कसको नजरमा दाजु बहिनी ?

588 Shares
काठमाडौं

अधिवक्ता भगवती पाण्डेले गत साउन ६ गते प्राइम टिभीमा दिइएको अन्तर्वार्तामा हाडनातासम्बन्धी कानूनको व्याख्या गर्दै, तामाङ, मगर र मुस्लिम समुदायमा दाजुबहिनीबीच विवाह हुने बताइन् । सो कथनलाई सविस्तार गर्दै उनले त्यस्तो हाडनाता सम्बन्धबाट जन्मिने बच्चाहरू एकोहोरो र अपराधिक मानसिकताका हुने समेत भनिन् । त्यसैले नेपालमा यी जातीय पृष्ठभूमि भएका समुदायबाट अनुवांशिक रूपमै अपराधीहरू जन्मिने निष्कर्ष निकालिन् । तसर्थ, विद्यमान हाडनातासम्बन्धी कानुनमा संशोधन गरेर प्रथाजन्य कानुनलाई खारेज गरी दण्डित गर्नु पर्ने उनको जिकिर थियो ।

एकल सांस्कृतिक वर्चस्व

नेपाली समाज बहुसांस्कृतिक भए पनि यहाँको राज्यसत्तामा एकल संस्कृतिको रजगज रहँदै आयो । एकल संस्कृतिको वर्चस्व शताब्दीयौंसम्म रहँदा यहाँका राज्य संरचनादेखि ज्ञान सत्ता पनि एकल र असमावेशी रहिरह्यो । मूलतः हिन्दु सभ्यतामा आधारित समूहको वर्चस्व र दबदबाले समाज र राज्य सञ्चालनका सबै कानुन, संस्कार र चालचलनहरू समेत निर्देशित हुँदै आयो । हिन्दु शासकहरूको हालीमुहालीकै कारण यहाँका कानुनहरू पनि हिन्दु धर्म संहिता अनुसार नै बने । उदाहरणको लागि अहिले पनि गाई वा गोरुको मासु खाए बापत कानुनले दण्डित गर्ने व्यवस्था हिन्दु धर्मको कानुनको अंश हो । त्यसरी कानुनद्वारा नै निर्देशित छ । पाठ्यक्रम र पाठ्यपुस्तकहरू पनि त्यस्तै बन्दै आए । सोही किसिमको विचार र मानसिकता निर्माण गर्ने काम पनि हाम्रा विद्यालयदेखि विश्वविद्यालयसम्मले गर्दै आएका छन् ।

तर तामाङको आफ्नो नजरबाट हेर्दा एउटै थरमा (गोत्र अलग भए पनि) र सात पुस्तापछि बिहे गर्ने चलन पनि दाजुबहिनीबीचमै सम्बन्ध गाँसेको देखिन्छ । उताबाट हेर्दा यता जस्तो देखिन्छ, यताबाट हेर्दा उता पनि उस्तै देखिन्छ ।

तामाङ विवाह संस्कृति र परम्परा

तामाङ सभ्यतामा विवाह परम्परा र संस्कृति आफ्नै स्वरूपको छ । विवाह गर्ने बेलामा मूलतः तीन वटा कोणबाट साइनो केलाउँछ । ती तीन वटा कोणबाट नाता केलाएपछि कुटुम्ब पर्ने हो कि दाजुभाइ वा दाजु बहिनी के पर्ने टुङ्ग्यांउछ । पहिलो, हाडनाता, दोस्रो, दुधनाता र तेस्रो, सगोत्री (स्वाँगेभाई) । तामाङ समाजमा करिब दुईदेखि तीनसयवटा थरहरू छन् । ती थरहरूमा माथिका तीन वटा आधारहरूमा साइनो केलाउँदै विवाहवारी चल्ने कि नचल्ने छुट्याउँछ । हाडनाता भन्नाले ह्रुइ(थर) परम्परा अनुसार केलाइन्छ । जस्तैकिः योन्जन, थिङ, मोक्तान र जिम्बाजस्ता थरहरू मानिलिऔँ । योन्जनको छोरालाई बुहारी खोज्न परे विश्वका जुनसुकै कुनाका योन्जनसित उनको बिहे चल्दैन । थर मिलेपछि दाजुभाइ र दाजु बहिनीको सम्बन्ध स्वतः कायम हुन्छ । हाडनाताको आधारमा साइनो केलाउँदा पिताको कूलको (पुरुष) दृष्टिकोणबाट हेरिन्छ । त्यसले हाड वारने प्रणाली अवलम्बन गर्दछ । त्यसै गरी, दुधनाताका अनुसार आमाको कूलको (महिला) थरबाट साइनो केलाइन्छ । यदि केटाको आमाको थर र केटीको आमाको थर एउटै भएमा पनि वारने गरिन्छ । त्यस्तो अवस्थामा पनि बिहेवारि चल्दैन । समान थर भएका आमाको दुध खाएर हुर्केका बिच पनि सम्बन्ध गाँसिँदैन । दूध वारने प्रणालीलाई यसले अवलम्बन गर्दछ । तेस्रो, स्वाँगेभाईको दृष्टिबाट पनि सम्बन्ध केलाइन्छ । यसले सगोत्री वारने प्रणालीलाई अवलम्बन गर्दछ । उदाहरणको लागि माथिका योन्जन, थिङ, मोक्तान र जिम्बा थरहरू लिऔँ । योन्जनका स्वाँगेभाईहरु लोप्चन, बोम्जन, डुमजन, मिक्चन थरहरू दाजुभाइ पर्दछन् । यी थरहरू बिचमा पनि बिहेवारी चल्दैन । त्यस्तै, थिङको ङ्हेसुर र सिङ्गरासित चल्दैन । मोक्तानको स्याङतान, थोकर, पाख्रिनसित हुँदैन । यसरी हाड, दूध र समान उत्पत्ति(गोत्र)लाई कडाइका साथ अहिले पनि बारिन्छ । माथिका यी तीन प्रकारका सम्बन्धभन्दा बाहिर मात्रै चेलीबेटी लेनदेन हुन्छ ।

घटना एक

पङ्क्तिकार विद्यालयमा हुँदा थुप्रै वाहुन क्षेत्री र मधेशी साथीहरू कक्षा साथी थिए । हाम्रो चाडबाडका बेलामा उनीहरूलाई निम्ता गर्थेँ । उनीहरूले पनि गरिरहन्थे । बेलाबेलामा एकार्काको घरमा आउजाउ हुन्थ्यो । आफ्ना नातेदारहरूका बिहेवारिमा निम्तो आउँथ्यो । मेरो एक जना साथी कमल बुढाथोकीको दिदीको बिहेमा मलाई निम्तो आयो । निम्तो पत्रमा दुवै वरवधु बुढाथोकी थर देखेपछि पङ्क्तिकारलाई मनमा प्रश्न उठ्यो । कस्तो बुढाथोकी बुढाथोकी बिहे गरेको ? यिनीहरू त दाजु बहिनी पर्न जान्छ । पछि साथीलाई सोध्दा उनले प्रस्ट पारे, गोत्र अलग भएपछि एउटै थरमा पनि बिहे गर्न मिल्छ । हिन्दु सभ्यतामा मूलतः गोत्र साइनोलाई सबैभन्दा महत्त्व दिँदो रहेछ भन्ने मैले त्यहीबाट थाहा पाएँ । अर्को, पुस्ताको गणना पनि गर्ने चलन रहेछ । विशेष गरी, सात पुस्ता भएपछि बिहे गर्न मिल्ने रहेछ । यी आधारमा हिन्दु समाजभित्र बिहेवारि चलाउने र कुटुम्बेरी नाता केलाउने चलन थाहा पाएँ ।

घटना दुई

करिब सत्र वर्ष अगाडि एक दिन काठमाण्डौंबाट रात्रि बस चढेर गाउँ फर्किँदै थिएँ । बाटो दुई जनाको बिचमा घमासान बहस चल्यो । बहसको विषय के रहेछ भने, चितवनको टाडी र माडीको । एउटालाई चितवनको टाडी मात्रै थाहा रहेछ र अर्कोलाई माडी मात्रै । एउटाले टाडी छैन भनेर तर्क गर्ने र अर्कोले माडी छैन भनेर । टाडीवालाले माडी अस्वीकार गर्ने र माडीवालाले टाडी । तर्क वितर्क बढ्दै जाँदा बसमा झगडा होला जस्तो वातावरण बन्यो । पछि गाडीमा भएका अरू यात्रीहरूले चितवनमा टाडी र माडी दुवै ठाउँहरू छन् भनेर सम्झाएपछि बल्ल दुवै जना शान्त भए ।

बुझ्न–बुझाउन पर्ने

नेपाली समाज बहुसाँस्कृतिक, बहु जातीय र बहुसभ्यतामा आधारित छ । यहाँ धेरै विविधता पाइन्छ । हरेक फरक सभ्यता भएका संस्कृतिको आ–आफ्नै रहनसहन, चालचलन र संस्कार अनि सामाजिक अभ्यासहरू छन् । आफ्नो समाज सञ्चालनको आफ्नै नीति नियम(ठिम), रीतिरिवाज र थितिहरू छन् । जीवन र जगतलाई हेर्ने आफ्नै विश्व दृष्टिकोण र सौन्दर्य चेतना छ । यसरी आ–आफ्नै सौन्दर्यचेत र जीवनदर्शनमा बाँचेका समाजहरू मौलिक छन् । एउटाको संस्कृति र चिन्तन अर्कोसित मिल्दैनन् र फरक हुन्छन् । एउटै चिजलाई हेर्ने आफ्नै आँखा र अलग बुझाइहरू छन् । समाजको बनावट, संरचना र पृष्ठभूमि पटक्कै मेल खाँदैनन् । यस्तो अवस्थामा एकार्काको संस्कृति र जीवनदर्शन नबुझी सतही टिप्पणी गर्ने परिपाटीले मनमुटाब सृजना गर्न सक्छ । नेपाली समाजको बहुसाँस्कृतिक चरित्रलाई बुझ्न र बुझाउन आवश्यक छ । त्यसरी एकार्काको संस्कृति गहिरोसित थाहा नहुँदा यस्ता सामाजिक र सांस्कृतिक तनावहरू उत्पन्न हुन्छन् । नेपाली राज्यले अहिलेसम्म एकल सांस्कृतिक ज्ञान मात्रै सबैलाई लाद्ने काम गर्दै आएको छ । एउटै संस्कृतिको मात्रै प्रवर्द्धन गर्ने, त्यहीँ अनुसार बाँकीलाई हेर्ने र बुझ्ने कारणले गर्दा समस्याहरू पैदा हुँदै आएका छन् । त्यो एकार्थमा, कुनै एक जना व्यक्तिको खुट्टाको लागि जुत्ता बनाउने फारम(फम्र्याट) अनुसार बाँकी सबैका लागि जुत्ता बनाउने नीति हो । जुत्ता बनाउनेले के बुझ्न आवश्यक छ भने एउटै आकारका जुत्ता सबैलाई ठिक हुँदैन । त्यसैले फरक फरक र साइज साइजका जुत्ता बनाउने मेसिन चाहिन्छ । नेपाली राज्यले हरेक नेपाली नागरिकलाई सानैदेखि हाम्रो समाजको बहुलता र विविधतालाई विद्यालयदेखि नै बुझाउन पर्छ । ती बहुलता र विविधताको सम्मान गर्न र त्यसप्रति गर्व गर्न सिकाउनु पर्छ । त्यसले जरैदेखि हरेक नेपाली नागरिकलाई सबल बनाउँछ ।

निष्कर्ष

एउटै संस्कृतिबाट हुर्केका र अरू संस्कृतिको ख्याल नराख्ने प्रवृत्ति हाम्रो लागि हानिकारक छ । त्यसमाथि सीमान्तमा पारिएका संस्कृतिलाई होच्याउने, दोष्याउने र अपमान गर्ने सोचलाई कदापि राम्रो मानिँदैन । अधिवक्ता भगवती पाण्डे कानुनमा स्नातकोत्तर गरे पनि नेपाली समाजको बारेमा उनले थाहा नपाउनु हाम्रो राज्यको कमजोरी हो । उनी हुर्केको वातावरण र उनको अज्ञानता त छदै छ । प्रकारान्तरले उनले तामाङ, मगर र मुस्लिम समुदायमा प्रचलित विवाहको संस्कृति र परम्पराले अपराधीहरू उत्पादन गर्दै आएको निष्कर्ष निकाल्न खोजेकी छिन् । त्यो सरासर गलत हो । बहुलसाँस्कृतिक, बहुल जातीय, बहुल धार्मिक र बहुलसभ्यतामा आधारित नेपाली समाज नबुझ्दा त्यस्ता निष्कर्षहरू निस्कन सक्छन् । हिन्दु संस्कृतिको कोणबाट तामाङले दाजुबहिनीबीच बिहेवारी गरेको देख्न सकिन्छ । तर तामाङको आफ्नो नजरबाट हेर्दा एउटै थरमा (गोत्र अलग भए पनि) र सात पुस्तापछि बिहे गर्ने चलन पनि दाजुबहिनीबीचमै सम्बन्ध गाँसेको देखिन्छ । उताबाट हेर्दा यता जस्तो देखिन्छ, यताबाट हेर्दा उता पनि उस्तै देखिन्छ । प्रश्न कसको नजरले हेर्ने अनि परिभाषित गर्ने मात्रै हो । बहुसाँस्कृतिक समाजमा समाजलाई सन्तुलन मिलाउन अन्तरसाँस्कृतिक अध्ययन र समझदारी अति नै जरुरी हुन्छ । सतही र एकलकाँटे बुझाइको आधारमा फितलो टिप्पणी नगर्नु नै वेश हुन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका