दोलखाको लप्ची नाकाबाट भित्रिएको सुन बरामद गरिएको छ भने तीन जना पक्राउ परेको छ ।
बुधवार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । ४ पिस पहेँलो धातुसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनसहित पक्राउ परेकोमा दोलखाको विगु गाउँपालिका वडा नम्बर १ स्यालुका केशर तामाङ, विगु–१ लामाबगरका राज तामाङ र लामबगरको गोंगरका माधव मगर रहेका छन् ।
प्रहरीले सिंगटीको जामुनेस्थित एक होटेलबाट केशर तामाङलाई चार किलो सुन सहित पक्राउ गरेको हो । त्यसपछि उनको बयानको आधारमा राज तामाङ र माधव मगरलाई पक्राउ गरेको हो ।
यद्यपि दोलखा प्रहरीले भने पक्राउ गरेकाहरूको नाम अझै सार्वजनिक गरेको छैन ।
दोलखाका प्रहरी प्रमुख (डिएसपी) दीपक खड्काले पक्राउ परेका व्यक्ति र बरामद भएको सुनलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताएको छ ।
सुन भित्रिएको सूचना प्रहरीले पाएपछि इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विक्रम लामाका अनुसार सूचना थाहा पाएपछि गोप्य रूपमा चलाएको अपरेसनले सुन बरामद गर्न सफल भएको बताए ।