धर्मनिरपेक्ष राज्य र गौवधको प्रश्न

350 Shares
काठमाडौं

संसारभरिका सबै जाति विशेषको भोजनको रुपमा प्रयोग हुने पशु हुन्- गाई र गोरु । भूगोलको उत्तर-दक्षिण, पूर्व-पश्चिम, सबै ठाउँमा प्राप्त हुने पशु हो- गाई, गोरु । यो पशु पाल्न पनि सजिलो हुन्छ । यसको मासु खानामा मिठो र बढी पोषिलो मानिन्छ । नेपालको हिमाल, पहाड र तराई, सबै ठाउँमा गाई पाइन्छन् । जुन पशु सर्वत्र र सजिलो उपदब्ध हुन्छ, त्यो सबैको भोज्य बस्तु बन्दछ । यस अर्थमा नेपालमा सबै जनजातिको भोजनको एक बस्तु गाई हुनुलाई अन्यथा लिनु पर्दैन । तर पृथ्वीनारायण शाह र उनका वंशजको राज्य विस्तारको अभियान नेपाललाई “असली हिन्दुस्थान” बनाउने उद्घोषकासाथ भएकोले उनीहरुले जितेका भू-भागभित्र आपूmले अपनाउँदै आएको हिन्दु धर्म र संस्कृति फैलाउन उद्दत रहे । भारतमा मुसुलमानी शासनले हिन्दु धर्म माथि बज्र प्रहार गरेकोले शरणार्थीको रुपमा १२ औं शताब्दी पछि नेपाल पसेका हिन्दु उच्च जातका लागि उक्त नारा आकर्षक थियो । भारतमा पछि अंग्रेज “म्लेच्छ”को शासन चलेकोले त्यहाँका हिन्दुहरुले पनि “हिन्दुराज्य”लाई साथ दिनु स्वभाविक थियो । यसै पृष्ठभूमिमा काठमाडौँँ उपत्यका जिते पछि पृथ्वीनारायण शाहले क्रिश्चियन र बौद्ध भिक्षुलाई देश निकाला गरे । त्यो उनको हिन्दु धर्मप्रतिको कट्टरता थियो । उनले पूर्वक्षेत्र जितेर फर्के पछि घोषणा गरे- “नेपाल असिल हिन्दुस्थान हो, सबैलाई चेतना भया । चार जात छतिस वर्ण ‘(सबैले) आ-आफ्नो जात विशेषको कर्म गर्नु ।’ कचहरी पिछे एक एक पण्डित राखी शास्त्र बमोजिम अदालत चलाउनु” । (दिब्य उपदेश)

पृथ्वीनारायण शाहको उक्त आदेश उनको उत्तराधिकारीहरुका लागि आर्दश र मार्गनिर्देश थियो । त्यसै अनुरुप राजा रणबहादुरले प्रथम पटक ई. १८०५ मा गैरहिन्दु समाजमा प्रचलित गौवधमाथि प्रतिबन्ध लगाए । ई. १८५४ मा जंगबहादुर राणाले मुलुकी ऐन लागु गरी नेपाललाई कानुनतः हिन्दुराज्य बनाए र नेपाली समाजमा हिन्दु वर्णाश्रमलाई कडाइकासाथ लागू गरे । राजा महेन्द्रले पञ्चायती संविधानमा (२०१९ साल) नेपाललाई हिन्दु अधिराज्य घोषणा गरे र गौवध माथिको प्रतिबन्धलाई जारी राखे । २०४७ सालको राजासमेतको बहुदलीय संविधानले पनि नेपाललाई हिन्दु अधिराज्य नै बनायो र गौवधलाई अवैध ठान्यो । २०६३ सालमा बनेको अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरे पनि गाईलाई राष्ट्रिय जनवार मानेर गौवधलाई प्रतिबन्धित नै गर्‍यो । २०७२ मा नयाँ संविधान आयो, त्यसले त झन धर्मनिरपेक्षलाई नै विरुप पारेर हिन्दु कानुन लागू गरेको छ ।

