भ्रष्टाचार र बेथितिका फाइलहरू खोलेर विपक्षहरूलाई तह लगाउने रणनीतिका साथ अघि बढेको माओवादी आफैँ विवादको भूँमरीमा फँस्दै गएदेखि आफ्नो बचेखुचेको साख जोगाउन फेरी जनशक्तिको तागतले भरिएको नेकपा एमालेसँग कार्यगत एकतादेखि पार्टीगत एकतासम्मको कुरा गर्न सामाजिक सञ्जालमार्फत् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आव्हान गर्न भ्याएछ । कम्युनिष्टको आलोकमा दक्षिणपन्थी अवसरवाद र घरेलु प्रतिक्रियावादी शक्ति काँग्रेससँगको सत्ता साझेदारमा देखिएको तिक्तताले राज्य लुटको धन्दालाई यथास्थितिमा राख्न पनि माओवादीहरूलाई यो बेला टेकोको आवश्यकता परेको हो । जुन राजनीतिक दलसँग सत्ता सहकार्य गरिन्छ, उहीसँग बेमेलको अवस्था सृजना गर्नु प्रचण्ड नेतृत्व माओवादीको राजनीतिक दस्ताबेज नै हो । यिनका राजनीतिक मुद्दाहरूमा जनतालाई महँगी, बेथिति, भ्रष्टाचार, राष्ट्रघात र जनघात लेखिएको छ भने बहुदलीय प्रतिस्पर्धाको माध्यमबाट जन-अनुमोदित दलहरूसँग भने तिक्तता, वैमन्यस्ता, छलकपटको स्थिति रहेको छ ।
भ्रष्टाचार र राज्य लुटको धन्दा बाहेक अन्य केही नदेख्ने यस्ता जनघात र राष्ट्रघातका नाइकेहरूसँग जनताले विश्वास गरेको दल नेकपा एमालेले अस्थायी रूपमा भए पनि सत्ता सहकार्यको सपना बुन्नु हुँदैन किनकि यसो गरेको खण्डमा चोरको होइन, चोरको भुलभुलैयैमा लागेर चोरसँग मितेरी लगाउने व्यक्तिको सामाजिक मान र सान धुलोमा मिसे झैँ जनताको आड भरोसाले जीवित दल नेकपा एमालेको पनि त्यही हाल हुनेछ । हाम्रो राजनीति भनेको व्यक्तिको निम्ति होइन, देश र समाजको निम्ति हो । हाम्रो समर्पण अवसरवादी तत्त्वहरूलाई साथ दिएर जनविचार र जनसरोकारका मुद्दाहरूलाई ओझेला पार्नु होइन । श्रमजीवी जनता हाम्रा आवाज हुन भने जनमुद्दा हाम्रा निर्विकल्प लक्ष्य हो । त्यो समाजवादी लक्ष्य हासिल गर्न अहिले नेकपा एमालेलाई प्रतिपक्षको भूमिका नै काफी छ । भ्रष्टाचार, बेथिति र विसंगतको हुलिया बनाइ सकेको र पतनोन्मुख कुनै पनि राजनीतिक दलको भारी बोक्न हामी एमालेजनहरुलाई जनताले गत मङ्सिरको निर्वाचनबाट मतको आधारमा शीर्षस्थानमा पुर्याएको होइन । यसको मतलब यो पनि होइन कि कुनै पनि दृष्टिकोणबाट बहुदलीय प्रतिस्पर्धाबाटै समाजवादको सार्थक सपना देख्ने जनताको बहुदलीय जनवादको अनुयायीहरूले सहकार्य र कार्यगत एकता गर्दैन भन्ने । हामी जहिले पनि जनमुद्दाहरूलाई स्थापित गर्न विचार र विमर्श मिल्ने दलहरूसँग सहकार्य गर्न हमेसा तयार रहनुपर्छ तर जसले जनमुद्दाको ब्यानरमा जनता लुट्ने धन्दालाई प्रशय दिन्छ, ऊसँग भुलेर पनि सँगै हिँड्नुको औचित्य जनतामाझ पुष्ट गर्न सकिदैन् ।
के हामीले अब फेरी माओवादीसँगको कार्यगत एकता र पार्टी एकताको बारेमा मोफसलको चिया गफदेखि सामाजिक सञ्जालमा ओइरो आउने जनप्रश्नहरूको जवाफ दिनसक्छौं रु हामी जनमुद्दाहरूलाई राज्यको निर्णायक तहमा स्थापित गर्न त्यति धेरै कमजोर छैनौँ, जुन हिजोबाट हामी गर्दै आएका छौँ । हामीले जनतासँगको हिसाबकिताबमा कहिल्यै पनि छलकपटको इतिहासलाई निरन्तरता दिनेहरूलाई क्रमभङ्ग गर्दै आएका छौँ । त्यो सामर्थ्य घटेको होइन, अझ बलियो हुँदै आएको छ । मिसन ०८४ अहिलेको हाम्रो एक मात्र उद्देश्य वा अर्जुनदृष्टि नै भनौँ । भ्रष्टाचारको चङ्गाबाट उन्मुक्ति मिल्न सुशासनको मन्त्र जप्दैमा त्यसको उद्धार हामी एमालेजनहरुले गर्नुपर्छ भनी हाम्रा विधानहरू र मुलुकको संविधानमा कहिकतै लेखिएको छैन । यदि भुलबस लेखेको भए पनि त्यो च्यातेर फ्याँक्ने साहस हामीभित्र हुनुपर्छ ।
अहिलेको हाम्रो कार्यभार भनेको जनमुद्दाहरूलाई राज्यको निर्णायक तहहरूमा स्थापित गर्न र भारतीय बिस्तारवाददेखि साम्राज्यवाद हुँदै वैदेशिक एकाधिकारवादका सबै खाले प्रतिक्रियावादी खोलहरू च्यात्दै जननेता मदन भण्डारीद्वारा यो मुलुकको विशिष्ट परिस्थिति अनुरूप प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गनिर्देशमा वैज्ञानिक समाजवादको प्रादुर्भाव गर्नु नै हो । त्यसका निम्ति ती देशीविदेशी प्रतिक्रियावादी शक्तिका पर्खालहरू भत्काउन हामीले हाम्रा पार्टी, सङ्गठन र जनसंगठनहरुलाई चुस्त र दुरुस्त बनाउनुको विकल्प छैन र त्यही दिशातर्फ हामी लम्केका पनि छौँ । त्यसैले, जनधार र मुद्दाधारीले गति छाडिसेका नाम मात्रको पार्टीलाई हामीले सान्त्वनासम्म नदिँदा राम्रो हुन्छ । बरु, माओवादी नेतृत्वले देशी र विदेशी प्रतिक्रियावादी शक्तिको अघि घुँडा टेक्दा पनि सर्वहारा वर्गीय चिन्तनलाई बोकेर हिँड्ने ती सच्चा र इमानदार माओवादी कार्यकर्ताहरूलाई भने व्यवस्थापन गर्न हामीले हाम्रा श्रमजीवी हातहरूलाई फैलाउनै पर्छ । यसो गरेको खण्डमा दक्षिणपन्थी अवसरवाद र हामीभित्रै नजानिँदो पाराले हुर्केका साङ्गठनिक अराजकतालाई परास्त गर्न पनि मद्दत मिल्नेछ ।
जबजको राजनीतिक दस्ताबेजले भ्रष्ट र जनताको नजरमा पतित भएकाहरूको सङ्गठन निर्माण भनेको छैन । मार्क्सवाद-लेनिनवादलाई प्रधानता ठान्ने हामी जस्ता राजनीतिक पार्टीहरूले समयसमयमा देखिने प्रश्नहरूको छानबिनमा द्धन्द्धवाद र भौतिकवादको स्थितिलाई ध्यानमा नराख्ने हो भने यसले एकलकाँटेपन र आत्मवादलाई जन्माउनेछ, विचारको सङ्कीर्णता, व्यवहारबाट अलग्याई, वस्तु तथा घटनाहरूको उपयुक्त विश्लेषण गर्ने क्षमताको अभाव, संशोधनवादी र जडसूत्रवादी भूलहरू र राजनीतिमा गल्तीहरूतर्फ डोर्याउनेछ । हामीले बोकेका अन्तिम निर्विकल्प लक्ष्य साम्यवादी व्यवस्थाको लागि सङ्घर्ष भनेको भौतिक एवं प्राविधिक आधारको सृजना र साम्यवादी सामाजिक सम्बन्धहरूको निर्माण मात्र होइन, यो मानव व्यक्तित्वको चातुर्दिक एवं सामन्यस्ययुक्त विकास पनि हो । समाज विकास र मानव विकासको यस्तो महान् दिग्विजयी लक्ष्य बोकेर हिँडेका हामी एमालेजनहरुले दक्षिणपन्थी अवसरवाद हुँदै प्रतिक्रियावादी शक्तिको खेमामा उभिन सफल श्रमजीवी जनताको नजरमा एक पतनोन्मुख दललाई अस्थित्वको लडाइँमा जनमुद्दालाई कार्पेटमुनि बिछ्याउँदै साथ दिन थाल्यौँ भने आगामी ०८४ आवधिक निर्वाचनमा हामी पनि विलय हुनुपर्ने परिस्थिति सृजना हुनेमा कुनै शङ्का रहदैँन् । हाम्रो ऊर्जा भनेकै जनता र सङ्गठनमा आबद्ध इमानदार कार्यकर्ताहरू हुन् । त्यसैले, हाम्रो महान् लक्ष्यलाई हासिल गर्न हाम्रै तागतलाई कम्युनिस्ट विचार र सिद्धान्तले मलजल गर्दै अघि बढौँ ।