महिला सांसदलाई सञ्चारमाध्यमले प्राथमिकतामा नराखेको गुनासो

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
56 Shares
काठमाडौं

महिला सदस्यहरूले आफूहरूले उठाएका सवालबारे सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् । सञ्चारमाध्यमले राजनीति पद र विवादित विषयलाई प्राथमिकतामा राख्दा महिला सांसदहरूले उठाएका महत्त्वपूर्ण र संवेदनशील विषय पनि ओझेलमा पर्ने गरेको उनीहरूले गुनासो गरेका हुन् ।

‘महिला सांसद र सञ्चार’ विषयमा संसद् सहयोग परियोजनाको सहकार्यमा नेपाल एफएम नेटवर्कले शुक्रवार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै सांसदहरूले सञ्चारमाध्यमले विषय भन्दा व्यक्तिलाई ध्यान दिएको गुनासो गरे ।

कार्यक्रममा सांसदहरूले वास्तविकतामा कानुन निर्माणमा महिला सांसदको सक्रिय सहभागिता रहेको तर सञ्चारमाध्यमले यस्ता विषय खोजेर समाचार तयार गर्न नसकेको सांसद नारायणी शर्माको भनाई छ ।

उनले मिडियाको पहिलो रोजाई पुरुष सांसद पर्ने र महिला सांसदलाई प्राथमिकतामा नराख्ने गरेको आरोप लगाइन् । सांसद शर्माले चर्चामा आउने विषयमा पुरुष सांसद केन्द्रबिन्दुमा रहने उल्लेख गरिन् । ‘पुरुष सांसदले सत्तापक्ष÷प्रतिपक्षको विरोध गर्ने÷कटाक्ष बढी गर्छन्’ उनले भनिन्, ‘राजनीति विवाद र आरोप प्रत्यारोपमा लागेकाले बढी समाचार आएको होला, हामीले गम्भीर विषय उठाउँदा पनि समाचार आउँदैन । ’

सांसद सरिता भुसालले महिलालाई हेर्ने समाजको दृष्टिकोण फरक रहेको र महिलाले केही जान्दैनन् भनेर उपहास गर्ने चलन रहेको बताइन् । यसो हुँदाहुँदै पनि महिला सांसदहरू अगाडी बढिरहेको छ, अहिले सदनमा पनि अत्यन्तै टट्कारो रूपमा बोल्ने महिलाहरू हुनुहुन्छ, उनले भनिन् । सांसद भुसालले पुरुष सांसदको तुलनामा महिला सांसद अझै पनि अगाडी आउन नसकेको बताइन् ।
सांसद हर्कमाया विश्वकर्माले संसद्मा बोल्ने क्रममा र कानुन निर्माणमा महिलाको सहभागिता सशक्त देखिएको तर जनताकोबीचमा स्थापित हुन नसको बताइन् । एउटै विषयमा बोल्दा पुरुष सांसदको कुरा मिडियामा आउने तर महिला सांसदको कुरा नआउने प्रचलन कायम रहेको उनको दाबी छ । संसद् भवनबाट निस्किँदै गर्दा मिडियाले पुरुष सांसदलाई नै बढी प्राथमिकता दिने गरेको सांसद विश्वकर्माको भनाई छ । ‘मैले संसद्मा उठेर संसद् भवनभित्र महिलामाथि, दलितमाथि विभेद भयो, भनेर भन्दा पनि समाचारमा आएन’, उनले भनिन्, ‘त्यही कुरा पुरुष सांसदले बोल्यो भने आउँछ, हामीले बोल्यो भने आउँदैन । किन हो बुझ्न सकिएको छैन । ’

सांसद सिताकुमारी रानाले महिला सांसदले नबोलेको भन्ने कुरा सही नभएको दाबी गरिन् । उनले सांसद बन्नका लागि मिडियाले धेरै सघाएको बताउँदै सजक गराएको बताइन् । सांसद रानाले कहिलेकाहीँ राम्रो बोलेको कुरा पनि तथ्य बङ्ग्याएर प्रस्तुत गरिदिने गरेको उल्लेख गरिन् ।