गौवध माथि प्रतिबन्ध र जनजाति तथा दलितमाथि त्यसको असर

नेपालको प्राकृतिक धर्म-बोन धर्म थियो । बुद्धकालदेखि नै यहाँका बोनधर्मी माझ बुद्धधर्मको प्रभाव बढ्न थालेकोे थियो । यो धर्म यहाँका आदिवासी जनताको एकता र आत्मसंरक्षणका लागि उपयोगी सिद्ध भयो । त्यसैले यो धर्म नेपालका मंगोल जनजातीय समाजमा व्यापक रुपले जनप्रिय रहेको थियो र अद्यपि छ (प्रश्रित, १९८३) । बैशालीतिरबाट नेपाल आएका लिच्छवि शासकहरु पनि बौद्ध धर्मावलम्वी नै थिए । तर राजा वृषदेवको पालासम्ममा उनीहरुमा हिन्दु धर्मको वर्चश्व कायम भैसकेको थियो । भारतमा गुप्ता साम्राज्यको प्रभावको कारण नेपालमा हिन्दु धर्म राजाले लिएको थियो । तिनै गुप्त सम्राटहरुको प्रभाव र दबावको कारण बौद्ध धर्म मान्ने लिच्छवि राजा वृषदेवले आफ्नो गणतंत्री राज्यलाई राजतंत्रमा फेरी छोरा शंकरदेवलाई हिन्दुधर्ममा दिक्षित गराई युवराज घोषणा गर्नु परेको थियो । शंकरदेव राजा भए पछि यहाँ बैष्णव धर्मले राजधर्मको रुपमा प्रवेश पाएको थियो र यहाँ वर्ण व्यवस्थामा आधारित वंशगत निरङ्कुश राजतन्त्रको परम्पराको पनि थालनी भएको थियो । त्यसपछिका राजाहरुले हिन्दुधर्म र संस्कृतिलाई सामन्ती राज्य व्यवस्थासँग जोडेर हेर्न थाले । फलतः बुद्धधर्म र बौद्धहरुमाथि दमन बढ्यो । राजा वसन्तदेवले बौद्धहरुमाथि दमनकारी नीति लिएकोले धर्मिक द्वन्द्व नै भएको थियो (प्रधान, १९९७ः१९८) ।

लिच्छविकालको अन्त्यतिर शिवदेव द्धितीयको पालामा शंकराचार्य यहाँ आएका थिए । यिनको नेतृत्वमा बौद्धहरुमाथि थप दमन गरियो, बौद्ध भिक्षुहरुलाई जवर्जस्ती विवाह गराई गृहस्थी बनाइयो र ८४,००० बौद्ध ग्रन्थहरु जलाईयो (Right, 1972:120) । भारतमा भएको मुसलमानी हमलाबाट भागेर काठमाडाैँमा १३, १४औँ शताब्दीमा ठूलो संख्यामा हिन्दुहरुले शरण लिए । यो पृष्ठभूमिले जयस्थिति मल्ललाई यहाँको समाजलाई हिन्दुकरण गर्ने आधार र दवाव पुर्‍याएको थियो । जयस्थितिले (१४औं शताब्दीको उत्तरार्धमा) काठमाडाैँमा विहारी (मैथिल) ब्राह्मणहरुको सल्लाहमा हिन्दुवर्ण व्यवस्था अनुसारको धार्मिक शुद्धीकरणको अभियान चलाए, हिन्दु धर्मलाई यहाँको राजकीय धर्म बनाए र मनुस्मृतीय कानुन लागू गरी यहाँको समाजलाई जात प्रथा अनुसार ६४ वटा पेशागत उपजातहरुमा विभाजित गरे (विष्ट, १९९२ः ३९) । काठमाडौँ खाल्डो खेतीका लागि प्रशिद्ध थियो । गोरु जेतिन्थ्यो । तर जयस्थिति मल्लले पशुपतिनाथको मंदिरमा साँडेको मूर्ति चढाए पछि, त्यो कार्य बन्द गरियो । आज पनि तपाई देख्नु हुन्छ उपत्यकाको काँठतिर मात्र गोरु जोतिन्छ, सहर र त्यसका वरिपरि गोरु जोतिदैन । काठमाडौँमा पहीले राँगो,भैसीको मासु खाने चलन थिएन । उपत्यकामा भैँसी पाल्ने चलन पनि थिएन । हरिसिंहदेवकी रानीले (जयस्थिति मल्लकी सासु) सिम्रौनगढबाट शरणार्थीको रुपमा काठमाडौँ आउँदा श्वेतकाली (नरदेवी) र त्यसकी छोरी तुलजा भवानीको मूर्ति ल्याएकी थिइन । श्वैतकाली (नरदेवी) मान्छेको भोग खाने र तुलजा भवनी राँगो (महिषासुर) को भोग खाने देवी हुन । म यहाँ तुलजा भवानीको मात्र कुरो गर्छु । राज्यको तर्फबाट यो भवानीलाई वर्षको एकसल्ट १०८ राँगा, बोका, हाँस, कुखुरा आदिको भोग दिने र ती भोग दिने राँगा, बोका आदि तराईबाट ल्याउने गरिन्थ्यो । त्यो प्रसादको रुपमा चार ढोका भित्रका सबैका घरमा पुग्न थाल्यो । गोरु जेत्न प्रतिबन्ध लागेकोले गाई पाल्ने काम हट्दै गएको थियो भने मासुको लागि तराईबाट राँगो, भैँसीको आपूर्ति बढ्न थाल्यो । अहिले पनि नेवारी समाजमा गरिने ठुलो भोजमा राँगोको मासुमा याक (गाई)को पुट्ठाको मासु (कूतिगोर्मा) मिसाएर बनाएको थलथले अनिवार्य छ (मल्ल के.सुन्दरसँगको कुराकानीमा आधारित) । अहिलेको नेवार समाज आदिवासी ज्यापू र बाहिरबाट आएका विभिन्न (प्रायः हिन्दु) समुदायहरुको बसोवासबाट बनेको एउटा भाषिक जाति हो ।

