बरिष्ठ गायिका इन्दिरा योन्जनको नयाँ म्युजिक भिडियो ‘वसन्तले’ हालै सार्वजनिक भएको छ ।
गीतको शब्द गोविन्द गिरी‚ सङ्गीत चन्द्रकुमार दोङ र सङ्गीत संयोजन पवन वाङ लामाको रहेका छन् ।
भक्त स्याङ्तानको निर्देशनमा तयार म्युजिक भिडियोको सम्पादन सूर्य लामाले गरेका छन् ।
त्यस्तै भिडियोमा मिलन थिङ ‘पराङ’ र रेणुका लामाले अभिनय गरिएको छ ।
गायिका इन्दिरा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका लिसंखुबाट गायिका बन्ने सपना बोकेर सहर पसेकी थिइन् ।
बरिष्ठ गायिका योन्जन केही वर्षको अन्तरालपछि गीतसङ्गीत क्षेत्रमा पुनः फर्किएकी हुन् । उनी भन्छिन्‚‘यो गीतसङ्गीत मेरो नसा नसामा पसेको छ‚ यसलाई निरन्तरताका लागि नयाँ गीत ल्याएको हुँ । नयाँ आधुनिक गीत वसन्तले फेरि त्यही दिनतिर पुर्याएको छ ।’
उनी यो बीचमा सामाजिक कार्यमा व्यस्तता भएकाले गीतसङ्गीतमा केही अन्तर रहेको बताउँछिन् । उनी राष्ट्रिय बाल अधिकार परिषदका सदस्य समेत भइसकेकी छिन् ।
गायिका योन्जनले रत्नराज्यलक्ष्मी क्याम्पसबाट बी म्युज पढेकी हुन् । ग्रामीण विकासमा स्नातकोत्तर गरेकी उनले भारतको इलावादबाट शास्त्रीय सङ्गीतमा समेत ४ वर्षको कोर्स गरेकी छिन् ।
उनीले दर्जनौँ तामाङ सेलो एल्बममा स्वर दिइसकेकी छिन् । ‘उँभो उँभो लाग्यो भेँडीको बथान’‚ ‘चिसो त पानी…,’ ‘ल्याइदेउ न आप्पा’‚ ‘सेलो सङ्गम’, ‘चलनचल्ती’‚ तोरतोर ल्हाला ह्री न्हाङरि…‚ चलनचल्तीरि गीत चर्चित थिए ।
उनीले गायनको क्रममा स्वदेशका गाउँ गाउँदेखि विदेशको भ्रमण समेत गरिसकेकी छन् । आफ्नै यूट्युब च्यानल संचालनमा ल्याएकी उनीले यो गीत त्यसै च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।