गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले विश्वभरका एनआरएनएलाई एकताबद्ध बनाउने एजेन्डा रहेको बताएका छन् । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी शर्माले आफूसँग विश्वभरकै एनआरएनएलाई एकताबद्ध बनाउने र संस्थालाई गति दिने एजेन्डा रहेको बताएका हुन् ।
शर्माले आफ्नो बाचा पत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत संसारभर बस्ने एनआरएनएलाई समेट्ने योजना समेटिएको बताए । ‘मेरो बाचा पत्र हेर्नुभयो भने संसारभरका नेपालीलाई समेटेर जाने योजना समेटिएको छ । मध्यपूर्वले एनआरएनएको २० वर्षे अभियानमा हालसम्म नेतृत्व नपाएकाले हामीलाई सबै अभियन्ताहरूले साथ दिनुपर्छ भन्ने मात्रै हो’, उनले भने, ‘सबै साथीहरू सकारात्मक पनि हुनुहुन्छ ।’
शर्माले एनआरएनएको पवित्र उद्देश्य पुरा गर्ने सवालमा आफूहरूलाई सबै राजनीतिक दलहरूको समर्थन प्राप्त भएको दाबी गर्दै एनआरएनएमा राजनीति हुन भने नहुनेप्रति सचेत रहेको बताए ।
२४ महिनामा २४ वटा काम गर्ने बाचासहित आफू चुनावी मैदानमा खडा भएको उल्लेख गर्दै शर्माले आफ्नो पहिलो प्राथमिकता एनआरएनएहरुबीचको एकता भएको पनि बताए । त्यसका लागि आफूले इमानदार पहल गरेर सबै अभियानबाट बाहिर रहेका एनआरएनएहरूलाई पनि एउटै मालामा उन्न पहल गर्ने उनको भनाइ थियो ।
‘केही समययता, गैर आवासीय नेपाली महासङ्घमा एकता छैन । त्यसले हाम्रो लक्षित उद्देश्य हासिल गर्नमा बाधा पुर्याएको छ’, शर्माले भने, ‘यसलाई जसरी पनि एकजुट गराउनु पर्ने दायित्व हाम्रो काँधमा आएको छ । मैले निरन्तर रुपमा प्रयास गरिरहेको छु। एकजुट गराएरै छाड्ने प्रण पनि गरेको छु।’
कार्यसमितिका उपाध्यक्ष डिबी क्षेत्रीले सबैको अपनत्व गराउन श्रमिकको मुद्दालाई स्थापित गर्न र सबैको अपनत्वको बढाउन जरुरी रहेको बताए ।
शर्मालाई समर्थन गर्दै उपाध्यक्षका उम्मेदवार बनेका मलेसिया खगेन्द्र न्यौपाने शर्माले पेस गरेको २४ महिना २४ बाचा नै आफ्नो एजेन्डा रहेको र शर्मा सहित आफू उपाध्यक्षमा निर्वाचित भएमा त्यसलाई कार्यान्वयन गर्ने बताए ।
जापानका रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द) ले काम गर्ने व्यक्ति र एजेन्डालाई स्थापित गराउनको लागि आरके शर्मालाई समर्थन गरेर उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।
नेदरल्याण्डका शशी पौडेलले एनआरएनए सबै बिचारको सङ्गम भएको भन्दै आरके शर्मा अध्यक्षमा निर्वाचित भएका मात्र त्यो पूरा हुने हुँदा आफू उनलाई समर्थन गरेर उपाध्यक्षको उम्मेदवार भएको बताए ।
“राजनीति गर्ने संस्थाहरू अरू पनि धेरै छन्, म आफू बिचारले काँग्रेस निकट छु,”पौडेलले भने,“शर्माले सारेको एजेन्डाले सबै पक्षलाई बिचारलाई समेटेको छ।”
अस्ट्रेलिया अभिमानसिंह बस्नेतले आफूले अस्ट्रेलियामा सामाजिक कामका योजना समुदायका काम गर्ने योजना अगाडि बढाएको त्यो एजेन्डा आरके शर्माले बोकेको हुँदा समर्थन गर्दै उपाध्यक्षको उम्मेदवार बनेको बताए । उनले १५ लाख डलरमा अस्ट्रेलियामा पशुपतिनाथ र बौद्धस्तुप बनाउनको लागि अगाडि सारेको जानकारी दिए ।
