स्क्रब टाइफस संक्रमणबाट दुईको मृत्यु, ९९ संक्रमित

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा संक्रमन देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा स्क्रब टाइफसको संक्रमन देखिएको हो ।

स्क्रब टाइफसका कारण मृत्यु भएकामा एक जना गैंँडाकोटकी महिला र एकजना रौतहटका पुरुष रहेको केसीले जानकारी दिए । जिल्लाका अस्पतालमा उपचार गराउन आउनेमा चितवनसहित नवलपरासी, तनहुँ, गोर्खा, मकवानपुर, धादिङ, रौतहट, बारालगायका जिल्लाका रहेका छन् ।

स्क्रब टाइफस ओरीएण्टा सुसुगामुसी नामक ब्याक्टेरियाबाट हुने संक्रामक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइटस)लाई संक्रमनमा पार्दछ । ती संक्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्न रुचाउने गर्दछन् ।

यी संक्रमित किर्ना बोकेका मुसा, जनावर मानिसको सम्पर्कमा आएपछि मानव शरीमा टाँसिएर टोक्ने केसीले जानकारी दिए । यसबाहेक, ग्रामीण भेगमा झारपात र झाडीमा संक्रमित किर्ना प्रशस्त हुन्छन् । ग्रामीण भेगका किसानलाई प्रत्यक्ष रुपले यी किर्नाले टोकेमा स्क्रब टाइफस रोग सर्ने गर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । गर्भवतीले स्क्रब टाइफसबाट संक्रमित भए उनकोे गर्भाशय रहेको शिशु अङ्गभङ्ग हुने सम्भावना रहेकाले यस सम्बन्धी परामर्श लिनुपर्ने चिकित्सकको सुझाव छ ।

आर्थिक वर्ष २०७४/७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण गर्दा ४१० जनामा स्क्रब टाइफस भेटिएको थियो ।

रासस

तपाईको प्रतिक्रिया