त्यो कलुषित भावनाबाट बढ्दै जान्छ ।’