सांसद विन्दवासिनी कंसकारले आफूले संसद्मा बोलेको कुरालाई मिडियाले कम प्राथमिकता दिएको बताइन् । ‘महिला सांसदले बोलिरहेको समयमा पुरुष सांसद आउनुभयो र पत्रकारहरू पुरुष सांसदतर्फ जानुभयो’ उनले भनिन् । महिला सांसदहरू कहिल्यै पनि मिडियासँग तर्केर नहिँडेको सांसद कंसकारको भनाई छ । मिडियाले महिला सांसदलाई प्राथमिकतामा पार्न सक्नुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा संसदीय रिपोर्टिङ गरिरहेका पत्रकारहरूले सांसदहरूलाई पत्रकारसँगको सम्बन्ध÷समन्वय बढाउन, विषयवस्तुबारे जानकारी गराउन सुझाव दिएका छन् ।

राष्ट्रिय सभाको दुई वर्ष (२०७५–०७६) को तथ्याङ्क अनुसार निर्माणको क्रममा परिमार्जन भएका ३३ वटा विधेयकमा संशोधन दर्ता गराउने महिला सांसदको सहभागिता ३२.७५ प्रतिशत देखिएको छ । प्रतिनिधि सभातर्फ परिमार्जन भएका ३९ वटा विधेयक हेर्दा संशोधनमा महिला सांसदको सहभागिता ५०.६ प्रतिशत देखिएको छ । पुरुषले बोलेका विषय बढी राजनीतिक र महिला सांसदले बोलेका विषय विषय केन्द्रित देखिएका छन् ।

महिला सांसदलाई पत्रकारहरूको सुझाव

अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार विनय गुरागाईँले महिला सांसदले सञ्चार माध्यमसँग समन्वय गर्न नसक्दा पनि समाचारमा क्रेज कम भएको बताए ।

राजनीतिमा पनि नेतृत्व तहमा महिलाको कमी, महिला राजनीतिज्ञको सूचनामा कम पहुँच, महिला राजनीतिज्ञ सूचनाको स्रोत बन्न कठिन हुँदा पनि यस्तो समस्या देखिएको उनको भनाइ छ ।

राजनीति र संसदीय विषयलाई नै आफ्नो बिट बनाएर काम गरिरहेका पत्रकारहरूले पनि महिलाले विषयवस्तुलाई फरक तरिकाले प्रस्तुत गर्न नसकेकाले पनि महिला सांसदले उठाएका विषय सञ्चार माध्यममा आउन नसकेको बताए ।

संसदीय मामिला पत्रकार समाजका महासचिव पत्रकार जयसिंह महराले महिला सांसदहरूले अध्ययन गरेर विषयवस्तु कम राख्ने गरेको र राजनीतिक विषयमा बोल्न रुचि नदेखाएकाले सञ्चार माध्यमले पुरुष सांसद खोज्नु परेको बताए ।

महिला सांसद र सञ्चार माध्यमबिचको दूरी कम गर्न तथा महिला सांसदले खेलेका भूमिकालाई थप प्रभावकारी बनाउन समय–समयमा यस्ता अन्तरक्रिया तथा छलफल गर्न आवश्यक उनको सुझाव छ ।

पत्रकार जीवन भण्डारीले महिला सांसद आफैले पनि समन्वय गर्न नसकेको टिप्पणी गरे । विषयवस्तु माथिको अध्ययन, पत्रकारसँग निरन्तर सम्पर्क, सृजनशील प्रस्तुति महिला सांसदले राख्न नसकेको स्वीकार गरेर अघि बढ्न महिला सांसदहरूलाई सुझाव दिए ।

पत्रकार सोविता रिसालले महिला सांसदहरूले सांसदभित्र र बाहिर गर्ने प्रस्तुति र विषयवस्तुमा ध्यान दिनुपर्ने सुझाव दिइन् । कुनै समाचारका विषयमा जिज्ञासा राख्दा महिला सांसदले दिने जवाफ र भित्री सूचना राख्न नसक्दा पनि सञ्चार माध्यमको खोजीमा कम पर्ने गरेको अनुभव सुनाइन् ।

पत्रकार गीता चिमोरियाले पहिलो चरणमा महिला सांसद आफै अग्रसर हुनुपर्ने र सञ्चार माध्यमले पनि प्राथमिकता दिनुपर्ने बताइन् । महिला सांसदले विषयवस्तुको छनौट समय अनुसार गर्न नसक्नुपछि उनीहरूका विषय आउन नसक्ने एउटा कारण रहेको उहाँको तर्क छ ।

महिला सांसद र पत्रकारहरूले मिडियासँगको सम्बन्धलाई थप प्रभावकारी र सुमधुर बनाउन आगामी दिनमा पनि सञ्चारमाध्यमसँग निरन्तर छलफल गर्न सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका