गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष पदका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले नेपालीहरू बिदेसिने परिवेशलाई न्यूनीकरण गर्ने बताएका छन् । युरोपको विभिन्न देशको भ्रमणपश्चात् सोमबार नेपाल आइपुगेका शर्माले त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टमा पत्रकारहरुसँग भेटघाट गर्दै सो कुरा बताएका हुन् ।
उनलाई नेपालमा शुभेच्छुकहरूले स्वागत गरेका थिए । हामीले सिकेका सीप ज्ञानलाई सदुपयोग गर्दै समृद्ध नेपाल निर्माणमा लागिपर्ने उनले बताएका हुन् ।
उनले आफ्नो उम्मेदवारी घोषणा गरेको जानकारी दिँदै अबको नेतृत्व मध्यपूर्वमा भयो भने मात्र श्रमिकको हकहितका निम्ति धेरै कार्य गर्न सकिने बताए । गत हप्ता बुधवार आफ्नो कर्मभूमि कतारको दोहामा अध्यक्षको उम्मेदवारी दिएका थिए । युरोपको करिब एक साता लामो भ्रमण सकेर शर्मा सोमबार नेपाल आइपुगेका हुन ।
उनले भने‚‘मैले प्रतिवद्धताहरु सार्वजनिक गरिसकेको छु‚ ती प्रतिबद्धताहरूमा समृद्ध नेपाल निर्माण र प्रवासमा रहेका श्रमिकहरूको हकहितमा मध्यनजर गरी सार्वजनिक गरेको छु ।’
अध्यक्षका प्रत्याशी शर्माले विश्वभरका नेपालीहरू आफ्नो पक्षमा देखाएको साथ र समर्थनले उत्साहित भएर चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
शर्मा गैर आवासीय नेपाली अभियानमा सन २००५ देखि सक्रिय छन् । उनले गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरेका छन् । हाल उनी सङ्घको आइसिसी उपाध्यक्ष हुन ।
अध्यक्षको उम्मेदवारीमा आफ्नो समर्थन जुटाउन तथा विश्वका गैर आवासीय नेपाली अभियन्तासँग छलफल र सुझावको लागि शर्माले ४० वटा देशको भ्रमण गरेका छन् ।
शर्माले पछिल्लो ३ महिनामा ४० देशमा पुगेर आफ्नो पक्षमा समर्थन बटुलिसकेका छन् ।
शर्माले २४ महिने कार्यकालमा गर्न सकिने २४ योजना तथा कार्यक्रमहरू सार्वजनिक गरेका छन् । शर्माले अध्यक्ष पद मात्रै प्राप्त गर्ने आफ्नो अभिलाषा नभई योजनाबद्ध रूपमा कार्य गर्ने लक्ष्य सहित आफू सङ्घको नेतृत्व गर्ने अभियानमा लागेको बताए ।
असोजको ३० देखि कात्तिक २ सम्म एनआरएनएको विश्व सम्मेलन काठमाडौँमा हुँदै छ । ८६ देशमा फैलिसकेको गैर आवासीय नेपाली सङ्घको महाधिवेशनमा ५८ देशका प्रतिनिधिले सहभागिता जनाउनेछन् ।