नेतृत्वमा व्यक्ति भन्दा विचार प्राथमिकता

काठमाडौं

नेकपा (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन नहुनुमा जनताको बहुदलीय जनवादको प्रभावले काम गरेको देखिन्छ । नेकपा (एमाले) भित्रको कुनै पनि सङ्गठनमा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व चयन हुनु पार्टी सङ्गठन र कार्यकर्ताहरूको मनोभावना अनुरूप पार्टीले बोकेका जनमुद्दाहरूलाई जीवितै राख्न मद्दत मिल्दछ । यसले सङ्गठनभित्र देखिएका अवसरवाद र साङ्गठनिक अराजकतालाई निर्मूल पार्न केही हदसम्म सहयोग पुर्‍याउँछ भने गुटबन्दीको हदले सीमा नाग्नु हुँदैन । नेतृत्वमा व्यक्तिलाई भन्दा विचारलाई प्राथमिकतामा राख्न सकेको खण्डमा नेकपा (एमाले) को भावी राजनीति सुनौलो रहेको छ । बहुदलीय प्रतिस्पर्धाको पद्धतिबाटै नौलो जनवादको सङ्क्रमणकालीन अवस्थामा प्रवेश गर्न एमालेजनहरुले अबको निर्वाचनमा आफूले आफैँलाई जनतामाझ एक अब्बल विकल्पको रूपमा प्रस्तुत गर्नुपर्छ ।

पार्टी सङ्गठनहरूमा नेतृत्व चयनको लागि लोकतान्त्रिक पद्धतिलाई अपनाएर चुनावी प्रक्रियामा जाँदा पार्टीभित्र मतभेदहरू बढ्ने होइन कि विश्वका श्नमजीवीवर्गको पक्षमा उभिने मार्क्सवादी-लेनिनवादी वैचारिक र सैद्धान्तिक बहसहरूमा नेपालको विशिष्ट परिस्थितिको व्याख्या र विश्लेषण गर्न पनि सहयोग पुग्दछ । कम्युनिष्टहरुले लिएको साङ्गठनिक पद्धति लेनिनवादी हो । जस अन्तर्गत रहेछ पार्टी कमिटीहरूमा ‘जनवादी केन्द्रीयता’को अभ्यास फेरी सुरु गर्नु जनताको विश्वासिलो पार्टी नेकपा (एमाले) को निम्ति कुनै नयाँ र नौलो विषय भएन । यो त विगत लामो समयदेखि गर्दै आएको पद्धति हो । यस पद्धतिले सङ्गठनहरूमा जनवादको अभ्यास र केन्द्रीयता यानि कि अनुशासनको सही तरिकाले वकालत हुँदै बुर्जुवावादी चिन्तनबाट पार्टी सङ्गठनहरूलाई टाढै राख्न मद्दत मिल्दछ ।

लामो समयदेखि हुन नसकेको बागमती प्रदेशको प्रथम अधिवेशनमा नेतृत्वको लागि आकाङ्क्षीहरू देखिनु स्वाभाविक हो । त्यो नै मात्रात्मकबाट गुणात्मक नेतृत्वमा सङ्क्रमण गर्न एमालेजनहरुलाई सजिलो हुन आउँछ । यो नै द्वन्द्वात्मक भौतिकवादको दोस्रो नियम पनि हो । जति धेरै प्रतिस्पर्धा त्यति धेरै गुणस्तर नेतृत्वहरू कार्यकर्ता र जनताले विश्वास गरेको दलले पाउनु हो । जसले गर्दा जनमुद्दाहरूलाई राज्यको निर्णायक तहहरूमा स्थापित गर्दै मुलुक र जनताको भाग्य र भविष्यको फैसला गर्न सजिलो हुन्छ । जनताले लडेर ल्याएको प्राप्त राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्न र जबजको मार्ग निर्देशमा समाजवादको आधार तय गर्न मार्क्सवादी विचार र सिद्धान्तले युक्त बलियो सङ्गठनहरूको निर्माण गर्न सहज हुन्छ । श्रमजीवीवर्गको राजनीतिक दलहरूबिच बहुदलीय प्रतिस्पर्धाको माध्यमबाटै वैज्ञानिक समाजवादको मार्ग तय गर्ने एमालेजनहरुले आफूभित्र पनि नेतृत्वको निम्ति प्रतिस्पर्धा गर्नु र उक्त प्रतिस्पर्धामा देखिएका पात्रहरू पदको लागि भन्दा पनि लामो राजनीतिक लडाइँको लागि हो भन्ने हामीहरूले बुझ्न जरुरी देखिन्छ । जस्तैस् विगतमा लुम्बिनी प्रदेशको अधिवेशनमा देखिएको नेतृत्वको प्रतिस्पर्धा अहिले बागमती नेतृत्वको निम्ति देखिएका कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, केशव पाण्डे, सानु श्रेष्ठ लगायतका अन्यहरूको नाम लिष्टले एमालेभित्र नेतृत्वको लागि नेताको कमी रहन्छ भन्ने प्रस्ट सङ्केत दिएको छ ।