उपाध्यक्षका अर्का उम्मेदवार राज रेग्मीले शर्माको उम्मेदवारीलाई समर्थन जनाएर शुभकामना दिएका थिए ।
कतारका अब्दुल बासिदले युवाको प्रतिनिधित्व बढाउने योजना आरके शर्माको रहेको हुँदा देशभित्र आफू शर्मालाई समर्थन गरेर युवा उपाध्यक्षको उम्मेदवार बनेको बताए ।
कतारका प्रवीण गुरुङले एनआरएनएलाई समावेशी बनाउने संवृद्ध बनाउने एजेन्डा सहित आरके शर्मा आएको हुँदा उनलाई समर्थन गर्दै उपमहासचिवमा उम्मेदवारी दिन लागेको बताए ।
सचिवका उम्मेदवार बेल्जियमका लोक दाहालले एनआरएनए संस्थामा पारदर्शिता र दोस्रो पुस्तालाई अभियानमा अगाडि बढाउने योजना आरके शर्माले २४ महिना २४ बाचा सहित योजना अगाडि सारेको हुँदा आफूले शर्मालाई समर्थन गरेर उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।
सचिवका उम्मेदवार जापानका टङ्क गैरेले सानो लगानीमा नेपालमा सानो लगानीमा धेरै योजना बढाउने योजना आरके शर्माले ल्याएको हुँदा आफूले उनलाई समर्थन गरेर सचिवमा उम्मेदवारी दिएको बताए ।
सचिवका उम्मेदवार युएईका मनोजकुमार श्रेष्ठ (गोर्खाली) ले सहमति गैर आवासीय अभियानमा एकताको एजेन्डा आरके शर्माले सारेको हुँदा उनलाई समर्थन गरेर सचिवको उम्मेदवार बनेको बताए ।
सचिवका उम्मेदवार अमेरिकाका आरसी पोखरेलले एनआरएनए सचिवालयको पुनर्संरचनालाई परिवर्तन गर्ने एजेन्डा आरके शर्माले ल्याएको हुँदा शर्मालाई समर्थन गरेर सचिवमा उम्मेदवार बनेको बताए ।
कोषाध्यक्षका उम्मेदवार ठाकुर ढुङ्गानाले एनआरएनएलाई पारदर्शिता र कोषको आकार बढाउने योजना अन्तर्गत आरके शर्मालाई समर्थन गरेर उम्मेदवारी दिन लागेको बताए ।
महिला संयोजकका उम्मेदवार क्यानडाकी देविका केसीले लोकसंस्कृति अगाडि बढाउन आरके शर्मालाई समर्थन गरेर उम्मेदवारी बनेको बताइन् ।
सचिवका उम्मेदवार लोक दाहालले एनआरएन अभियानमा सबैको पक्षको सहभागिता बढाउनको लागि आरके शर्मालाई समर्थन गरेको बताए ।
मध्यपूर्व मलेसिया सबैदेखि युरोप सबै क्षेत्रको प्रतिनिधित्व । आरसी पोखरेलले यो सचिव सामाजिक परियोजना सुधार र एनआरएनएको संरचनात्मक सुधारमा उम्मेदवारी दिएको छ ।
उपाध्यक्ष खगेन्द्र न्यौपाने, रोविन्द्र प्रसाद श्रेष्ठ, विजय मोक्तान, अभिमान सिंह बस्नेत,शसिकान्त पौडेल, अब्दुल वासिद युवा परिषद् उपाध्यक्ष रहेका छन् । यस्तै उपमहासचिव प्रवीण गुरुङ, सचिव लोक दाहाल, मनोज कुमार श्रेष्ठ, आरसी पोखरेल, टङ्क गैरेले उम्मेदवार घोषणा गरेका छन् । यस्तै कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना रहेका छन् भने महिला संयोजक देवकी केसीले उम्मेदवार रहेका छन् । सङ्घमा ९६ हजार सदस्य छन् भने ४२ हजारले मतदानमा सहभागी हुनेछन् ।यसैबिच अध्यक्षका उम्मेदवार शर्माले शुक्रवार नै आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
उनले सङ्घको कार्यालय बालुवाटार पुगेर आफ्नो उम्मेदवार दर्ता गराएका हुन् ।