कालिन्चोक मन्दिर आसपासका टहरा हटाउन पालिकाले गर्‍यो निर्देशन‚ कुरीका जग्गाको स्वामित्व बुझाउन निर्देशन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
2.1k Shares
दोलखा

दोलखा । दोलखाको कालिन्चोक भगवती मन्दिर आसपासका क्षेत्रमा निर्माण गरिएका घर टहरा हटाउन दिएको निर्देशन बमोजिम अटेर गरेमा कालिन्चोक गाउँपालिकाले हटाउने भएको छ । मन्दिर आसपासमा बनेका घरटहरा व्यक्तिले नहटाए गाउँपालिकाले हटाउनेछन् ।

मन्दिर आसपासमा बनेका घर टहरा तत्काल हटाउन गत साउन ८ गते जिल्ला समन्वय समिति, कालिन्चोक गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको टोलीले निर्देशन दिए गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले जानकारी दिए ।

मन्दिर वरिपरि बनेको टहराले त्यहाँका सौन्दर्य बिगारेको बताइएका छन् ।

यस्तै गाउँपालिकाले कुरीमा बनेका भौतिक संरचना बनेका जग्गाको स्वामित्वका विषयमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समितिले असोज ३० गतेभित्र आफूले उपभोग गरिरहेको जग्गाको स्वामित्वको विषयमा गाउँपालिकालाई लिखित जवाफ पेस गर्न निर्देशन दिएका हुन् ।

समितिले असोज १६ गते कुरी क्षेत्रका स्थानीयसँग छलफल गरी १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समितिका संयोजक समेत रहेका गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले जानकारी दिए

उनका अनुसार कुरीमा बनेका संरचनाको प्रकार,बनाएको मिति, संरचना बनेको जग्गाको क्षेत्रफल, कुन आधारमा बनाइएको, कसले बनाएको भन्नेबारे तीन पुस्ते विवरण सहित पालिकामा लिखित रूपमा जानकारी गराउन भनिएको छ ।

गाउँपालिकाको निर्देशनपछि कुरीका १२ वटा घरधनीले विवरण उपलब्ध गराएका छन् । कालिन्चोक गाउँपालिकाले गत माघ २३ गते उपाध्यक्ष बुढाथोकीको संयोजकत्वमा पाँच सदस्यीय कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समिति गठन गरेको थियो ।

तपाईको प्रतिक्रिया