एनआरएनएको अध्यक्षमा ४ र उपाध्यक्षमा १८ जनाको उम्मेदवारी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
98 Shares
काठमाडौं

गैर आवासीय नेपाली सङ्घ एनआरएनएको अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका छन् । वर्तमान अध्यक्षद्वय बद्री केसी र रविना थापा तथा उपाध्यक्षद्वय राजेन्द्र कुमार (आरके) र महेश श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् । निर्वाचन समितिका सदस्य चिरञ्जीवी ढकालले कात्तिक २ गते हुने निर्वाचन प्रयोजनका लागि असोज २५ देखि सोमबारसम्म मनोनयनको दर्ता राखिएकोमा अध्यक्ष पदमा मात्रै चार जनाको उम्मेदवारी परेको जानकारी दिए ।

जसअनुसार निर्वाचन समितिले सोमबार साँझ सङ्घको निर्वाचनसम्बन्धी नियमावली, २०२१ (संशोधन २०२३) को नियम ८(११) बमोजिम सबै पदका उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरेको छ ।

समितिका अनुसार ६ जना खुल्ला उपाध्यक्षका लागि १८ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा अभिमान सिंह बस्नेत, विजय मोक्तान, विनोद श्रेष्ठ, चिरञ्जीवी घिमिरे, धर्मराज अधिकारी, गणेश केसी, गंगाधर गौतम, गोविन्द्र प्रसाद श्रेष्ठ, डा. हेमराज शर्मा, जेदू पोखरेल, डा. केशव पौडेल, खगेन्द्र न्यौपाने, नारायण प्रसाद आचार्य, राजु रेग्मी (राज), रामशरण सिमखडा, रोविन प्रसाद शेरचन, सशीकान्त पौडेल र सुनील साहको उम्मेदवारी परेको छ । १ जना महिला उपाध्यक्षमा रोजीना प्रदान राई र यसमीन बेगम सैयदको उम्मेदवारी परेको छ भने १ जना युवा उपाध्यक्षमा अब्बदुल बासिद र रोशन थापाको उम्मेदवारी परेको छ । जसमध्येबाट ६ जना निर्वाचित हुने व्यवस्था छ । यसै गरी एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा दुई जना, एक जना निर्वाचित हुने युवा उपाध्यक्ष पदमा पनि दुई जनाकै उम्मेदवारी परेको छ ।

यसै गरी महासचिवमा बुद्धिसागर सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ । एनआरएनए विधानमा महासचिव पनि एक जना निर्वाचित हुने व्यवस्था छ । यसै गरी दुई जना निर्वाचित हुने उपमहासचिव पदमा ५जना, ६ जना निर्वाचित हुने सचिव पदमा १५ जना र एक जना निर्वाचित हुने महिला सचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ । यसै गरी कोषाध्यक्ष पदमा ठाकुर ढुङ्गाना र सुदन थापाको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पनि एक जना नै निर्वाचित हुने व्यवस्था छ । यसै गरी तीन जना सह कोषाध्यक्ष निर्वाचित हुनेमा ६ जनाको उम्मेदवारी परेको छ । यस्तै महिला कोषाध्यक्ष एक जना निर्वाचित हुनेमा दुई जनाको उम्मेदवारी परेको छ ।

यस्तै एक÷एक जना निर्वाचित हुने महिला संयोजकमा दुई, युवा संयोजकमा दुई, अमेरिकाज क्षेत्रीय संयोजकमा दुई, एसिया प्यासिफिक संयोजकमा ४, युरोप संयोजकमा ३, मध्यपूर्व संयोजकमा २ जनाको उम्मेदवारी परेको छ ।

यसै गरी अफ्रिका संयोजकमा पुष्पराज भट्टराईको एकल उम्मेदवारी परेपछि सर्वसम्मत भएका छन् । यस्तै ओसिनिया क्षेत्रीय संयोजकमा पनि दिनेश पोख्रेल सर्वसम्मत भएका छन् । यसै गरी अफ्रिका क्षेत्रीय उपसंयोजकमा कसैको पनि उम्मेदवारी परेन । अमेरिकाज क्षेत्रीय उपसंयोजकमा तीन जनाको उम्मेदवारी परेको छ भने एसिया प्यासिफिक उपसंयोजकमा ५ जना, युरोप क्षेत्रीय उपसंयोजकमा ८ जनाको उम्मेदवारी परेको छ । यसै गरी मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा ६ जनाको उम्मेदवारी परेको छ । ओसिनिया क्षेत्रीय उपसंयोजकमा तीन जनाको उम्मेदवारी पर्दा अफ्रिका क्षेत्रीय महिला संयोजकमा खेसाना लिम्बुको एकल उम्मेदवारी परेसँगै सर्वसम्मत भएकी छन् । यसै गरी अमेरिकाज क्षेत्रीय महिला संयोजकमा पनि इन्दिरा त्रिपाठी सर्वसम्मत भएकी छन् । यसै गरी एसिया प्यासिफिक महिला क्षेत्रीय संयोजकमा अनिता गुरुङ लामा, मिडल इस्ट महिला क्षेत्रीय संयोजकमा लक्ष्मी गिरी, ओसिनिया महिला संयोजकमा रेनुका लामा सर्वसम्मत भएका छन् । तर, युरोप क्षेत्रीय महिला संयोजकमा भने दुई जनाको उम्मेदवारी परेको छ ।

यसै गरी क्षेत्रीय महिला उपसंयोजकतर्फ एसिया प्यासिफिकमा इन्दिरा तिवारी, युरोपमा भवानी तिवारी, मिडल इस्टमा सरिता भण्डारी पौडेल सर्वसम्मत चयन भएका छन् । यसै गरी अफ्रिका क्षेत्रीय युवा संयोजकमा कसैको उम्मेदवारी परेन भने अमेरिका क्षेत्रमा स्वराज खाती सर्वसम्मत भए । यसै गरी युवा क्षेत्रीय संयोजकतर्फ नै एसिया प्यासिफिकमा विकास बस्नेत सर्वसम्मत चयन भए भने युरोप क्षेत्रमा प्रकाश भण्डारी सर्वसम्मत भए । यसै गरी मध्यपूर्वमा भने कसैको पनि उम्मेदवारी परेन । यस्तै ओसिनियामा सूर्य आचार्य सर्वसम्मत हुँदा क्षेत्रीय युवा उपसंयोजकतर्फ अफ्रिका क्षेत्रमा कसैको उम्मेदवारी परेन भने अमेरिकाज क्षेत्रमा विशाल रानाको उम्मेदवारी दर्ता भएको छ । उनको एकल उम्मेदवारी परेकाले सर्वसम्मत भएका छन् ।

यस्तै एसिया प्यासिफिकमा नारायण खड्का सर्वसम्मत हुँदा युरोपमा कसैको पनि उम्मेदवारी परेन । यस्तै मध्यपूर्वमा कृष्ण कुमार ठाकुर सर्वसम्मत हुँदा ओसिनियामा पनि कसैको उम्मेदवारी दर्ता भएन । यस्तै दोस्रो पुस्ताको एनआरएनए संयोजकमा पनि कसैको उम्मेदवारी परेन । एनआरएनएले दोस्रो पुस्तालाई समेट्न खोजे पनि कसैको उम्मेदवारी नपरेपछि सो पुस्ताको सङ्घमा आकर्षण नदेखिएको हो कि भन्ने प्रश्न समेत उठेको छ । प्रारम्भिक नामावलीको आधारमा एनआरएनएले अब दाबी विरोधपछि अन्तिम नामावली प्रकाशित गरेर अन्तिम सूची प्रकाशित गर्नेछ । यस्तै निर्विरोध भएकाहरूलाई प्रक्रिया पुरा गरेर निर्वाचन समितिले विजयी भएको घोषणा गर्नेछ ।

एनआरएनएको निर्वाचनबाट एक अध्यक्षसहित कुल ७४ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका