एसिया प्यासिफिक मोटर स्पोर्टस् च्याम्पियनसिपमा नेपालका चार खेलाडीले सहभागिता जनाउने भएका छन् । आगामी शनिवार र आइतबार मलेसियाको सेपाङ्ग इन्टरनेशनल रेसिङ्ग सर्किटमा हुने एसियाली स्तरको सबैभन्दा ठुलो मोटर स्पोर्ट्सको प्रतियोगितामा नेपालबाट चार खेलाडीले सहभागिता जनाउन आजै मलेसिया पुगेका छन् ।
विभिन्न पाँच विधामा हुन लागेको प्रतियोगितामा नेपालबाट वर्षा बस्नेत, अमनकुमार चौधरी, अमरज्योती रञ्जित र आशिष भारतीले चुनौती पेस गर्नेछन् । सिताराम न्यौपाने म्यानेजरको रूपमा नेपाली टिममा सहभागी छन् ।
च्याम्पियनसिपमा कार्टिङ स्प्रिन्ट, र्याली, इ स्पोर्ट्स, कार्टिङ स्लालम र अटो जिमखाना गरी ५ विधा समावेश गरिएको छ । नेपालबाट कार्टिङ स्लालम कपमा वर्षा बस्नेत र अमनकुमार चौधरी तथा अटोजिमखानामा अमरज्योती रञ्जित र आशिष भारतीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा १८ देशका १ सय ७० खेलाडीले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन् ।
पहिलो पटक ओलम्पिक ढाँचामा सञ्चालन हुन लागेको एसियाली स्तरको प्रतियोगितामा नेपालबाट सहभागी वर्षा बस्नेत अटो जिमखाना नेपाल २०२३ की सहभागी हुन् भने सन् २०२३ को पावर टु पावर स्टेरिङमा पहिलो भएर च्याम्पियनसिपमा जान लागेकी हुन् । अमन, अमरज्योती र आशिषले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाइक रेसिङमा प्राप्त गरेको नतिजा र सफलताका आधारमा एसिया प्यासिफिक च्याम्पियनसिपमा सहभागीताका लागि पठाइएको नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले जनाएको छ ।
यसअघि एफआईए मोटर स्पोर्ट्स गेम्सको रूपमा गत वर्षदेखि फ्रान्सबाट सुरु भएको वर्ल्ड च्याम्पियनसिप पछि यस किसिमको प्रतियोगिता मोटर स्पोर्टस एसोसिएसन अफ मलेसियासँगको सहकार्यमा पहिलो पटक एसिया–प्यासिफिक स्तरमा आयोजना हुन लागेको हो । करिब १५ वर्ष अघिदेखि नेपालमा सुरुवात भएको मोटर स्पोर्ट्सले पहिलो पटक ओलम्पिक ढाँचामा एसियाली स्तरको प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
सर्ट सर्किटलाई आधार गरेर डिजाइन गरिएको च्याम्पियनसिपमा नेपालले अटो–जिमखानाबाट पदकको आशा गरेको छ । यसअघि अमरज्योती रञ्जितले एसिया प्यासिफिक अटो–जिमखान च्याम्पियनसिपको फाइनल राउन्डसम्मको यात्रा तय गरेका थिए । प्रतियोगितामा सहभागी हुने दर्ता शुल्क, यातायात, होटेल, गियर र ग्याजेट गरी करिब १६ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले अटो जिमखानामा राम्रो प्रदर्शन र पदकको अपेक्षा गरिएको बताए । ‘पुराना रेकर्डका आधारमा अटो जिमखानामा पदक आउने अपेक्षा गरेका छौँ ।’ भट्टराईले भने, ‘हाम्रो स्तरको मोटर स्पोर्ट्समा बल्ल प्रवेश गरेका छौँ । ओलम्पिक ढाँचाको एसियाली स्तरको सबै भन्दा ठुलो प्रतियोगितामा खेलाडी सहभागी भएका छन् । आगामी दिनमा यस इभेन्टमा नै केन्द्रित हुने र सहभागितालाई वृद्धि गर्दै लैजाने लक्ष्य छ ।’
सङ्घका अध्यक्ष दशरथ रिसाल, सचिव सन्तोष न्यौपाने, मार्सल कमिसनका सदस्य आशिस रौनियार तथा नेपाल मोटरस्पोर्ट क्लबका अध्यक्ष दीपक आचार्य लगायतले हिजो अबेर नेपाली टिमलाई बिदाइ गरिएको थियो ।