माछापुच्छ्रे बैङ्क लिमिटेड २४ औँ वर्षमा प्रवेश गरेको छ। २३ वर्षअघि पोखरामा क्षेत्रीय स्तरको बैङ्कको रूपमा माछापुच्छ्रे बैङ्क स्थापना भएको थियो।
वार्षिकोत्सवको अवसरमा बैङ्कले एक विशेष कार्यक्रमको आयोजना गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरूलाई सम्मान समेत गरेको छ।
कार्यक्रममा माछापुच्छ्रे बैङ्कका अध्यक्ष डा. उपेन्द्र महतोले २३ वर्षसम्म बैङ्कको निरन्तर उन्नति, प्रगति र सम्वृद्धिका लागि सहयोग गर्ने सबैमा धन्यवाद समेत दिए। महतोले आगामी दिनमा अझ गुणस्तरीय बैङ्किङ सेवा दिँदै ग्राहकहरूलाई थप उत्कृष्ट सुविधाहरू प्रदान गर्दै बैङ्कको संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सञ्चालक समितिका सदस्य जयमुकुन्द खनाल र बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्ना सेवाहरूलाई अझ सरल, सहज र विश्वसनीय ढङ्गले जिम्मेवारी बोध गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता जनाएका थिए।