वास्तवमा कम्युनिस्ट पार्टीभित्र पद र प्रतिष्ठा भन्दा पनि जनमुद्दा प्रधानता हुन्छ । पद गौण हो भने श्नमजीवीवर्गको मुद्दाहरू हाम्रा लागि महत्त्वपूर्ण हो । चुनावी प्रतिस्पर्धामा एकले जित्दा अर्को हार्छ भन्नु जनमुद्दाहरूलाई कमजोर बनाउने खेल मात्र हो । हाम्रो पदीय जिम्मेवारीको उद्देश्य भनेको जनमुद्दाहरूलाई स्थापित गर्नु हो । त्यसैले, अल्पमत र बहुमत पार्टी सङ्गठनहरूमा हुन्छ र यो नै द्वन्द्वात्मक भौतिकवादको प्रथम नियम ‘प्रतिपक्षहरुबीचको एकत्व र सङ्घर्ष’ हो । यसैलाई मार्क्सवादको तेस्रो विकसित रूप माओवादले कम्युनिष्टहरुले वर्गसंघर्षको साथसाथै आन्तरिक दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको विरुद्ध पनि सङ्घर्ष गर्न छाड्नु हुँदैन भनेका हुन् । वर्गसंघर्ष बाह्य शत्रुहरूसँग हुन्छ भने आफ्नै सङ्गठनभित्र हुर्कँदै गएको दक्षिणपन्थी अवसरवाद र त्यसले जन्माउने साङ्गठनिक अराजकताको विपक्षमा शान्तिपूर्ण होइन, वैचारिक सङ्घर्षलाई निरन्तरता दिँदै जानुपर्छ ।

आज नेपाली कम्युनिस्ट आन्दोलनलाई अवरोध पुर्‍याउने ती प्रतिक्रियावादी शक्तिहरूको हाबी पार्टी सङ्गठनहरूमा देखिएको हुँदा त्यसलाई निरुत्साही गर्न भए पनि नेतृत्वको चयन वैचारिक र सैद्धान्तिक प्रतिस्पर्धाको माध्यमबाट हुनुपर्छ । पार्टीलाई सङ्कटको मोचन गर्ने शक्ति भनेकै प्रतिस्पर्धाको अभ्यासबाट जन्मिने नेतृत्वले हो । उक्त प्रतिस्पर्धामा कसले कतिको खरोसँग वैचारिक बहसमा उत्रन्छ भन्ने मात्र हो । हाम्रो ०८४ को मिसनलाई पूरा गर्न भए पनि त्यही अनुसारको सङ्गठनहरू पनि निर्माण गर्दै जानुपर्छ । हाम्रा सङ्गठनहरू भद्दा शैलीको भएमा यसले लोपोन्मुख दिशा निर्धारण गर्नेछ । त्योबाट बच्न चुनावी प्रतिस्पर्धाको माध्यमबाट अब्बल नेतृत्वको खोजी आफैमा एक उत्कृष्ट मार्ग हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका