माटोसँग खेल्दै प्रत्यक्ष कलाको मञ्चन

सुभानु आचार्य संवाददाता
273 Shares
ललितपुर

सूक्ष्म जीवजन्तुदेखि ठूलाठूला प्राणीहरू तथा मानिसहरूले खाने अन्नबाली तथा फलफूल एवं तरकारी जस्ता खाद्यवस्तुहरूको उत्पादनका साथै मानिसहरूले लगाउने कपडाको स्रोत माटो हो । वर्षायामको बाढी कम गर्न पनि माटोले मद्दत गर्दछ । वातावरण शुद्धीकरणमा माटोको ठुलो भूमिका हुन्छ ।

मठ मन्दिर, पाटी पौवा जस्ता सांस्कृतिक धरोहरहरू जमिनमा नै रहेका हुन्छन् । जलवायु परिवर्तन रोक्नमा माटोको अहम् भूमिका हुन्छ त्यसैले माटो जन्म देखि मृत्युपछि सम्म चाहिने महत्त्वपूर्ण वस्तु हो ।

माटो प्राणीहरूको वासस्थानको आधार हो । रुख बिरुवा, घाँसपात जस्ता सबै किसिमका वनस्पतिहरूको आधार एवं उनीहरू हुर्कन तथा बढ्नका लागि आवश्यक पानीका साथै पौष्टिक तत्त्वहरूको स्रोत पनि माटो नै हो । मानिस बस्ने घरहरू, औद्योगिक उत्पादन तथा बन्द व्यापार गर्ने भवनहरू । एक स्थानबाट अर्को स्थानमा पानी लैजान बनाइने नहरुहरु जस्ता इञ्जिनियरीङ् कार्यहरूको लागि आवश्यक निर्माण सामग्रीहरूको स्रोत तथा यी पूर्वाधारहरूको आधार पनि माटो हो । यही माटोको महत्त्व र प्रयोगमा आज पाटन दरबार सङ्ग्रहालय केशवनारायण चोकको भित्र आँगनमा माटोसँग खेल्दै प्रत्यक्ष कला मञ्चन गरियो ।

मणी केशवनारायण मन्दिर पछाडिको आँगनमा सेतो ब्यानर । ब्यानर माथि एक डोको चिसो कालो माटो । माटो राखिएको एक आँगनको एक कुनामा जापानकी चित्रकार राइको सिमिजुले अर्को कुनामा क्रोएसियाली चित्रकार इरिस पोलजान र यी दुई महिला भन्दा अगाडि कुनामा मारी तेराउची उभिइन । जब बज्ने कचौरा अर्थात् “सिङगिङ बावल” को धुन आयो तब ती तीन महिला सुस्तरी सुस्तरी माटो भएको ठाउँमा आफ्ना पाइला बढाउँछन् । धुन बेला बेलामा बज्छ । ती महिला पनि बिस्तारै बिस्तारै आफ्ना खुट्टाको पाइला नाप्दै नाप्दै अघि बढ्छन् । चित्रकार राइको सबैभन्दा पहिला माटो राखिएको स्थानमा आइपुग्छिन् । उनी भुईँमा निहुरिएर उभिन्छिन् । त्यसपछि चित्रकार इरिस र तेराउची पनि राइको नजिकै आइपुग्छन् । सिङगिङ बावल आफ्नै गतिमा बजिरहन्छ । इरिस माटो नजिकै भुईँमा बस्छिन् त्यसपछि तेराउची पनि माटो नजिकै भुईँमा आएर बस्छिन् । उनीहरू तीनै जना ठाडो भएर भुईँमा बस्छन् । तीनै जनाले आफ्नो हात सुल्टो पार्छन् । बवालको धुन बजिरहेको हुन्छ उनीहरू आइरहेको हुन्छ । वरिपरि विभिन्न देशका विदेशी लगायत स्वदेशी बसेर सो प्रत्यक्ष कलाको मञ्चन गरिरहेका हुन्छन् ।

उनीहरू तीनै जना चित्रकारले आफ्नो हात माटोमा छिराएर माटो उठाउँछन् र त्यसलाई सुघछन् । त्यसपछि त्यो माटो हात हुँदै जीउमा दल्छन् । बवालको धुन आइरहेको हुन्छ । उनीहरूले आफू नजिक रहेको चिसो माटो मुख हुँदै शरीरमा पर्ने गरी बिस्तारै दल्ने र पोख्ने काम गर्छन् । उनीहरू आफ्नै सुरुमा हुन्छन् । धुनसँगै केही बेर माटोसँग खेली रहन्छन् । उनीहरूको भनाइमा आफू नजिक रहेको माटोलाई चलाउनु तथा आफूमा लगाउनु वा सुघनु भनेको “जीवित र निर्जीव चीजहरूसँग आत्मालाई मिलाउनु वा प्रकृतिसँगको स्पर्श प्राप्त गर्नु” हो भन्ने अर्थ प्रत्यक्ष मञ्चन गरिएको कलाले जनाउने उनीहरूको भनाइ थियो ।

माटोसँग चल्नु, खेल्नु, रमाउनु वा माटो चलाउँदा चलाउँदै उनीहरू ढल्छन् । सो क्रममा पृथ्वीमा ढल्नुले मानिसको जीवनलाई समेत इङ्गित गरेको थियो । जहाँ हरेक मानिस माटोमा जन्मिछन् । माटोमा हुर्कन्छन् र अन्त्यमा माटोमा नै बिलाउँछन् भन्ने भाव दर्र्शाउथ्यो ।

मानिसको आत्मा बिस्तारै माटोबाट उत्पन्न हुन्छ । माटोमा रमाउँछ । जुन प्रत्यक्ष प्रदर्शनी कलाले मानिसको वास्तविक जीवनलाई चित्रण गर्ने नाटकको मञ्चन तेस्रो अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको पाँचौँ दिन अर्थात् समापन कार्यक्रमको बिचमा मञ्चन गरिएको थियो । अन्तर्राष्ट्रिय चित्रकलाका चित्रकारले सो पाँच दिनमा चित्रमा त्रै कोरेनन् । चित्रकलाको कार्यशाला एवं प्रत्यक्ष कला प्रदर्शनी समेत आयोजना गरेका थिए ।

सो प्रदर्शनीको समाप्तिसँगै दर्शकहरूले माटोको महत्त्व एवं आवश्यकतालाई त्रेता युगका राजा रामचन्द्रको पत्नी सिताको जन्म पृथ्वीबाट उत्पत्ति भएको र अन्त्यमा पृथ्वीको आव्हान गरी उनी पृथ्वीभित्र विलीन भएको कुरालाई समेत जोडेर अर्थाउन सकिने तवरको थियो । माटोमा हरेक चिज निर्भर रहने । माटोले उत्पन्न गर्ने देखि लिएर नष्टसमेत गर्ने कुरा सो नाटक हेरेपछि दर्शक प्रतिक्रिया मार्फत सुनिन्थ्यो ।

भगवान् श्रीकृष्णले बाल्यकालमा खाएको माटोले नातामा मामा नामक कंस दानवको होस उठेको कुरा दर्साउने भाव चित्रकारका सो प्रत्यक्ष कला प्रदर्शनीमा पाइन्थ्यो ।

जसरी चित्रकारले कोरेका चित्रले हरेक तवरको अर्थ दर्साउँछ त्यसैगरी सो कला मञ्चनले पृथ्वीमा उत्पन्न र नष्ट हुने सम्पूर्ण भावको सन्देश दिने खालको थियो ।

माटोबाट मानिसको जीवनमा आवश्यक पाँच तत्त्वको उत्पत्ति हुनुका साथै ती तत्त्वको विलीन समेत हुने गर्छ । जसरी माटोको महत्त्व अथाह छ त्यसैगरी चित्रकलाको महत्त्व र भाव पनि अथाह रहेको चित्रकारहरूको भनाइ थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका