रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ बृद्विम निवासी नुर्पु डोल्मा तामाङले आफ्नै जग्गामा टिमुर खेती गरी मनग्य आम्दानी गरिरहेकी छन् ।
घरेलु कार्यालय रसुवामा टिमुर खेतीको फर्म दर्ता गरी यही साउन र भदौ दुई महिना लगाएर २६ हजार बोटबाट खेती सुरु गरेकी हुन् ।
रुकुमबाट ५५ रुपैयाँ प्रति बोट किनेर ल्याई रोपेपछि उनलाई वन कार्यालयबाट पनि १६ सय बिरुवा अनुदान गरेका छन् ।
श्रीमानको साथमा मिलेर टिमुर खेतीको सुरुवात गर्न लागेको तामाङले बताइन् । ‘अहिलेसम्म आफ्नै लगानीमा गरिरहेका छौ’‚ उनले भनिन्‚ ‘बिरुवा रोपेको तीन वर्ष जतिमा फुल फुल्न थाल्छ र चौथो वर्षदेखि फल फल्न थाल्छ ।’
टिमुरको अलावा सिजन अनुसारको तरकारी समेत हुन्छ । अर्ग्यानिक भनेपछि स्थानीय बजारमा भ्याई नभ्याई हुन्छ । अहिलेको परिप्रेक्ष्यमा मानिसहरू आर्थिक मन्दी भयो भन्दै विदेश जान्छन्‚ आफ्नो गाउँ ठाउँको जग्गा जमिनलाई बाझो राखेर तर म चाहिँ आफ्नै गाउँमा बसेर काम गर्छु भनेर टिमुर खेतीमा लागेको छु ।
आम्दानी चाडै नहुन सक्छ तर दिगो रूपमा पछि त आम्दानी हुन्छ भन्ने लागेर यो तर्फ लागेको उनले बताइन् ।
जहाँ गए पनि दुख गर्नै पर्छ । पैसा रूखमा फल्दैन । त्यसैले बुढासँग सल्लाह गरेर म विदेश जान्न । नेपालमै आफ्नै गाउँमा रहेर परम्परागत रूपमा गर्दै आएको कृषि पेसालाई परिमार्जित गरेर नयाँ तरिकाले खेती गर्ने सोचकासाथ अगाडि बढेको उनले बताइन् ।
‘कहिलेकाहीँ त आफू सरहका साथीहरू रमाएर सहरमा बसिरहँदा आफूलाई पनि रहर नभएको होइन । तैपनि दुख त गर्नै पर्छ भनेर टिमुर खेतीमा लागेको हो’‚ तामाङले भनिन्‚ ‘व्यवसायिक रूपमा नै रसुवाको वृदिममा टिमुर खेती सुरुवात गरिएको हो ।’
नेपालमा स्याङ्जामा सबैभन्दा बढी टिमुरको खेती गरिन्छ । यस बाहेक रुकुम‚ जाजरकोट‚ सुर्खेत‚ दैलेख‚ रोल्पा‚ म्याग्दी‚ गुल्मी‚ बागलुङ‚ पाल्पा र पर्वत लगायतका जिल्लाहरूमा टिमुरको खेती गरिन्छ ।