पृथ्वीनारायण शाहले नेपाललाई “असिल हिन्दुस्थाना” भएको घोषणा गरे पछि उनका उत्तराधिकारीहरुले “हिन्दुत्व” बचाउन जोड दिनु थाले । राजा रणबहादुर शाहले सन् १८०५ मा गैरहिन्दु समाजमा प्रचलित गौवधमाथि प्रतिबन्ध लगाए । त्यसैवर्ष सोलु र भक्तपुरमा गाईमार्नेलाई कडा दण्ड सजायको आदेश दिए । यो घटनाले नेपालका दलित र जनजातिमाथि गम्भीर असर पा¥यो । सन् १८०६ मा पश्चिम पहाडको एउटा दमाईलाई गाई मारेको दोष लागेछ । स्थानीय अधिकारीले उनलाई निर्दोष ठहराए । तर काठमाडौँंले के फैसला ग¥यो भने त्यो दमाइको पिठ्यूबाट मासु काट्नु र उसको “त्यो घाउमा नुन, चुक दल्नु, अनि उसको मासु उसैलाई खुवाउनु र उसलाई मार्नु” । गोरु वध गर्नेलाई पनि उत्तिकै कडा दण्ड दिईन्थ्यो । पश्चिमका मगरहरु परम्परादेखि नै गाई, बाख्रा, सुँगुर, भेडा, आदिका मासु खान्थे (Hamliton 1819:26) । ई. सन् १८१० मा सल्यानका पुन (मगर) समुदायका केही व्यक्तिहरु मिलेर गोरु काटेछन् । त्यो घटनामा राजाले जिल्लाका वडाहाकिमलाई आदेश जारी गरे “हिन्दु अधिराज्यमा गोरु काट्ने ती जघन्य अपराधीहरुको जिउँदै छाला काढ्नु, सूलिमा चढाउनु या नमरुन्जेलसम्म उधोमूण्टो पारी झूण्ड्याउनु ।” यसरी सन् १८०५ पछि सल्यान, प्यूठान, पाल्पातिरका मगरहरुले आफैँ मरेको वा अन्य पशुले मारेको गाई-गोरुको मासु खान थाले । त्यसमाथि पनि प्रतिबन्ध लाग्यो, नमान्ने प्रत्येक घरधुरीलाई रु.१.५०/- दण्ड तोकियो । प्यूठानका जनताले पाल्पाका वडाहाकिम काजी अमर सिं थापा मार्फत् केन्द्रमा आफ्नो परम्पराबाट चलाई आएको गाईको मासु खाने चलन थामी पाउन जाहेरी गरेका थिए । केन्द्रले जवाफमा गाई गोरु काट्न नपाउने तर मरेको भने खान पाइने आदेश पठायो । साथै त्यसरी मरेको खाने प्रत्यक घरधुरीलाई बार्षिक रु.१/-र छाला वापत थप (दुई आना) कर तिर्नु पर्ने गरिदियो (Qmifller, 1976:173)।

गोर्खाली राजाले सन् १७७३ मा पूर्वको माझ किराँत जितेका थिए (Stiller, 1975:136) । त्यस बखतसम्म त्यहाँका किराँतीहरु गोरु काटेर खान्थे र पूर्खा-देउतालाई पनि गोरु काटेर भोग दिन्थे । दुधकोशी वरपरका वाम्बुले राईहरु लिब्जु, भुब्जु र दिब्जु, तीन डाँडालाई देवता मानेर पुजा गर्दछन् । त्यसरी पुजा गर्दा उनीहरुले लिब्जु डाँडामा रहेको पूर्खा-देवताको थानमा गोरु काटेर भोग दिने गर्दथे । गोर्खाली राजाहरुको नेपाललाई हिन्दु अधिराज्य बनाउने अभियानले उनीहरुको त्यस प्रथाको मौलिक संस्कृतिमा रोक लाग्यो (भोगिराज चाम्लिङ, कान्तिपुर, १० कार्तिक २०६४) । त्यसरी नै पृथ्वीनारायण शाहले सन् १७७४ मा विजयपुर हात पारे । लिम्बुवान उनको अधिनमा आयो । सिक्किमसँग मिलेर गडबड गर्न सक्ने भयले उनले लिम्बूहरुको आन्तरिक स्वतन्त्रतालाई स्वीकार गरेको लालमोहोर जारी गरे । सन् १८०५ मा जारी गरेको राजा रण् बहादुर शाहको गोवधमाथिको प्रतिबन्धले लिम्बूहरुलाई पनि छोडेन । “लिम्बुहरुमाथि गाईको मासु खान प्रतिबन्ध लाग्यो । गोरुको टाउको बिना लिम्बूहरुको माङ्गेना (पूजा) हुनै सक्तैन । ‘(तर) रणबहादुर शाहबाट “यस अघि गाईको मासु जो खायो, त्यसमा हामीले माफ गरिब बक्यौँ” आईन्दा गोवध गर्न पाउँदैनौ भन्ने उर्दी गरिएपछि लिम्बूहरुले बडो मुस्किलले आफ्नो मौलिक संस्कृति जगेर्ना गर्दै आएका छन् । उनीहरुले मरेको गोरुको सिङ, खुर र हड्डी घोटेर आफ्नो देवी देउतालाई चढाउँदै आएका छन् । ताप्लेजुङ, पाँचथर र इलामको पूर्वी सीमानाका लिम्बूहरुले भने सिक्किमबाट गोरुको टाउको झिकाएर पूजाविधि सम्पन्न गर्ने गरेका छन् (राजकुमार दिक्पाल, हिमाल मासिक, २०६३, वर्ष-५, अङ्क-१५) ।

तामाङ, तमु (गुरुङ), भोटे आदि जातिहरु चौँरी गाईको मासु खान्छन् तर देवतालाई चढाउने गर्दैनन् । उनीहरु पनि रणबहादुर शाहकै गोवध प्रतिबन्धको शिकार बने । त्यसरी नै मुसलमान समुदायलाई गोवध प्रतिबन्ध छ । यसरी शासकद्वारा परम्परागत रुपमै गाई काटी खाने अहिन्दु समुदायलाई सहन नगरिएको कारण आदिवासी जनजाति, मुसलमान र दलित समुदायले दण्डभागी हुन परेको थियो । राजा सुरेन्द्रको पालामा प्रधानमंत्री जंगबहादुर राणाले जुन मुलुकी ऐन (सन् १८५४) लागु गरे, त्यसले नेपाल जस्ता बहुजातीय मुलुकलाई हिन्दु वर्ण व्यवस्थाको एकल जातीय जालोभित्र कानुनतः हुल्ने काम गर्‍यो । नेपाल पूर्णतः एकजातिको हिन्दु अधिराज्य बन्यो र यहाँको शासन प्रणाली एकात्मक, केन्द्रिकृत, हिन्दु साम्प्रदायिक र हुकुमी थियो ।

सन् १८५४ मा शाहको जाँहनीय शासनबाट जंगबहादुर राणाले सत्ता खोसेर राणाको जँहानीया शासन लागु गरेका थिए । ई. १९५१ मा राणाको जँहानीया शासन उखाडियो र त्यसको ठाउँमा पुनः शाहको हुकुमी शासन सुरु भयो । राजा महेन्द्रले सन् १९६० मा संसदीय व्यवस्थालाई अपदस्त गरी पञ्चायती व्यवस्था सुरु गरे र नेपाललाई हिन्दु अधिराज्य घोषणा गरी गोवधमाथिको प्रतिबन्धलाई जारी राख्ने काम गरे । तीस वर्षसम्म राजतन्त्रको हुकुम चलिरह्यो । ई. १९९० मा भएको जनआन्दोलनले पञ्चायत ढाल्यो तर राजाको सत्ता ढलेन, हिन्दु अधिराज्य नै कायम रह्यो र गोवधमाथि प्रतिबन्ध पनि कायमै राखियो । ई. २००७ को ऐतिहासिक जनआन्दोलनको बलमा राजतन्त्र उखाडिएको । अन्तरिम संविधानमा (२०६३) धर्मनिरपेक्ष राज्य भनिएको तर गोवध माथिको प्रतिबन्ध हटेन । यथास्थितिवादी राजनीतिक शक्तिहरुको तागतमा संविधानसभा (प्रथम) लाई बिचैमा तुहाइयो र अर्को संविधानसभाको (दोश्रो) नाटक मञ्चन गरियो । त्यसले २०७२ सालमा नयाँ संविधान निर्माण गर्‍यो जसले धर्मनिरपेक्षको “प्रष्टिकरण” दिएर सनातनदेखि चलिआएको भनि हिन्दुराज्य नै कायम गर्‍यो । अहिलेसम्म पञ्चायती हिन्दु कानुन लागु गरेको छ र गाईलाई राष्ट्रिय जनवार भनेको छ । गाई काट्नेलाई पञ्चायती कानुन लागु गरिएको छ ।

आर्य (बाहुन, क्षेत्री) आर्यवर्त र गोवध

वेदको अध्ययनबाट ‘आर्यवर्त’मा (कुरु, पाचालतिर) आएर बसेपछि आर्यहरुले सामन्तवादी राज्य कायम गरेको (ई.पू. १५००-१०००) देखिन्छ । तिनीहरुले त्यहाँ कृषि र गाई पालनलाई जीविकाको प्रमुख साधन बनाएका थिए । त्यस बखतका आर्यहरुको (बाहुन-क्षेत्री) खाना चामल, रोटी, दुध, घीउ, गोमांस (कोरली गाई-प्रियतम) बहुप्रचलित खाद्य थियो । गर्मागर्भ सुप (मासुको रस) मुख्य पेय थियो भने सोमरस (=भाँग) प्रिय पान (पिउने) थियो । राजा रन्तीदेवको दुई सय भान्सा थिए जहाँ प्रतिदिन दुई हजार भन्दा बढी गाईको मासु पाक्तथ्यो । त्यत्तिका धेरै मासु पकाएर पनि पाहुँनाहरुलाई उनी (रन्तीदेव) नम्रतापूर्वक निवेदन गर्थे- “सुप भूमिष्टमश्नीह्वं नाद्य मांंसंं यथा पुरा” (महाभारत, द्रोण-पर्व ६७।१७, १८। शान्ति-पर्व २८-२९) । (राहुल सांस्कृत्यायन, दर्शनदिग्दर्शन, इलाहावाद : किताव महल, १९८४, पृ.२८५) । शुक्लयजुर्वेदको शतपथ ब्राह्मणका अन्तिम भाग बृहदारण्यक (६०० ई.पू) हो । त्यस उपनिषदको छैटौँ अध्यायमा असल सन्तानको लागि साँडे, गोरु आादिको मासु खानका लागि गर्भिणीलाई दिइएको विवरण छ । यसले के बताउँछ भने त्यस बखत गोमांस बाह्मण–क्षेत्रीको प्रिय खाद्य थियो (राहुल सास्कृत्यायन ऐ.ऐ. पृ.४०८) । त्यसरी नै बौद्ध साहित्य सुत्तपिटकको दीघनिकायभित्र रहेको ‘महासतिपट्ठान–सुत्त’ पाठमा एउटा गौघातकले गाईलाई मारेर चौबाटोमा बसेर मासुलाई थरीथरी टुक्रामा छुट्याएर बच्ने गरेको प्रसङ्ग छ । यसबाट के देखिन्छ भने प्राचीनकालदेखि नै भारतमा गाईको मासु खाने चलन थियो । पछि बौद्धधर्मको प्राणीहिंसा रोक्ने अभियानको प्रभाव तथा अन्य विभिन्न कारणले बाहुनले गोवध गर्न छोडे ।

तर के बुझ्न जरुरी छ भने मध्य एसिया (इरान)बाट आर्यवर्तमा आएर बाहुन-क्षेत्रीले गाईको मासु खाँदा यस हिमालय क्षेत्रका आदिवासीहरु पनि गाईकै मासु खाँदै थिए । कुनै कारणले पछि आर्यहरुले (बाहुन-क्षेत्री) गोवध छोड्नु पर्ने स्थिति प¥यो र छोडे । (त्यसबारे अन्तै छलफल गरौँला) तर यहाँका आदिवासीलाई त्यस्तो केही कारण परेन र गौवध छोडेनन् । खाँदैरहे र छन् । अहिले नेपालका आदिवासी जनजाति, दलित, मुस्लिम र क्रिश्चियन जनताहरु गाईको मासु खाने गर्छन् । यो ठूलो जनसङ्ख्या हो । १२ औं शताब्दी पछि मुस्लिम आक्रमणबाट भागेर यो पहाडमा शरण लिन आएका शरणार्थीहरुले सत्ता हातमा लिए पछि यहाँका आदिवासी जनजातिहरुलाई गोवधको नाममा अनेकौ उत्पीडन गरे र गर्दैछन् । यस बारे माथि चर्चा गरिसकेको छ ।

धर्मनिरपेक्ष राज्य व्यवहारमा देखिनु आवश्यक

नेपाल गोर्खा (शासक) जाति र हिन्दु धर्म-संस्कृतिको मात्र देश नभएर बहुजाति, बहुभाषी तथा विविध धर्म-संस्कृति रहेको देश भएकोले धर्मनिरपेक्षताको विकल्प छैन । नेपालमा आदिवासी जनजाति, मुसुलमान र दलितहरुले धर्मनिरपेक्षताको आन्दोलन पञ्चायतकालदेखि गर्दै आएका हुन् ता पनि ई. १९९० को संविधान निर्माणकालमा यो आन्दोलन निकै चर्केको थियो । तर धर्मनिरपेक्ष सैविधान बनेन (२०६२) ।

२०६३ को ऐतिहासिक जनआन्दोलनमा पनि महिला, दलित र आदिवासी जनजातिले राजनीतिक, सामाजिक, दुबै हिसाबले भाग लिए । अधिकांश राजनीतिक पार्टीहरुको घोषणापत्रमा धर्मनिरपेक्ष राज्यको वकालत गरिएको थियो । आदिवासी जनजाति, दलित र महिला आन्दोलनले धर्मनिरपेक्ष राज्य घोषणा गर्न बल पु¥यायो । अन्तरिम संविधानले “धर्मनिरपेक्ष” घोषणा ग¥यो । २०६३ सालको अन्तरिम संविधानको मर्म र भावनालाई यथास्थितिवादी तत्वहरुले बनाएको २०७२ सालको संविभानले उल्टाउने काम गरेको छ । (यो संविधान नेपाली कांग्रेस, एमाले र माकेको ९५ प्रतिशत मतले पारित गरेको थियो) । धर्मनिरपेक्षको टोपी पहिरिएको हिन्दु राज्य बनाइएको छ । राज्यले पुरै पञ्चायती हिन्दुराज्यको व्यवहार गरेको छ । संस्कृत पाठशालामा ब्रह्मण विद्यार्थीलाई पढ्न छात्रवृत्ति दिइन्छ, राज्यको सञ्चार माध्यममा घण्टौसम्म हिन्दु धर्मको प्रचार गरिन्छ । निजामती, सेना तथा अन्य अफिसमा हिन्दु मन्दिर बनाइन्छन् । संस्कृत पढेकालाई सरकारी अफिसरको जागिर प्राप्त गर्न सजिलो (लोकसेवाको पाठ्यक्रम) पारिएको छ । गोर्खाली जातिको (२८ प्रतिशत) भाषालाई “नेपाली र सरकारी कामकाजको भाषा” बनाइएको छ ।

यी सबै कारणले नेपाल हिन्दु राज्य नै छ । मुख्य कुरो त शासक जातिको मनस्थिति बदलिएको छैन । राज्यको शासन प्रशासनमा सबै जाति÷भाषा र समुदायको समानुपातिक प्रतिनिधित्व नभएसम्म गोर्खाली र गैरगोर्खाली जातिका बिच समभाव र सहकार्य हुन सक्तैन । त्यसका लागि धर्मनिरपेक्ष राज्य व्यवहारमा देखिनु पर्दछ । तर अहिले समभाव र सहकार्य तर्फ होइन शत्रुभाव र धर्मयुद्धतिर मुलुकलाई धकेलिँदै । सबैलाई चेतना भया !

srtamang@gmail.com

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका