भारतको रिमोट बेइजिङमा सक्रिय

काठमाडौं

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणलाई दुई देशको ऐतिहासिक दूरबिनले नियाल्दा आराम र मनोरञ्जन बाहेक मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्‍याउन कुनै कसरत गरेको देखिदैँन् । निर्बलले बहुबलको अगाडी शरण पर्न गए जस्तो दृश्य देखिनु गोर्खालीको सान र मानको धज्जी उड्नु हो । घरपालुवा कुकुरलाई त मालिकले खानाको सङ्केत नदिउन्जेलसम्म आफ्नो इज्जत कायम राख्छ भने वीर नेपालीको प्रतिनिधित्व गरेर उत्तरी छिमेकी राष्ट्रको ब्यर्थाको भ्रमण गर्नु गरिब देशको ढुकुटी भत्ताको रूपमा बिना हकमा रित्याउनु मात्रै हो । नेपाल अनुकूल मुद्दाहरूको भिटामिनले कमी यो भ्रमणको औचित्य भ्रमणकर्ताले बडो जोड्तोड्ले गर्लान् तर जनताले आस गरेको फल भने शून्य रहेको छ । ३० भदौमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा पुगेका चन्चले प्रधानमन्त्री ६ असोजमा चीनको हाङजाउमा हुने एसियाली खेलको उद्घाटन समारोहमा भाग लिन पुगेछ । अब आशातीत गरिब नेपाली जनताले आफ्नो प्रधानमन्त्रीको लोकेसन पनि गुगल ट्र्याकबाट गर्नु पर्ने देखियो । सत्ताको भत्तामा देशभित्रको सत्कारले नपुगेर चिनियाँ राष्ट्रपति सी जिनपिङ, सिरियाली राष्ट्रपति बसर अल असदलगायतसँग मञ्च शेयर गर्न पुगेछ ।

बेइजिङमा माओत्सेतुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने प्रचण्डले नेपाल-चीन सम्बन्धका सेतु मियायोयिङ मन्दिरमा रहेको अरनिको सालिकमा पनि माल्यार्पण गरेको भए कति राम्रो हुन्थ्यो ।

विश्वको शक्तिशाली चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हाई हेल्लो गरेर मात्र फर्केका अदूरदर्शी प्रचण्डले हिड्डुल भत्ता पचाउने बाहेक नेपालको दीर्घकालीन विकासको निम्ति सदैव सकारात्मक रहेको उत्तरी छिमेकीसँग कुनै प्रकारको मुलुक हित सन्धि सम्झौता नगर्नु दक्षिणको रिमोटले काम गरे जस्तो लाग्छ । तर, ७ असोजमा नेपाल चीन बिजनेस समिटमा नेपालमा चिनियाँ लगानीकर्ताको संरक्षण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै स्यालको हुइयाँ गरेछ । विश्वले चिनियाँ लगानीकर्ताहरूलाई आकर्षित गर्न विभिन्न प्याकेजको अफर दिइरहेको बेला खाली हात पुगेका प्रचण्डले चीनको सच्चा मित्र भन्दै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजलाई गफाडी क्लबमा परिन्त गरेछ । हुन त बाँदरको हात जहिल्यै पनि खाली हुन्छ भनेको यही होला । खाली हात चीन पुगेका प्रचण्डले त्यहाँका शीर्ष नेताहरूसँग भने वार्ता गर्ने अवसर पाएछ, त्यो भनेको मान्छेले छेपारोसँग संवाद गरे झैँ हो । प्रचण्डको लागि वार्ताको उपलब्धि भनेको ‘चीन भनेकै सी हुन्, सी भनेकै चीन हुन्’ बुझेछन् । सन् २०१९ मा राष्ट्रपति सीले नेपाल भ्रमण गरेपछि दुई देशको सम्बन्ध नयाँ उचाइमा प्रवेश गरे पनि त्यो बेला भएका सम्झौता तथा समझदारीहरूलाई कार्यान्वयन गर्न पहल हुनुपर्नेमा वार्ताको टेबल मात्र ओगटेर प्रचण्ड स्वदेश फर्के ।

राष्ट्रवादी छवि बनाएर जनजनको मनमा बस्न सफल तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा भएको क्रस बोर्डर रेलवे निर्माण, काठमाडौँ-पोखरा-लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन, अरनिको राजमार्गको स्तरोन्नति र स्याफ्रुबेसी-रसुवागढी सडकको मर्मत, सन् २०१६ मा भएको नेपाल-चीनबिच पारवहन तथा यातायात सन्धि, टोखा-छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन र काठमाडौँको चक्रपथ विस्तार र सन् २०१७ मै नेपालले हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसियटिभलाई कार्यान्वयन गर्ने मोडालिटीमा कुनै उपलब्धि हासिल हुन सकिएन । सायद त्यो बेला प्रचण्डले बोकेको कलममा मसी सिद्धिएको हुनुपर्छ । एक चीन सिद्धान्तप्रति शब्द खर्च गर्न कन्चुस्याँई नगर्ने प्रचण्डले चीनले भरखरै नेपालको अभिन्न भू-भाग छाडेर जारी गरेको नक्सामा प्रश्न चिन्ह उठाउन सक्नुपर्थ्यो र चीनलाई पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न अङ्ग हो भन्न बाध्य बनाउनु पर्थ्यो । सदैव हामी मात्र उनीहरूको सिद्धान्तमा घोटिनु पर्ने तर बदलामा हामीले भने उधारो पैँचो मात्र पाउने संस्कारको अन्त्य कहिले हुन्छ होला ? सम्भवतः त्यो बेला प्रचण्डलाई भारत कम्फरटेबल ब्यानरले दुख दियो होला ।

बेइजिङमा माओत्सेतुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने प्रचण्डले नेपाल-चीन सम्बन्धका सेतु मियायोयिङ मन्दिरमा रहेको अरनिको सालिकमा पनि माल्यार्पण गरेको भए कति राम्रो हुन्थ्यो । बरु, प्रचण्डले अरनिको भन्दा पनि ल्हासाको पोतला दरबार र गुम्बाहरू, मानसरोवर तथा कैलाश पर्वतको दर्शनमा दुई दिन बिताउन रुचाए । त्यति मात्र कहाँ हो र, नेपाल फर्किनु अघि सिचुआन प्रान्तको छेन्दु पुगेर पान्डाको प्रजनन अध्ययन केन्द्रको मज्जा लिए । तीन मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्यसचिव, आधा दर्जनभन्दा बढी सचिवहरू, प्रधानमन्त्रीका सचिवालयका सदस्यहरू तथा परराष्ट्र मन्त्रालयका कर्मचारीहरू सहितको जम्बो टोलीले गरिब नेपाली जनताको पसिनाले तिरेको करमा भत्ता पचाउने बाहेक अन्य केही उपलब्धि हासिल गर्न सकेनन् । यस्ता बेतुकको भ्रमणले जनतालाई करको बोझ र मुलुकलाई विश्व र क्षेत्रीय मञ्चहरूमा हास्यास्पद रूपमा मात्र चित्रण गर्नेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका