मौसममा सुधार हुन थालेपछि हिमाली जिल्ला रसुवामा गोसाईंकुण्ड र लाङटाङ जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको बढ्न थालेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयको अनुसार गत साउनदेखि हालसम्म १० हजार ७ सय ७० जना आन्तरिक तथा बाह्य पर्यटकहरूले गोसाईंकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको जानकारी दिएका छन् ।
हिमाली पदयात्राको लागि यहाँ पर्यटकको आगमन बढ्न थालेको छ । गोसाईंकुण्ड तथा लाङटाङलगायत तामाङ सम्पदा क्षेत्रको पदमार्गमा पर्यटकको आगमन बढेसँगै हिमाली भेकको रौनकता समेत बढेको हो ।
वर्षा घट्दै गएको, मौसममा क्रमशः सुधार आउँदा पैदल यात्रा अत्यन्तै सहज भएको जनाइएको छ । उच्च भागबाट हिमालको अवलोकन गर्न सहज तथा अर्ग्यानिक उत्पादनको भोजनका लागि यहाँ पर्यटक आउने गर्दछन् ।
लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार हिमाली पदयात्राअन्तर्गत गत साउनदेखि यही असोज २० गतेसम्म १० हजार सात सय ७० जना आन्तरिक एवं बाह्य पर्यटकले लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको क्षेत्रको भ्रमण गरेका छन् ।
ती मध्ये सार्क राष्ट्रका ६२ जना, अमेरिका, अस्ट्रेलिया, जर्मनलगायत विभिन्न देशका एक हजार छ सय ५२ जना तथा नौ हजार ५६ जना आन्तरिक पर्यटक छन् । निकुञ्ज क्षेत्रको भ्रमण गर्ने पर्यटकबाट नियमानुसारको प्रवेश शुल्कबापत रु ४५ लाख आय भएको बताइएको छ
रसुवा भ्रमण गर्न आउने पर्यटकलाई उकाली, ओराली, भन्ज्याङ चौतारीजस्ता पैदल मार्ग, स्थानीय कृषि उपजबाट तयार गरिएको भोजन, तामाङ संस्कृतिको नाचगान, भेष वेशभूषा, सेताम्मे टल्किने लाङटाङ हिमालजस्ता प्रकृतिको सुन्दरताले मनमोहक बनाउँदछ काठमाडौँबाट रसुवा छोटो दूरीको मार्ग भएका कारण आन्तरिक तथा बाह्य पर्यटकहरूको पहिलो प्राथमिकता मा राखेर भ्रमण मा आउने गरेका छन् ।
यस्तै चालु आवको गत साउनदेखि यही असोज २० सम्म लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रु एक करोड राजस्वसमेत आर्जन गरेको छ । पर्यटक शुल्कको साथै निकुञ्जमा सञ्चालित होटेलको बक्यौता तथा गत आवमा हेलिकप्टर अवतरणसमेतका विविध स्रोतबाट राजस्व सङ्कलन भएको सहायक संरक्षण अधिकृत मिलन सापकोटाले दिए ।